close

आईओएस १६ मा नयाँ के छ ?

टेकपाना टेकपाना

असार २, २०७९ ११:३६

आईओएस १६ मा नयाँ के छ ?

काठमाडाैं । आईफोनका लागि एप्पलले हालै आईओएस १६ घोषणा गरेको छ । याेसँगै नयाँ आईओएस संस्करणमा उपलब्ध हुने फिचर पनि सार्वजनिक भएका छन् ।

विभिन्न प्रकारका दुर्व्यवहारबाट प्रयोगकर्तालाई सुरक्षा दिन एप्पलले आईओएस १६ मा ‘सेफ्टी चेक’ फिचर ल्याउने भएकाे छ ।

कम्पनीका अनुसार यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो मोबाइलमा भएको एप र पासवर्डमा कसको पहुँच हुने वा कसले प्रयोग गर्‍यो भनेर थाहा पाउन सक्नेछन् । कुनै सम्बन्धबाट पीडित भएका व्यक्तिले आफ्नो फोनमा त्यस्ता व्यक्तिहरूको पहुँचमा नियन्त्रण गर्न सक्नेछन् ।

प्रयोगकर्ताले त्यस्ता व्यक्तिहरूको पहुँच आफ्नो फोनमा भएको फाइन्ड माई लोकेसन, डेटा, सम्पर्क नम्बर लगायत अन्य विवरणमा पुग्नबाट रोक्न सक्नेछन् ।

साथै प्रयोगकर्ताले ‘इमर्जेन्सी रिसेट’ फिचर पनि प्रयोग गर्न सक्नेछन् । यो फिचरमार्फत प्रयोगकर्ताले एक क्लिकमा आफ्नो फोनमा पहुँच भएका व्यक्तिहरूको पहुँच हटाउन सक्नेछन् ।

पछिल्ला केही वर्षमा एप्पलले आफ्नो डिभाइसमा यस्ता विभिन्न प्रकारका दुर्व्यवहारबाट बच्न विभिन्न फिचर उपलब्ध गराउँदै आइरहेको छ ।

योसँगै आईओएस १६ मा अन्य नयाँ फिचरहरू पनि समावेश गरिएको छ । आईओएस १६ मा कम्पनीले आईफोनको लक स्क्रिनका लागि धेरै फिचर ल्याएको छ ।

आईओएस १६ को अपडेटसँगै अब आईफोन प्रयोगकर्ताले आफ्नो लक स्क्रिनलाई आफूले चाहेको जस्तै कस्टमाइज गर्न सक्नेछन् ।

साथै ‘लाइभ एक्टिभिटिज’ नामक फिचरमार्फत प्रयोगकर्ताका लागि डेभलपरहरूले लाइभ अपडेट हुने लक स्क्रिन बनाउनेछन् । अर्थात् प्रयोगकर्ताले चाहेको रियल टाइम इन्फर्मेसन, जस्तो कि कुनै चलिरहेको खेलको लाइभ अपडेट, प्रयोगकर्ताको राइड शेयर अथवा खानाको डेलिभरीको ट्रयाकिङ लगायतका जानकारीहरू लक स्क्रिनमा लाइभमा हेर्न सकिनेछ ।

यस्तै अब ‘विजेट टुडे भ्यु’ मा नभएर सिधैँ लक स्क्रिनमा नै देखिनेछ, जसमा समाचार, मौसम सम्बन्धी जानकारी, क्यालेन्डर लगायतका विवरण पाउन सकिन्छ ।

साथै एउटै विजेटमा क्यालेन्डर, वेदर, समाचार, व्याट्री प्रतिशत, अलार्म लगायतका विवरण हेर्न सकिनेछ ।

यसैगरी मोबाइलको थिममा पनि नयाँ रंग, फिल्टर, ब्याकग्राउन्ड लगायत फन्टहरूमा पनि नयाँ अप्सनहरू थपिएको छ ।

आईओएस १६ को अपडेटसँगै अब नोटिफिकेसन पनि तलबाट माथितिर आउनेछ ।

त्यसैगरी मेलमार्फत पठाइएको ईमेल पनि पठाउने समय भन्दाअगाडि नै शेड्युल गर्न सकिनेछ भने पठाउन नपरेको खण्डमा हटाउन सकिनेछ ।

त्यसैगरी अब आईमेसेजबाट पठाएको मेसेजमा इडिट अथवा अनसेन्ड पनि गर्न सकिनेछ भने कुनै आईमेसेजलाई अनरिड अथवा नपढिएको भनेर मार्क पनि गर्न मिल्नेछ । शेयरप्ले फिचर अब फेसटाइममा मात्र नभई आईमेसेजमा पनि प्रयोग गर्न सकिनेछ ।

आईओएस १६ को अपडेटसँगै अब लाइभ टेक्स्ट फिचर फोटोमा मात्र नभई भिडिओमा पनि प्रयोग गर्न सकिनेछ । त्यसैगरी यसरी कपी गरिएको टेक्स्टलाई अर्को भाषामा ट्रान्सलेट पनि गर्न सकिनेछ ।

योसँगै एप्पलले पनि ‘बाई नाउ, पे लेटर’ फिचर सार्वजनिक गर्ने भएको छ । एप्पल पे लेटर अप्सनमा सहित अब एप्पल पेका प्रयोगकर्ताले पहिले सामान खरिद गरेर पछि भुक्तानी गर्न सक्नेछन् । 

एप्पल म्यापमा पनि नयाँ लोकेसनहरू थप गरिएको छ भने एप्पल न्युजमा आफ्नो रुचिअनुसारको विषयगत समाचार हेर्न तथा पढ्न सकिनेछ ।  त्यसैगरी अब आफ्नो फोटो तथा भिडिओको लाइब्रेरी अन्य प्रयोगकर्ताहरूसँग पनि शेयर गर्न सकिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३