close

स्याटलाइट नेटवर्कमा कसरी काम गर्छ आईफोन १४ ?

टेकपाना टेकपाना

भदौ २४, २०७९ ११:१४

स्याटलाइट नेटवर्कमा कसरी काम गर्छ आईफोन १४ ?

काठमाडौं । एप्पलले बुधबार राति एक कार्यक्रम गर्दै आईफोन फोर्टिन सिरिजसँगै एप्पल वाच अल्ट्रा र एप्पल वाच एसई सार्वजनिक गरेको छ । आईफोन १४ मा प्रायः अन्य फिचरहरू पहिलेको सिरिज आईफोन थर्टिन जस्तै भए पनि यसमा ‘स्याटलाइट कनेक्टिभिटी’ फिचर थपिएको छ ।

यहाँ हामी आईफोन १४ मा आउने स्ट्याटलाइट कनेक्टिभिटी के हो र यसले कसरी काम गर्छ भन्ने विषयमा बताउँदै छौँ । कम्पनीले स्याटलाइट कनेक्टिभिटी फिचरको नाम ‘इमर्जेन्सी एसओएस भाय स्याटलाइट’ दिएको छ । यसले मोबाइल नेटवर्क नपुगेको ठाउँमा स्याटलाइट नेटवर्कसँग जोड्ने काम गर्दछ ।

फोनमा नेटवर्क (सेलुलर नेटवर्क वा वाई-फाई) नभएको आपतकालीन अवस्थामा तपाईँले स्याटलाइट नेटवर्क प्रयोग गरेर कल वा मेसेज गर्न सक्नुहुन्छ । नेटवर्क नभएको अवस्थामा आईफोन फोर्टिन स्याटलाइटमा जोडिने प्रयास गर्छ । फोनमा स्याटलाइट नेटवर्क कनेक्ट भइसकेपछि प्रयोगकर्ताको अनुभव नै बेग्लै हुने एप्पलको विश्वास छ ।

आईफोन कस्तो अवस्थामा छ भन्ने कुराले पनि स्याटलाइटसँग कनेक्सन बनाउने कुरा निर्धारण गर्छ । उदाहरणका लागि यदि तपाईँ खुला आकासमुनी हुनुहुन्छ भने तपाईँले फोन सहजै स्याटलाइटसँग कनेक्ट गराउन सक्नुहुन्छ । यसरी कनेक्ट भएको नेटवर्कबाट मेसेज पठाउन कम्तिमा ३० सेकेन्ड लाग्छ ।

त्यस्तै यदि रूखमुनी वा भनौँ घना जङ्गलमा हुनुहुन्छ भने एक मिनेट लाग्न सक्छ । यदि यस्तै वाधा बढी आएको खण्डमा फोन स्याटलाइटसँग नजोडिन सक्छ ।

स्याटलाइट कनेक्सन तपाईँ भएको ठाउँ, तपाईँले पठाउने मेसेजको आकार र स्याटलाइट नेटवर्कको उपलब्धतामा निर्भर रहन्छ । ‘इमर्जेन्सी एसओएस भाय स्याटलाइट’ फिचर आईओएस १६ सफ्टवेयर अपडेटमा उपलब्ध हुनेछ ।

आपतको बेला एसओएस भाय स्याटलाइट प्रयोग गर्ने तरिका

जब तपाईँ मोबाइल नेटवर्क वा वाई-फाई नेटवर्क नपुगेको ठाउँमा जानुहुन्छ त्यस्तो बेला आईफोनबाट आपतकालीन सेवाका लागि स्याटलाइट मार्फत मेसेज पठाउन वा कल गर्न यो सेवा प्रयोग गर्न सक्नुहुन्छ ।

स्याटलाइटमा कनेक्ट गर्ने तरिका;

तपाईँलाई नेटवर्क नभएको ठाउँमा आपतकालीन सेवा आवश्यक परेको खण्डमा यसरी स्याटलाइटमा कनेक्ट गर्न सक्नुहुन्छ ।

  • फोन सामान्यतः जसरी हातमा राखेर प्रयोग गर्नुहुन्छ, त्यसरी नै लिनुहोस् । हात उठाएर फोन माथि लैजान आवश्यक पर्दैन । तर, खल्तीमा राख्दा भने स्याटलाइटसँग कनेक्ट नहुन सक्छ ।
  • तपाईँ खुला आकासमुनी भएको कुरा निश्चित गर्नुहोस् । उदाहरणका लागि कुनै घरभित्र र गुफाभित्र रहँदा तपाईँको आईफोन स्याटलाइटमा कनेक्ट नहुन सक्छ ।
  • पातलो जङ्गलभित्रै हुनुहुन्छ भने नेटवर्क स्लो हुन सक्छ । त्यस्तै घना जङ्गलमा हुँदा नेटवर्क नै ब्लक हुन सक्छ । स्याटलाइट नेटवर्कलाई हिमाल, पहाड, डाँडा तथा भीर पाखाले प्रभाव पार्छ । जसले गर्दा स्याटलाइट कनेक्सन ब्लक हुन सक्छ ।
  • यदि केही गरी स्याटलाइट कनेक्सन हुन सकेन भने तपाईँको आईफोनले कता जाँदा कनेक्सन सम्भव हुन सक्छ भन्ने कुरा निर्धारण गरेको हुन्छ ।
  • तपाईँको फोन लक भएको अवस्थामा पनि स्याटलाइट कनेक्सन व्यवस्थापन गर्न सकिन्छ ।

स्याटलाइट नेटवर्क मार्फत यसरी पठाउन सकिन्छ मेसेज

  • सबैभन्दा पहिले फोनमा मोबाइल नेटवर्क नहुँदा इमर्जेन्सी नम्बरमा कल गर्ने प्रयास गर्नुहोस् । कतिपय अवस्थामा मोबाइल नेटवर्क नहुँदा पनि इमर्जेन्सी नम्बरमा कल गर्न सकिन्छ ।
  • यदि त्यसरी इमर्जेन्सी नम्बरमा कल गर्दा कल लागेन भने तपाईँले ‘इमर्जेन्सी सर्भिस भाय स्याटलाइट’ फिचर प्रयोग गर्न सक्नुहुन्छ ।
  • सबैभन्दा पहिले ‘इमर्जेन्सी टेक्स्ट भाय स्याटलाइट’ मा ट्याप गर्नुहोस् ।
  • त्यसपछि मेसेज बक्समा गएर ९११ वा इमर्जेन्सी नम्बरमा कल गर्नुहोस् ।
  • त्यसपछि ‘रिपोर्ट इमर्जेन्सी’ मा ट्याप गर्नुहोस् ।
  • त्यसपछि आफू कस्तो अवस्थामा हुनुहुन्छ भन्ने कुराको उत्तर दिनुहोस् ।
  • त्यसपछि तपाईँको अवस्था हेरेर उक्त सेवाले सम्बन्धित आपतकालीन सेवाका लागि नम्बर उपलब्ध गराउँछ ।
  • फोनलाई स्याटलाइटमा कनेक्ट गर्नका लागि फोनले देखाएको प्रक्रिया अपनाउनु पर्ने हुन्छ ।
  • कनेक्ट भइसकेपछि कसरी म्यासेज पठाउने वा कल गर्ने भन्ने प्रक्रिया त्यहीँ देखाएको हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३