close

नथिङ ब्रान्डको पहिलो स्मार्टफोन फोन वन सार्वजनिक, कति होला मूल्य ?

टेकपाना टेकपाना

असार २८, २०७९ २१:५१

नथिङ ब्रान्डको पहिलो स्मार्टफोन फोन वन सार्वजनिक, कति होला मूल्य ?

काठमाडौं । नथिङले स्मार्टफोन बजारमा डेब्यु गरेको छ । कम्पनीले मङ्गलबार एक कार्यक्रमबीच आफ्नो पहिलो स्मार्टफोन नथिङ फोनवन बजारमा उतारेको हो ।

वनप्लसका सहसंस्थापकले नेतृत्व गरेको यो स्टार्टअपले यस अघि एयर वन वायरलेस बड सार्वजनिक गरेको थियो । नथिङ फोन वनको मूल्य ३९९ युरो (करिब ५१ हजार रुपैयाँ) बाट सुरु हुनेछ । २१ जुलाईबाट बिक्री सुरु हुने यो फोनमा ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज पाउन सकिनेछ ।

यसैको २५६ जीबी भेरियन्टको फोन ४४९ युरो (करिब ५७ हजार ५०० रुपैयाँ) मा खरिद गर्न सकिनेछ । यो गृष्म यामपछि बिक्री सुरु हुने १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भएको फोनको मूल्य भने ४९९ युरो (करिब ६४ हजार रुपैयाँ)राखिएको छ । हाललाई नथिङले आफ्नो फोन बेलायत, जापान, भारत र मुख्य युरोप गरी विश्वका ४० ओटा बजारमा उपलब्ध हुनेछ ।

यो फोनमा सबैभन्दा रोचक पक्ष यसको डिजाइन रहेको छ । पछाडि भागमा पारदर्शी रहेको यो फोन चार्ज गर्दा र चार्ज पूरा हुँदा लाइट बल्छ । यसका साथै नोटिफिकेसन आउँदा र फोन कल आउँदा पनि पछाडि भागमा रहेको लाइटले सङ्केत दिन्छ । फोनको पछाडि भागमा एउटा मुख्य क्यामेरा र अर्को अल्ट्रा वाइड गरी दुई ओटा ५० मेगापिक्सेलका सेन्सर दिइएको छ ।

मेन क्यामेराले अप्टिकल र इलेक्ट्रोनिक इमेज स्टेबलाइजेसन (ओआईएस र ईआईएस) दुवै लाई सपोर्ट गर्दछ । यसका साथै नाइट, पोट्रेट र डकुमेन्ट स्क्यानिङ  मोड जस्ता सफ्टवेयर फिचर पनि यसमा पाउन सकिन्छ ।

यसैगरी फोनमा रहेको अल्ट्रा वाइड क्यामेरामा ११४ डिग्रीको फिल्ड अफ भ्यु पाउन सकिन्छ र जसले ४ सेन्टिमिटरको दूरीबाट म्याक्रो शट लिन सक्छ । सेतो र कालो रङ्गमा पाउन सकिने यो फोनको अगाडि भागमा ६.५५ इन्च १०८० पी ओएलईडी डिस्प्ले पाउन सकिन्छ ।

जसको उच्चतम् ब्राइटनेस १,२०० निट्स रहेको छ । अधिकतम रिफ्रेश रेट १२० हर्ज रहेको फोन वनको डिस्प्लेमा देखिने सामग्री अनुसार त्यसको आधासम्म झर्न सक्छ । फोनको माथि बाया छेउमा सानो होल-पन्च कटआउट दिइएको छ, जसमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा र बायोमेट्रिक सेक्युरिटीका लागि इनडिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर राखिएको छ ।

भित्रि रूपमा नथिङ फोन वनलाई क्वालकम स्नापड्रागन ७७८ जी प्लस प्रोसेसरले पावर दिएको छ । जुन यसमा क्वालकमको फ्ल्यागशिप स्नापड्रागन एट जेन वान प्रोसेसर अपेक्षा राख्नेहरूका लागि निराशाको विषय बन्न सक्छ ।

तर कम्पनीले यो केही थोरै शक्तिशाली प्रोसेसरले पर्फर्मेन्समा उत्कृष्ट सन्तुलन दिने, कम ऊर्जा खपत गर्ने, तापक्रम नियन्त्रण गर्ने र सस्तो मूल्यमा उपलब्ध हुने बताएको छ । एन्ड्रोइडमा आधारित नथिङ ओएसमा चल्ने यो फोनले टेस्ला कारको ढोका खोल्न सक्ने, सवारीको एसी चलाउन सक्ने जस्ता विभिन्न उपकरणलाई समेत नियन्त्रण गर्ने क्षमता राख्ने बताइएको छ ।  

नथिङले तीन वर्षको एन्ड्रोइड अपडेट र चार वर्षको सेक्युरिटी अपडेट (हरेक दुई महिनामा रिलिज हुने) दिने प्रतिबद्धता व्यक्त गरेको छ । फोन वनमा ४,५०० एमएएच क्षमताको ब्याट्री राखिएको छ ।

जसलाई चार्ज गर्न १४ वाटको वायरलेस चार्जरसँगै ३३ वाटको फास्ट चार्जर पाउन सकिनेछ । यो फोनमा पानी र धुलो प्रतिरोध गर्न आईपी ५३ रेटिङ प्राप्त गरेको छ । यसको अर्थ हलुका वर्षातलाई यो फोनले झेल्न सक्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३