close

जोखिम हुन सक्छ फ्री वाई-फाई, यसरी बन्नुहोस् सुरक्षित

टेकपाना टेकपाना

साउन ४, २०७९ १०:१७

जोखिम हुन सक्छ फ्री वाई-फाई, यसरी बन्नुहोस् सुरक्षित

काठमाडाैं । अचेल रेष्टुरेन्ट, पार्क, एयरपोर्ट, सार्वजनिक स्थान जहाँतहिँ फ्री वाई-फाई छन् । कफी शपमा गएर घन्टौंसम्म कफी र फ्री इन्टरनेटको आनन्द लिन निकै रमाइलो हुन्छ ।

हामी फ्री वाई-फाई देख्नासाथ केही नसोची कनेक्ट गर्छौं ।  फ्री वाई-फाई जति कनेक्ट गर्न सजिलो र सहज छ यसमा त्यति नै जोखिम पनि हुन सक्छ ।

फ्री र पब्लिक वाई-फाईमा अनलाइन अकाउन्ट एक्सेस गर्न, ईमेलहरू चेक गर्न, सामाजिक सञ्जाल चलाउन, अनलाइन गेम खेल्ने आदि काम गर्दा गोपनीयता र सुरक्षा जोखिमहरू भने बिर्सिन हुँदैन ।

पब्लिक वाई-फाईमा जोसुकैले सजिलै पहुँच पाउन सक्छन् । पहिलो कुरा त ओपन नेटवर्कमा कनेक्ट हुनु आफैँमा जोखिमपूर्ण छ। ह्याकरले  त्यहि नामको नेटवर्क बनाएर सजिलै हटस्पट छाड्न सक्छ ।

यस्तो नेटवर्क सेटअप गर्न वाई-फाई पाइनेपल जस्ता डिभाइस सजिलै बजारमा पाउन सकिन्छ। यस्ता डिभाइसमार्फत फेक वाई-फाई नेटवर्क सेट अप गर्न सकिन्छ ।

वाई-फाई मेनुअल कनेक्शनमा नभई अटोमेटिक कनेक्शनमा छ भने नजिकको सबैभन्दा बलियो फ्री नेटवर्क जुन छ, त्यसैमा स्वतः कनेक्ट हुन्छ ।

फेक वाई-फाईमा छाडिएको नेटवर्क बलियो छ भने तपाईंको डिभाइस त्यही फेक नेटवर्कमा कनेक्ट हुन्छ । त्यसपछि मिडलम्यान अर्थात् फेक नेटवर्क सेटअप गर्ने पक्षले तपाईंले त्यो नेटवर्कमा जे–जे गर्नुहुन्छ सबै पहुँच पाउँछ ।

फ्री वाइफाइको सबैभन्दा ठूलो खतरा भनेको तपाई र कनेक्शन प्वाइण्टबीचमा ह्याकरले पहुँच पाउन सक्नु हो । यसो भएमा तपाइले ब्राउजिङ्ग गरेको सबै विवरण ह्याकरले सेटअप गरेको नेटवर्कमा जान्छ ।

त्यसैले सार्वजनिक स्थानमा फ्री वाई-फाई चलाउदा युजर नेम के हो सोधेर भेरिफाई गरेर मात्र कनेक्ट गर्नुहोला ।

वाई-फाई अन छ भने त पासवर्ड अनप्रोटेक्टेड (पासवर्ड नराखिएका) वाई-फाई जहाँ सिग्नल भेटे पनि कनेक्ट हुन्छ । यस्ता असुरक्षित वाई-फाईबाट ह्याकरले सजिलै माल्वेयर डिस्ट्रिब्युट गर्न सक्छन् ।

यदि नेटवर्कमा फाइल शेयर गर्ने अनुमति दिनुभयो भने ह्याकरले सजिलैसँग तपाईंको डिभाइसमा संक्रमित सफ्टवेयर इन्जेक्ट गर्न  सक्छ ।

अझ केहीले त कनेक्सन पोइन्टलाई नै ह्याक गरेर तपाईँको डिभाइसमा सफ्टवेयर अपग्रेडलगायतका पप-अप विन्डो देखिने बनाउन सक्छन् ।

यदि तपाईँले त्यो विण्डोमा क्लिक गर्नुभयो भने डिभाइसमा माल्वेयर सजिलैसँग प्रवेश गर्न सक्छ । त्यसैले पासवर्ड अन प्रोटेक्टेड वाई-फाईमा सकेसम्म कनेक्ट नभएकै राम्रो ।

अब रिस्क छ भनेर फ्री वाई-फाईमा कनेक्ट नै नहुने भन्ने चाहिँ हुँदैन । फ्री वाई-फाई ह्याकरको लागि निकै सहज टार्गेट हो । आवश्यक साबधानी अपनाएर आफ्नो जानकारी सुरक्षित रहने तरिकाले भने पक्कै चलाउन सक्नुहुन्छ ।  

सुरक्षित कसरी रहने ?

