close

मेटाभर्स के अबको भविष्य हो ? यस्ता छन् मेटाभर्ससँग जोडिएका १० ठूला विवाद

टेकपाना टेकपाना

असोज २३, २०७९ १५:२६

मेटाभर्स के अबको भविष्य हो ? यस्ता छन् मेटाभर्ससँग जोडिएका १० ठूला विवाद

काठमाडौं । प्रविधिको संसारमा अहिले निकै नै चर्चामा रहेको विषय हो 'मेटाभर्स' । मेटाभर्सको विषयमा चर्चासँगै लगानी पनि बढिरहेको छ । ठूला ठूला कम्पनीहरू मेटाभर्समा लगानी गरिरहेका छन् । तीमध्ये मेटाभर्सका लागि निकै चर्चामा रहेको कम्पनीको नाम हो, मेटा ।

फेसबुकबाट रिब्रान्ड गरी मेटा नाम दिइएको यो कम्पनीमाथि धेरै मानिसहरूको आशा जोडिएको छ । यद्यपि केही भने मेटाभर्स मानिसहरूको लागि अर्को एउटा टाउको दुःखाई मात्र बन्ने तर्क पनि दिइरहेका छन् । यस्तोमा मेटाभर्ससँग जोडिएका १० ठूला विवाद वा भनौं मानिसहरूको १० ठूला चिन्ताहरू यहाँ उल्लेख गरिएको छ । 

 

१. डेटा र गोपनीयताको लागि मेटाभर्स उपयुक्त छैन  

प्रविधिको क्षेत्रमा अग्रपंक्तिमा रहन फेसबुकले आफ्नो ब्रान्डिङलाई मेटामा परिवर्तन गर्ने घोषणा गरेदेखि नै उपभोक्ता तथा आलोचकहरूबीच डेटा र गोपनीयताको विषयलाई लिएर चिन्ता व्यक्त हुन सुरु भएको थियो । डेटा र गोपनीयताको विषयमा कमजोर छवि भएको कम्पनीले यति ठूलो क्षेत्रमा कसरी काम गर्न सक्छ भन्ने आलोचकहरूको चिन्ता हो ।

यसले भोलिको दिनमा डेटा र गोपनीयतालाई लिएर ठूलो घटना घट्नसक्ने पनि उनीहरूको तर्क छ । हुन त कम्पनीले यो विषयलाई लिएर आफूहरू सर्तक रहेको र डेटा सुरक्षामा उपभोक्तालाई ढुक्क रहन आग्रह गर्दै आएको छ । 

 

२. मानिसहरू लामो समयसम्म भीआर प्रयोग गर्न चाहदैनन् 

भीआर प्रविधि मेटाभर्सको मुख्य आवश्यकता हो । तर भोलिको दिनमा मेटाभर्स नै भविष्य हो भनिरहँदा एकजना मानिसले कति समयसम्म भीआर प्रयोग गर्न सक्छ भन्ने पनि प्रश्न उठ्न थालेको छ । भीआरको प्रयोग लामो समयसम्म गर्दाका बेफाइदाका विषयहरू पनि उठेका छन् ।

केहीले लामो समयसम्म भीआर प्रयोग गर्दा रिंगटा लाग्ने जस्ता समस्याहरू हुन सक्ने पनि बताएका छन् । भीआर हेडसेटहरू जति नै सहज बनाइए पनि वास्तविक जीवनभन्दा सुन्दर नहुने तर्क पनि गर्ने गरेको पाइन्छ । 

 

३. प्रविधिको विकास 

केहीको तर्क भने मेटाभर्स अहिले पनि पहिलो चरणमा नै रहेको र यसका लागि आवश्यक प्रविधिको विकास अझै पनि भइनसकेको भन्नेमा छ । अहिले पनि मेटाभर्स र भीआरको प्रशंसकहरू थुप्रै छन् तर मेटाभर्स विकास गर्नको लागि उपयुक्त प्रविधिको विकास हुन अझै बाँकी रहेको केही सरोकारवालाहरूको तर्क छ ।

अहिले नै मेटाभर्सको लोकप्रियतालाई धेरै आशावादी भएकाहरूको लागि भने यो नराम्रो खबर हुनसक्छ । तर वास्तवमा मेटाभर्स सामान्य जीवनको अभिन्न अंग बन्न भने प्रविधिले लामो यात्रा तय गर्नुपर्ने उनीहरूको भनाई छ । 

 

४. अनलाइन सञ्चारबाट मानिस आजित भइसके 

अनलाइन माध्यमले हाम्रो सञ्चार शैलीलाई परिवर्तन गरिदिएको छ । कोरोना महामारीको समयमा घरमै बसेर काम गर्ने तथा जुमको बढ्दो प्रयोगले मेटाभर्सको अवधारणालाई थप टेवा पुर्‍याएको छ । यद्यपि लकडाउनको समयमा पूरै दिन भर्चुअल संसारमा अभ्यस्त भएका मानिसहरू लकडाउन पछि वास्तविक दुनियाँमा धेरै रमाएका छन् ।

मानिसहरू अनलाइन मार्फत हुने सञ्चारबाट आजित भइसकेका छन् । यसले गर्दा पनि भोलिको दिनमा मेटाभर्सले मानिसलाई आकर्षित नगर्न पनि सक्छ । 

