close

कुन नयाँ आईफोन किन्ने, १४, १४ प्लस, १४ प्रो, वा १४ प्रो म्याक्स ?

टेकपाना टेकपाना

भदौ २९, २०७९ २०:२७

कुन नयाँ आईफोन किन्ने, १४, १४ प्लस, १४ प्रो, वा १४ प्रो म्याक्स ?

काठमाडौं । एप्पलले हालै आईफोन फोर्टिन सिरिज सार्वजनिक गरेको छ । नयाँ सिरिजमा केही आकर्षक फिचरहरू थपेका भए पनि प्रयोगकर्तामा आफ्नो फोन अपग्रेड गर्ने वा नगर्ने भन्ने कुरामा द्विविधा उत्पन्न भइरहेको हुनसक्छ ।

आईफोनको कुनै पनि सिरिजको अन्य ब्रान्डको तुलनामा महँगो पर्ने भएकाले खरिद गर्नुअघि केही विशेष कुराहरू ख्याल गर्नुपर्ने हुन्छ । हामीले यहाँ पहिलेको मोडेल र नयाँ मोडलमा के के भिन्नता छन् भन्ने कुराको बारेमा चर्चा गर्दैछौँ । 

आईफोन फोर्टिन को मूल्य ?

आईफोन फोर्टिन सिरिजको मूल्य तुलनात्मक रूपमा आईफोन थर्टिन सिरिजको जत्तिकै छ । (आईफोन थर्टिन सिरिज र आईफोन फोर्टिन सिरिजबीचको मूल्य भिन्नताबारे थाहा पाउन यहाँ क्लिक गर्नुहोस्) मूल्यलाई आधार मान्ने हो भने तुलनात्मक रूपमा आईफोन फोर्टिनको ५१२ जीबी भेरियन्ट र आईफोन थर्टिनको ५१२ जीबी भेरियन्टको मूल्यबीच १०० डलरको फरक छ । बाँकी अन्य भेरियन्टको मूल्य भने समान रहेको छ ।

के आईफोन फोर्टिन को डिस्प्ले अन्य सिरिजभन्दा फरक छ?

तपाईँले फोनमा कति समय बिताउनु हुन्छ भन्ने कुराका आधारमा तपाईँलाई कुन स्क्रिन साइज उपयुक्त हुन्छ भन्ने कुरा निर्धारण गर्न सकिन्छ । आईफोन फोर्टिन र आईफोन फोर्टिन प्रो दुवैमा ६.१ इन्चको स्क्रिन रहेको छ भने आईफोन फोर्टिन प्लस र आईफोन फोर्टिन प्रोमा ६.७ इन्चको डिस्प्ले रहेको छ ।

यसबाट तपाईँलाई आफ्नो काम अनुसार कुन स्क्रिन साइज उपयुक्त हुन्छ, छान्न सक्नुहुन्छ । एप्पलले आईफोन फोर्टिन सिरिजका हरेक मोडेलमा सुपर रेटिना एक्सडीआर (Super Retina XDR) डिस्प्ले समावेश गरेको छ । यद्यपि आईफोन फोर्टिन प्रो र प्रो म्याक्स मोडेलमा मात्र ‘अलवेज-अन डिस्प्ले’ पाउन सकिन्छ ।

आईफोन फोर्टिन प्रो र प्रो म्याक्स मोडेलमा एप्पलको प्रो मोसन प्रविधि प्रयोग गरिएको छ । जसले गर्दा फोनको डिस्प्ले रिफ्रेश रेट आवश्यकता अनुसार १२० हर्जसम्म बढाउन सकिन्छ । यसले गर्दा गेमिङका लागि प्रो मोडेल उपयुक्त हुन्छ ।

त्यस्तै आईफोन फोर्टि प्रो र आईफोन फोर्टिन प्रो म्याक्समा डाइनामिक आइल्याण्ड फिचर रहेको छ । जसले गर्दा नचको आकार विस्थापित भएर सानो (पिल) आकारमा सीमित भएको छ । यसमा रहेको डाइनामिक आईल्याण्डमा नोटिफिकेसन, म्याजिक, स्क्रिन रेकर्ड, टाइमर आदि देखिन्छ ।

आईफोन फोर्टिन कति ठूलो छ ?

हामीले हाम्रो सानो गोजीमा थुप्रै कुरा बोक्नु परिरहेको हुन्छ । त्यसैले पनि फोनको भौतिक आकार कति ठूलो छ भन्ने कुरा महत्त्वपूर्ण हुने गर्छ । आईफोन फोर्टिन र आईफोन फोर्टिन प्रोको आकार लगभग उस्तै छ ।

आईफोन फोर्टिनको आकार ५.७८x२.८२x०.३१ इन्च रहेको छ भने आईफोन फोर्टिन प्रोको आकार ५.८१x२.८१x०.३१ इन्च रहेको छ । त्यस्तै आईफोन फोर्टिन प्लसको आकार ६.३३x३.०७x०.३१ इन्च छ भने आईफोन फोर्टिन प्रो म्याक्सको आकार ६.३३x३.०५x०.३१ इन्च रहेको छ ।

आईफोन थर्टिन सिरिज र आईफोन फोर्टिन सिरिजको आकारमा कुनै भिन्नता नरहेको कम्पनीको भनाई छ । यद्यपि कम्पनीले आईफोन थर्टिन मिनीको ठाउँमा आईफोन फोर्टिन प्लस ल्याएको छ । जसको आकार करिब आईफोन फोर्टिन प्रो म्याक्ससँग मिल्दोजुल्दो लाग्छ ।

आईफोन फोर्टिन र आईफोन फोर्टिन प्रोको क्यामेरामा कति छ भिन्नता ?

