close

तपाईंको फोनमा कहिलेसम्म आउला एन्ड्रोइड १३ ?

टेकपाना टेकपाना

साउन २८, २०७९ १४:३०

तपाईंको फोनमा कहिलेसम्म आउला एन्ड्रोइड १३ ?

काठमाडौं । एन्ड्रोइड १३ सार्वजनिक हुने मिति नजिकिँदैछ । गुगलले दिने अन्य ओएस अपडेटको तुलनामा एन्ड्रोइडमा खास धेरै नयाँ कुरा केही नहुने अनुमान गरिएको छ ।

एन्ड्रोइड १३ ले स्मार्टफोनको पर्फर्मेन्सलाई पहिलेको तुलनामा थप छिटो बनाउने अनुमान छ । एन्ड्रोइड १२ को अपग्रेडेड भर्सनमात्र हुने एन्ड्रोइड १३ को पर्खाइमा धेरै प्रयोगकर्ता छन् ।

गुगलका अनुसार एन्ड्रोइड १३ यही अगस्ट वा सेम्टेम्बरसम्ममा सार्वजनिक हुनेछ ।

सार्वजनिकपछि यो अपडेट सबैभन्दा पहिला पिक्सेल स्मार्टफोन र यसपछि सामसङ, ओप्पो लगायत अन्य एन्ड्रोइड फोनहरूमा पनि उपलब्ध हुनेछ ।

यसबीच केही मोबाइल कम्पनीले आफ्ना कुन-कुन मोडलले एन्ड्रोइड १३ पाउने र नपाउने कुरा सार्वजनिक गरिसकेका छन् भने केही कम्पनीले अझै पनि केही जानकारी दिएका छैनन् ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार तल उल्लेखित स्मार्टफोनमा एन्ड्रोइड १३ उपलब्ध हुनेछ । 

गुगल 

कम्पनीले एन्ड्रोइड १३ सार्वजनिक हुने बित्तिकै सुरुमा पिक्सेलका फोनहरूमा उपलब्ध हुने बताइसकेको छ ।

यसको साथै गुगलले एन्ड्रोइड १३ पिक्सेल ४ सिरिजभन्दा पछाडिका स्मार्टफोनदेखि उपलब्ध हुने घोषणा गरेको छ ।

कम्पनीका अनुसार पिक्सेल ४, ४ एक्सएल, ४ ए, ४ए फाइभजीमा एन्ड्रोइड १३ उपलब्ध हुनेछ ।

त्यसैगरी पिक्सेल ५ र ६ को सिरिजमा पिक्सेल फाइभ, फाइभ ए, पिक्सेल ६, पिक्सेल ६ए र ६ प्रोले यो अपडेट पाउनेछन् ।

त्यसैगरी पिक्सेल ७ र ७ प्रो पनि एन्ड्रोइड १३ सहित सार्वजनिक हुनेछन् । 

सामसङ 

पिक्सेलपछि एन्ड्रोइड १३ को अपडेट सामसङका स्मार्टफोनहरूमा उपलब्ध हुनेछ ।

एन्ड्रोइड १३ मा आधारित वन यूआई ५ को बेटा भर्सन अहिले नै सामसङका केही प्रयोगकर्ताले प्रयोग गरिरहेका छन् ।

हाललाई यो बेटा भर्सन ग्यालेक्सी एस २२ सिरिजका स्मार्टफोनहरूमा मात्र छ ।

औपचारिक रुपमा सार्वजनिक भइसकेपछि भने यो फोन सामसङका अधिकाशं स्मार्टफोनमा उपलब्ध हुनेछ ।

यो अपडेट सामसङका अन्य स्मार्टफोनभन्दा पनि फोल्डेबल स्मार्टफोनका साथै ट्याबलेटमा बढि उपयोगी हुने अनुमान छ । 

वनप्लस 

वनप्लसले पनि एन्ड्रोइड १३ र अक्सिजन ओए १३ वनप्लस ८, वनप्लस नर्ड २ लगायत अन्य नयाँ मोडेलको स्मार्टफोनहरूमा उपलब्ध हुने घोषणा गरिसकेको छ ।

सार्वजनिक भएपछि सबैभन्दा सुरुमा वनप्लस १० प्रो र वनप्लस १०टी मा एन्ड्रोइड १३ र अक्सिजन ओएस १३ उपलब्ध हुने बताइएको छ ।

यसपछि मात्र वनप्लसका अन्य स्मार्टफोनले एन्ड्रोइड १३ को अपडेट पाउनेछन् । 

साओमी, ओप्पो र रियलमी 

हाल साओमीले साओमी १२, १२ प्रो र मि प्याड ५ मा र ओप्पोले फाइन्ड एन र फाइन्ड एन एक्समा एन्ड्रोइड १३ को परीक्षण गरिरहेका छन् ।

रियलमीले भने हाल जीटी २ प्रो मोडेलमा एन्ड्रोइड १३ को बेटा भर्सन उपलब्ध गराएको छ ।

यद्यपि यो कम्पनीले भने आफ्नो कुन-कुन मोडेलमा एन्ड्रोइड १३ उपलब्ध हुन्छ भन्ने विषयमा केही जानकारी दिएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३