close

युरोपमा बिक्री हुने सबै फोनमा टाइप-सी पोर्ट अनिवार्य, अब के गर्ला एप्पल ?

टेकपाना टेकपाना

जेठ २५, २०७९ १४:४५

युरोपमा बिक्री हुने सबै फोनमा टाइप-सी पोर्ट अनिवार्य, अब के गर्ला एप्पल ?

काठमाडौं । युरोपेली संघ (ईयू) ले सदस्य देशहरूमा बिक्री हुने सबै प्रकारका फोनमा यूएसबी-सी पोर्ट अनिवार्य गरेको छ ।

विद्युतीय फोहोर (ई-वेस्ट) लाई व्यवस्थापन गर्ने तथा सबै डिभाइसमा प्रयोगकर्ताको पहुँचलाई सहज बनाउने कारण देखाउँदै ईयूले सबै फोनमा यूएसबी-सी पोर्ट अनिवार्य हुनुपर्ने निर्णय गरेको हो ।

संघका सदस्य राष्ट्रहरूले एक सम्झौतामा हस्ताक्षर गर्दै संघभित्र बिक्री हुने सबै प्रकारका स्मार्टफोनमा सन् २०२४ भित्र अनिवार्य यूएसबी-सी पोर्ट प्रयोगमा ल्याउनुपर्ने नियम लागू गरेको छ ।

योसँगै लाइटनिङ पोर्ट उपलब्ध गराउँदै आएको एप्पलले समेत आफ्ना आईफोनमा टाइप-सी पोर्ट प्रयोग गर्नुपर्ने भएको छ ।

यो नियम स्मार्टफोनहरूलाई मात्र नभई अन्य विद्युतीय उपकरण ट्याब्लेट, डिजिटल क्यामेरा, हेडफोन, ई-रिडर लगायतले चार्जिङ पोर्टका रूपमा यूएसबी टाइप-सी पोर्ट अनिवार्य प्रयोग गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

त्यतिमात्र नभई युरोपेली संघका देशमा बिक्री हुने हरेक ब्राण्डका ल्यापटपमा त्यसभन्दा पछिका दिनहरूमा यूएसबी-सी पोर्ट अनिवार्य हुनेछ । यस विषयमा संघले करिब एक दशकदेखि आवश्यक छलफल तथा अध्ययन गरिरहेको थियो ।

उपभोक्तालाई विभिन्न डिभाइसका लागि फरक-फरक चार्जर प्रयोग गर्न असहज भएका कारण सबै डिभाइसमा एउटै चार्जर प्रयोग गर्नुपर्ने नियम बनाइएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो नीतिले गर्दा कम्पनीले हरेक नयाँ डिभाइसमा चार्जर दिइरहनुपर्ने बाध्यता पनि हट्ने संघको विश्वास छ । अन्य डिभाइसमा प्रयोग भइरहेको चार्जर नै नयाँ डिभाइसमा पनि प्रयोग हुने भएपछि नयाँ डिभाइसमा चार्जर राख्नु नपर्ने संघको तर्क छ ।

यो सम्झौताले सबैभन्दा बढी प्रभाव एप्पललाई पारेको छ । एप्पलले आफ्ना हरेक स्मार्टफोनका लागि लाइटनिङ पोर्ट उपलब्ध गराउँदै आएको थियो ।

सन् २०२१ मा मात्र एप्पलले विश्वभर २४ करोडभन्दा बढी आईफोन बिक्री गरेको थियो भने युरोपमा मात्र पाँच करोड ६० लाख बढी फोन बिक्री गरेको थियो ।

याे पनि पढ्नुहाेस्:

यूएसबी ड्राइभबाटै यसरी लक, अनलक गर्नुहोस् कम्प्युटर

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६