close

डिजिटल अर्थतन्त्र सुधारका लागि भन्दै नेपाललाई विश्व बैंकको साढे १७ अर्ब सहयोग

टेकपाना टेकपाना

असार ३, २०७९ ११:५१

डिजिटल अर्थतन्त्र सुधारका लागि भन्दै नेपाललाई विश्व बैंकको साढे १७ अर्ब सहयोग

काठमाडौं । नेपालमा ब्रोडब्यान्डको पहुँच विस्तार गर्न र डिजिटल अर्थतन्त्रमा थप मानिसहरूलाई संलग्न गराउन विश्व बैंकले १४ करोड डलर (करिब साढे १७ अर्ब रुपैयाँ) सहयोग उपलब्ध गराउने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले डिजिटल नेपाल एक्सिलेरेसन (डीएनए) परियोजना सञ्चालन गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।  

माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका कन्ट्री डाइरेक्टर (राज्य निर्देशक) फारिस हदाद-जेर्भोसले विश्व बैंकले समावेशी र सुरक्षित डिजिटल अर्थतन्त्र प्रवर्द्धन गर्ने नेपालको लक्ष्यमा साथ दिन यो रकम निकासा गर्ने निर्णय लिएको बताएका छन् । यो परियोजनाले डिजिटल नेपाल फ्रेमवर्क, २०१९ मा सरकारले घोषणा गरेको देशको डिजिटल अर्थतन्त्र रणनीतिको कार्यान्वयनमा सहयोग पुर्‍याउने उनको भनाई छ । 

विशेषगरि ग्रामीण क्षेत्रका प्रयोगकर्ता र व्यवसायहरूलाई लक्षित गरी यो परियोजना सञ्चालन हुने विश्व बैंकले बताएको छ । यसले नेपालको डेटा पूर्वाधार र साइबर सुरक्षामा सुधार ल्याउनुका साथै डिजिटल सरकारी सेवाहरू प्रवाहमा पनि सहजता ल्याउने विश्व बैंकको भनाई छ । 

त्यस्तै यो परियोजना अन्तर्गत इन्टरनेट प्रयोग, डिजिटल सीप र उद्यमशीलता, महिला, जातीय र सामाजिक अल्पसङ्ख्यकहरू र अपाङ्गता भएका व्यक्तिहरूलाई पनि समेटिने बताइएको छ । 

परियोजना अन्तर्गत डिजिटल सीप विकास तालिम प्रदान गरी करिब १५०० व्यक्तिको लागि राम्रो रोजगारीका अवसर पनि सिर्जना गर्ने लक्ष्य लिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३