भर्चुअल प्राइभेट नेटवर्कको प्रयोग  

एक भर्चुअल प्राइभेट नेटवर्क प्रयोग गरेपछि यसले तपाईंले फ्री र पब्लिक वाई-फाईमा ब्राउज गर्नुभएको सबै डेटालाइ बलियोसँग इन्क्रिप्ट गर्दछ । यो डेटालाई डिक्रिप्ट गर्न निकै लामो र अप्ठ्याराे हुने भएकाले सहज टार्गेट खोजेका ह्याकर यसको पछि खासै लाग्दैनन् । यसले तपाइको डेटा चोरी हुन बाट बचाउँछ ।  

सेफ ब्राउजिङ्ग 

सार्वजानिक वाई-फाईमा इनक्रिप्टेड HTTPS भएको साइट मात्र ब्राउज गरौं ।

HTTPS साइट HTTP भन्दा धेरै सुरक्षित र इन्क्रिप्टेड हुन्छ । सामान्यतया इन्टरनेट ब्राउजिङका लागि भीपीएन उपलब्ध नहुन पनि सक्छ ।त्यस्तो अवस्थामा तपाईंले बारम्बार भिजिट गर्ने वेबसाइटहरूमा “Always use HTTPS” विकल्प इनेबल गरेर ब्राउज गर्नुहोस् ।

कुनै अनावश्यक फर्ममा युजरनेम पासवर्ड, ब्याङ्क डिटेल्सजस्ता विवरण नभर्नुहोस् । सकेसम्म सामाजिक सञ्जाल पनि एपभन्दा ब्राउजर बाटै चलाउनुहोस् । साथै ब्राउज गरिसकेपछि हिस्ट्री र क्यास डिलिट गर्ने गर्नुहोस् । आफू लगइन भएको सबै वेवसाइटबाट लगआउट हुनुहोस् ।

सार्वजानिक वाई-फाईमा सकेसम्म बैंकिङ एप्लिकेसन प्रयोग नगर्नुहोस् । मिलेसम्म मोबाइल डेटाको प्रयोग गर्नुहोस् । यदि वाई-फाई नै प्रयोग गर्न परे पनि वेबपेजबाट ब्राउज गर्नुहोस् ।

आफ्नो डिजिटल अकाउन्ट, ईमेल अकाउन्टलाई सुरक्षित राख टु फ्याक्टर अथेण्टिकेशन सधै इनेबल गर्नुहोस् । 

फायरवाल अप्सन अन गर्नुहोस् 

फायरवाल एक प्रणाली हो जसले आगमन (Incoming) र बाहिर जाने (Outgoing) नेटवर्क ट्राफिक फिल्टर गरेर नेटवर्क सुरक्षा प्रदान गर्दछ ।

सामान्यतया, फायरवालको उद्देश्य अनावश्यक नेटवर्क कम्युनिकेशन घटाउँदै वा हटाउँदै वैधानिक कम्युनिकेसनलाई प्रवाह हुन दिनु हो ।

फायरवालहरूले सुरक्षाको एक आवश्यक तह उपलब्ध गराउँछ जसले संकास्पद ढंगबाट तपाईंको सर्भरमा हुने पहुँचलाई रोक्छ । यसका साथै, फायरवाल अप्सन सधैका लागि अन गर्नुहोस् ।  

कनेक्टिभिटी अफ गर्ने

सार्वजनिक वाई-फाईमा हुनुहुन्छ भने आफ्नो मोबाइल फोनको ब्लुटुथ कनेक्टिभिटी सधै बन्द गर्नुहोस्। सेट अप गरिएको नेटवर्क रैछ भने ब्ल्युतुथ अन हुँदा ह्याकरले सजिलै तपाईंको डिभाइसमा पेनिट्रेट गर्नसक्छ । सँगै आफ्नो वाई-फाई कनेक्सन सधै म्यानुअल मोडमा राख्नुहोस् ।  

एन्टीभाइरसको प्रयोग 

सार्वजानिक वाई-फाईमा प्रयोग हुने डिभाइसहरुमा मिलेसम्म एन्टीभाइरसको प्रयोग गर्नु उचित हुन्छ । एन्टीभाइरसले सिस्टम सुरक्षालाई अझ बलियो बनाउँछ ।

सार्वजनिक वाई-फाई जोखिमयुक्त त छन् नै, तर चलाउनै नहुने भने हाेइन । बैंकिङ कारोबार, व्यक्तिगत विवरण खुलाउने एप्लिकेसनको प्रयोग नगरी सुरक्षित रहेर चलाउँदा राम्रो हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३