close

नेपालीले पठाएको १६ प्रतिशत मेसेज सम्बन्धित व्यक्तिलाई नपुग्ने, स्मार्ट टेलिकममा धेरै समस्या

टेकपाना टेकपाना

असार १४, २०७९ १९:१४

नेपालीले पठाएको १६ प्रतिशत मेसेज सम्बन्धित व्यक्तिलाई नपुग्ने, स्मार्ट टेलिकममा धेरै समस्या

काठमाडौं । दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमार्फत प्रयाेगकर्ताले पठाएकाे मेसेज सम्बन्धित व्यक्तिलाई नपुग्ने गरेको पाइएको छ ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको दूरसञ्चार सेवा प्रदायकको सेवाको गुणस्तर अध्ययन तथा मापन प्रतिवेदनले औसतमा १६.६० प्रतिशत मेसेज सम्बन्धित प्रयोगकर्तालाई नपुग्ने देखाएको हो ।

प्राधिकरणले गत पुसदेखि चैतसम्म परामर्शदाता लगाएर सेवा प्रदायकले उपलब्ध गराएको सेवाको गुणस्तर मापन गरेको थियो । परामर्शदाताले उपलब्ध गराएको प्रतिवेदनअनुसार दूरसञ्चार सेवा प्रदायक हरेक हिसाबले गुणस्तरीय सेवा दिनबाट चुकेका छन् ।

टेलिफोनमा चुकेका कम्पनीहरू मेसेजमा पनि नराम्रोसँग चुकेको पाइएको छ । यो अध्ययन प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशमा सेवा प्रदायकअनुसार भएको थियो ।

यसअन्तर्गत प्रदेश १ मा नेपाल टेलिकमबाट पठाएको एसएमएसको सफल दर ९९.९४ प्रतिशत रहेको छ । एनसेलको ९९.०७ हुँदा स्मार्टसेलको जम्मा ७९.५९ प्रतिशतमात्रै रहेको छ । यो प्रदेशमा औसतमा ७९.५९ प्रतिशत मेसेजमात्रै सफल हुने गरेको छ ।

त्यस्तै मधेश प्रदेश अन्तर्गत पनि औसतमा ८८.४० प्रतिशतमात्रै मेसेज सफल हुने गरेको अध्ययनले देखाएको छ, जसमा नेपाल टेलिकमको ९९.५९, एनसेल ९९.३० र स्मार्टसेलको ६६.३५ प्रतिशतमात्रै एसएमएस सफल हुने गरेको छ ।

त्यस्तै गण्डकी प्रदेशमा नेपाल टेलिकमको ९८.९१, एनसेल ९९.१३ र स्मार्टसेलको ४८.५३ रहेको छ । यो हुँदा गण्डकी प्रदेशमा औसतमा ८२.१९ प्रतिशत मात्रै पठाएको मेसेज पुग्ने देखिन्छ ।

यसरी तीन प्रदेशलाई एकै ठाउँमा ल्याएर औसतमा हर्ने हो भने नेपालीले पठाएको ८३.४० प्रतिशतमात्रै म्यासेज सफल हुने गरेको छ ।

सेवा प्रदायकको आधारमा हेर्ने हो भने सबैभन्दा कमजोर स्मार्टसेल देखिएको छ ।

तीन प्रदेशमा भएको अध्ययन अनुसार स्मार्टसेलको औसतमा ५१.५४ प्रतिशतमात्रै म्यासेज सफल हुने गरेको छ । त्यस्तै नेपाल टेलिकमको ९९.४८ र एनसेल ९९.१६ सफल हुने गरेको प्रतिवेदनले देखाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३