close

कन्सल्टेन्सीमा आउने विद्यार्थीको नागरिकताबाट सिम झिकी ‘वनएक्स बेट’मा सट्टेबाजी !

टेकपाना टेकपाना

भदौ ६, २०७९ १९:२

कन्सल्टेन्सीमा आउने विद्यार्थीको नागरिकताबाट सिम झिकी ‘वनएक्स बेट’मा सट्टेबाजी !

काठमाडौं । झापाकाे एक एजुकेसन कन्सल्टेन्सीले आफूकहाँ पढ्न आउने विद्यार्थीकाे नागरिकता दुरूपयाेग गरी अनलाइन गेमिङमार्फत सट्टबाजी गर्ने गरेको पाइएको छ ।

दमकस्थित पद्मा इन्टरनेसनल कन्सल्टेन्सीका सञ्चालकले यसरी विद्यार्थीकाे नाममा सिम निकाल्दै प्रतिबन्धित ‘वनएक्स बेट’मा सट्टेबाजी धन्दा गरेकाे पाइएकाे हाे ।

कन्सल्टेन्सीका सञ्चालकले अन्य साथीसँग मिलेर अनलाइन गेमिङमार्फत नेपालमा वनएक्स बेट एपबाट लाखाैं रूपैयाँकाे सट्टेबाजी गरिरहेकाे गोप्य सूचनाका आधारमा यस्ताे धन्दामा संलग्न चार व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

पक्राउ हुनेमा दमक नगरपालिका-८ मा बस्ने २५ वर्षीय कन्सल्टेन्सी सञ्चालक सतप्रकाश साह, दमक नगरपालिका-७ मा बस्ने कन्सल्टेन्सीकै अर्का सञ्चालक २७ वर्षीय राजु श्रेष्ठ, कमल गाउँपालिका-२ मा बस्ने योर्स कम्युनिकेसन एन्ड फोटो स्टुडियोका सञ्चालक ३० वर्षीय अरुण कार्की र दमक नगरपालिका-८ मा बस्ने ३३ वर्षीय ब्रिटिस आर्मी ट्रेनिङ सेन्टर डेनमार्कका सञ्चालक राजु लिम्बु रहेका छन् ।

पक्राउ पर्नेमध्ये कन्सल्टेन्सीका सञ्चालक सतप्रकाश साह र राजु श्रेष्ठले पढ्न आउने विद्यार्थी लगायत अन्य व्यक्तिहरूको पनि नागरिकता प्रयोग गरी एनसेलको सिम झिकेर वनएक्स बेटमा सट्टेबाजी खेलाउन सोही सिमबाट ईसेवा प्रयोग गर्दै आएकाे पाइएकाे जिल्ला प्रहरी कार्यालय दमकका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

पक्राउ गर्ने क्रममा साहको कोठाबाट २४४ थान र श्रेष्ठको कोठाबाट ३५ थान एनसेलको सिम बरामद भएकाे छ । श्रेष्ठको कोठाबाट प्रयोगमा नआएका ४५ थान एनसेलको सिम पनि प्राप्त भएको छ ।

प्रहरीका अनुसार साहको ई-सेवाको खाताबाट ८० लाखभन्दा बढीको कारोबार भएको पनि पाइएको छ ।

पक्राउ परेका व्यक्तिमध्ये प्रहरीले साहको कोठाबाट ९ थान मोबाइल, एक थान लेनोभो ल्यापटप र एक थान डेलको ल्यापटप पनि बरामद गरेको छ ।

त्यसैगरी श्रेष्ठको कोठाबाट आईफोन ११ एक थान, जिलियन सीपीयू, डेलको एक थान ल्यापटप लगायत विभिन्न स्थानीय तह (नगरपालिका/गाउँपालिका) को नक्कली स्ट्याम्प पनि प्राप्त भएको छ ।

अरूण कार्कीको फोटो स्टुडियोबाट भने विभिन्न ब्रान्डका ९ थान मोबाइल, एचपीको ल्यापटप, शिक्षा मन्त्रालयलगायत अन्य स्थानीय तहका स्ट्याम्प बरामद भएको छ ।

“प्रतिबन्धित वनएक्स बेट एपबाट सट्टेबाजी खेल खेलाउन उनीहरूले अन्य व्यक्तिहरूको नागरिकताबाट एनसेलको सिम झिकेर सोही सिमबाट सट्टैबाजीको लागि आवश्यक रकम प्राप्त गर्न ई-सेवा खाता खोलेर लाखौंको कारोबार गरेको पाइएको छ,” पाठकले भने, “कन्सल्टेन्सीमा आउने विद्यार्थीका लागि नक्कली कागजपत्र बनाउन सरकारी कार्यालयको छाप र जनप्रतिनिधिहरूको छाप पनि प्रयोग गरेको पाइएको हो ।”

सट्टेबाजीको हकमा मुलुकी अपराध संहिता २०७४ को दफा १२५ “जुवा खेल्न वा सट्टेबाजी गर्नु गराउनु नहुने” भन्ने कसूरमा प्रयोग भएको बिगो जफत गरी कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४