५. मार्केटिङ टुलको रुपमा प्रयोग भइरहेको मेटाभर्स 

मेटाभर्सको क्षमता अन्य धेरै हुनसक्छ, तर यसको अर्थ यो होइन कि ठूला कम्पनीहरू प्रविधिलाई विश्वास गरेर मेटाभर्सलाई सपोर्ट गरिरहेका छन् । अहिले धेरै कम्पनीहरूले आफ्नो कम्पनीको मार्केटिङ रणनीतिको रूपमा मेटाभर्सको प्रयोग गरिरहेका छन् । 

उनीहरूले मेटालाई आफ्नो कम्पनीको प्रचार तथा बजारीकरणको रुपमा प्रयोग गरिरहेका छन् । कम्पनी प्रविधिमा अगाडि छ भनेर देखाउनको लागि उनीहरू मेटाभर्स प्रयोग गरिरहेका छन् । यसले गर्दा यसको प्रयोग र विश्वसनीयता माथि पनि धेरै विवाद चलिरहेको छ । 

६. मानिसलाई भर्चुअल संसार मन नपर्न सक्छ 

वास्तविक संसार भन्दा पनि धेरै पक्षबाट उत्कृष्ट हुने मेटाभर्सको लक्ष्य हो । यस्तो सुविधाहरूको कारण मानिसहरू वास्तविक दुनियाँभन्दा मेटाभर्सको दुनियाँमा रमाउनेछन् भन्ने कम्पनीको विश्वास पनि छ । यद्यपि, यसमा एउटा प्रमुख समस्या हुन सक्छ जुन प्रविधिका समर्थकहरूले अझै सम्बोधन गरेका छैनन्।

गेमिङ र भर्चुअल संसार केही समयको लागि वास्तविक दुनियाँबाट टाढा रहनको लागि प्रयोग हुन सक्ला तर सधैभरीको लागि भने यसो नहुने केही विज्ञहरू बताउँछन् ।

मेटाभर्सलाई वास्तविक दुनियाँ जस्तै बनाउनेतिर लाग्दा यसले भर्चुअल संसारको मर्म अनुरुप काम गर्न सकेन भने मानिसहरू फेरी वास्तविक दुनियाँमा नै फर्कनेछन् । 

 

७. यसको प्रयोग मानिसहरूले सोचेकोभन्दा धेरै कमजोर हुनसक्छ 

मेटाभर्सले सबैले कसरी सिक्ने र काम गर्ने जस्ता चीजहरूलाई परिवर्तन गर्ने बताइएको छ । यसमा हाल उपलब्ध भीआर गेमहरू तथा अन्य भीआर अनुभवहरूले पनि यो भनाईलाई उद्धत गरेको छ । तर केहीले भने मेटाभर्सको वास्तविकता मानिसहरूले सोचेभन्दा धेरै कमजोर हुने तर्क गर्छन् ।

भोलिको दिनमा मेटाभर्स हाम्रो दैनिकी भएको खण्डमा यो पनि एउटा तस्वीर र हाम्रो सोसल स्टाटसमा मात्र सीमित हुने उनीहरूको भनाइ छ । मेटाभर्सको हालको स्थिति हेरेर वास्तवमा आउने दिनमा यो कस्तो हुनेछ भन्ने विषयमा कुनै अनुमान पनि गर्न नसकिने केहीको भनाई छ । 

 

८. मेटाभर्स एउटा कुलतको रुपमा आउनसक्छ 

मेटाभर्सको बारेमा धेरै मानिसहरूले औंल्याएका एउटा कुरा भनेको प्रयोगकर्ताले लामो समयसम्म समय बिताउने भर्चुअल संसारको अवधारणा हो । तर यो कुरा कुनै नयाँ कुरा होइन । जो पहिलेदेखि नै अनलाइन संसारमा अभ्यस्त छन् उनको लागि यो कुरा नौलो हुनसक्दैन ।

तर यही सेवा भोलिको दिनमा एउटा कुलतको रुपमा पनि विकास हुनसक्छ । जसरी अहिले अनलाइन गेमिङहरूको लत लागिरहेको छ भोलि मेटाभर्स पनि एउटा लत बन्नसक्छ । 

 

९. ठूला कम्पनीको व्यावसायिक स्वार्थ 

केहीले मेटाभर्स सामान्य मानिसको जीवनशैलीभन्दा पनि ठूला ठूला कम्पनीहरू अथवा व्यापारिक घरनाहरूको व्यावसायिक स्वार्थ अनुरुप चलेको तर्क दिएका छन् । कम्पनीहरूले यसप्रति चासो देखाउनु वा लगानी गर्नु उनीहरूको स्वार्थको कुरा मात्र भएको र यसले सामान्य मानिसलाई कुनै आकर्षण नगर्ने पनि केही बताउँछन् ।

१०. मेटाभर्सलाई विकास गर्नसक्ने मेटाको क्षमता 

मेटाभर्सको विकासमा सबैभन्दा धेरै चर्चामा रहने विषय भनेको नै मेटाको क्षमता हो । मार्क जुकरबर्गले कुनै जुवामा भाग्यलाई विश्वास गर्दै ठूलो रकम हाले जस्तै, भविष्यको प्रविधि मेटाभर्स नै अबको भविष्य हो भनेर आफ्नो सारा लगानी यसमा लगाइरहेका छन् । तर बिना नाफाको यो लगानी कहिलेसम्म भन्ने प्रश्न पनि उठिरहेका छन् ।

केहीले भने मेटाभर्सले जुकरबर्गलाई राम्रो प्रतिफल दिने विश्वास गरेका छन् भने केहीले भने मेटाले यसमा लगानी गर्न सक्ला कि नसक्ला भन्ने कुरामा प्रश्न उठाएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २४, २०७९ १३:५२