close

कतै तपाईँसँग भएको वा बजारबाट खरिद गर्न चाहेको मोबाइल अवैध त होइन ? थाहा पाउन यसो गर्नुहोस

टेकपाना टेकपाना

भदौ ३०, २०७९ १०:४४

कतै तपाईँसँग भएको वा बजारबाट खरिद गर्न चाहेको मोबाइल अवैध त होइन ? थाहा पाउन यसो गर्नुहोस

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नेपालभित्र अवैध मोबाइल नचल्ने गरी बिहीबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट (एमडीएमएस) प्रणाली लागू गरेको छ । यससँगै आज उपरान्त अर्थात २० भदौ २०७९ पश्चात एमडीएमएसमा दर्ता नभएका मोबाइल नेपालभित्र चल्नै छैनन् ।

यस्तोमा तपाईँसँग रहेको मोबाइल दर्ता छ कि छैन ? अथवा तपाईँले बजारमा खरिद गर्न चाहेको मोबाइल वैधानिक हो कि अवैध बाटोबाट भित्र्याइएको हो ? यस्तो अवस्थामा त्यो विषय कसरी थाहा पाउने भन्ने जिज्ञासा तपाईँमा हुनु स्वभाविकै हो ।

आज हामी तपाईँलाई तपाईँसँग भएको वा बजारबाट तपाईँले किन्न चाहेको मोबाइल अवैध हो वा होइन भन्ने विषय कसरी थाहा पाउने भन्ने विषयमा टिप्स दिँदैछौँ । यसका लागि सबैभन्दा पहिला तपाईँले थाहा पाउन खोजेको मोबाइलको आईएमईआई हेर्नुपर्ने हुन्छ ।

सिम कार्ड प्रयोग हुने हरेक उपकरणमा १५ अङ्कको आईएमईआई रहेको हुन्छ । जुन एक अर्कासँग मेल खाँदैन । एक किसिमले आईएमईआई नम्बर सिमकार्ड लाग्ने कुनै पनि उपकरणको परिचय हो ।

तपाईँले आफ्नो मोबाइलमा *#06# डायल गरी त्यसको आईएमईआई नम्बर पत्ता लगाउन सक्नुहुन्छ । तर बजारमा भएको नयाँ मोबाइलको आईएमईआई नम्बरका लागि के गर्ने त ?

चिन्ता नलिनुहोस्, हरेक नयाँ मोबाइल सेटको बक्समा आईएमईआई नम्बर दिइएको हुन्छ । अब आईएमईआई नम्बर पत्ता लगाइसकेपछि यहाँ क्लिक गर्नुहोस् र त्यसलाई भित्रको खाली बक्समा राखेर निलो रङ्गको बटनमा थिच्नुहोस् ।

यति गरेसँगै उक्त मोबाइल प्राधिकरणको एमडीएमएसमा दर्ता रहेनरहेको तथा प्रयोगमा आएनआएको जानकारी थाहा पाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४