आईफोनको सबैभन्दा आकर्षक पक्ष भनेकै त्यसको क्यामेरा हो । क्यामेराको तुलना गर्ने हो भने सबैभन्दा पहिला कुन सिरिजमा कति ओटा क्यामेरा समावेश छन् भन्ने कुरा आउँछ । आईफोन फोर्टिन र आईफोन फोर्टिन प्लसमा दुई ओटा १२ मेगापिक्सेलको वाइड र अल्ट्रावाइड क्यामेरा समावेश छन् ।

त्यसैगरी आईफोन फोर्टिन को प्रो र प्रो म्याक्स मोडेलमा तीन ओटा क्यामेरा दिइएको छ । यसमा क्वाड पिक्सेल प्रविधिको ४८ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ भने १२ मेगापिक्सेलको अल्ट्रावाइड र १२ मेगापिक्सेलको टेलिफोटो क्यामेरा राखिएको छ ।

एप्पलले प्रो मोडेलको क्यामेरामा आईफोन थर्टिनको तुलनामा तीन प्रमुख सुधार पाउन सकिन्छ । एप्पलले अल्ट्रा-वाइड क्यामेरामा लो-लाइट पर्फमेन्स, मुख्य र टेलिफोटो क्यामेराको लो-लाइट पर्फमेन्समा दुई गुणा बढी सुधार गरिएको उल्लेख छ । 

ब्याट्री कुन मोडेलमा कस्तो छ ?

कुनै पनि फोन खरिद गर्ने आधार त्यसको ब्याट्री पनि हुने गर्छ । कम्पनीले हालसम्म कुन मोडेलमा कति क्षमताको ब्याट्री रहेको छ भन्ने कुरा सार्वजनिक गरेको छैन । यद्यपि कुन मोडेलको ब्याट्री कुन कार्यका लागि कति समयसम्म टिक्छ भन्ने कुरा भने बाहिरिएको छ ।

कम्पनीका अनुसार आईफोन फोर्टिन प्रो मोडेलमा भिडिओ प्लेब्याक २३ घण्टादेखि २९ घण्टासम्म रहेको बताइएको छ । त्यसैगरी आईफोन फोर्टिन र आईफोन फोर्टिन प्लसको भिडिओ प्लेब्याल २० देखि २६ घण्टासम्म रहेको अपेक्षा गरिएको छ ।

विभिन्न मोडेलमा भएको चिपको भिन्नता?

आईफोन फोर्टिनको प्रो मोडेल र आधारभूत मोडेलमा भएको सबैभन्दा ठूलो भिन्नता त्यसमा प्रयोग भएको चिप हो । आईफोन फोर्टिन प्रो र आईफोन फोर्टिन प्रो म्याक्समा एप्पलको बायोनिक ए१६ चिप रहेको छ भने आईफोन फोर्टिन र आईफोन फोर्टिन प्लसमा आईफोन थर्टिन सिरिजमा प्रयोग गरिएको बायोनिक ए१५ चिप दिइएको छ ।

आईफोन फोर्टिन प्रो मोडेल र आईफोन फोर्टिनको आधारभूत मोडेलमा के छ भिन्नता ?

एप्पलले आईफोनको नयाँ सिरिजमा थुप्रै नयाँ फिचर समावेश गरेको जनाएको छ । जसमा विशेषगरी इमर्जेन्सी एसओएस भाय स्याटलाइट फिचर रहेको छ । यो फिचर आईफोन फोर्टिन सिरिजका हरेक मोडेलमा उपलब्ध रहेको छ ।

एप्पलले यो फिचर दुई वर्षसम्मका लागि हरेक प्रयोगकर्तालाई निःशुल्क उपलब्ध गराउने बताएको छ । त्यसैगरी हरेक मोडेलमा ई-सिमको फिचर पनि दिइएको छ । यो पक्षमा भने आईफोन फोर्टिनको आधारभूत मोडेल र प्रो मोडेलमा कुनै भिन्नता छैन ।

आईफोन फोर्टिनको कुन मोडेल तपाईँका लागि उपयुक्त ?

माथि उल्लेखित विभिन्न फिचर हेरेर तपाईँले आफ्नो बजेट, आवश्यकता अनुसार कुन मोडेल उपयुक्त हुन्छ भन्ने कुरा निर्धारण गर्न सक्नुहुन्छ । त्यसका लागि तपाईँले सबैभन्दा पहिले आफ्नो आवश्यकता के हो भन्ने कुरा यकिन गरेर आफूलाई उपयुक्त हुने मोडेल छान्नुपर्ने हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४