close

खुट्टासहित मार्क जुकरबर्गको नयाँ भर्चुअल रियालिटी अवतार सार्वजनिक

टेकपाना टेकपाना

असोज २६, २०७९ १३:५९

खुट्टासहित मार्क जुकरबर्गको नयाँ भर्चुअल रियालिटी अवतार सार्वजनिक

काठमाडौं । मंगलबार आयोजना गरिएको मेटा कनेक्ट कार्यक्रममा मार्क जुकरबर्गले आफ्नो नयाँ अवतार सार्वजनिक गरेका छन् । मेटाभर्सको संसारमा फेसबुकका संस्थापक जुकरबर्गले गरेको यो पहिलो औपचारिक सम्मेलन हो ।

यस सम्मेलनमा जुकरबर्गले अवतारको नयाँ अपडेट घोषणा गरेका छन् । जुन यस वर्षको अन्ततिर फोन तथा भर्चुअल रियालिटी हेटसेटमा सार्वजनिक हुने बताइएकाे छ । उनले घोषणा गरेको आफ्नो नयाँ अवतारलाई आज भएका अन्य कुनै पनि कुराभन्दा बढी विस्तृत र एक्सप्रेसिभ भएको दाबी गरेका छन् ।

जुकरबर्गले घोषणा गरेको नयाँ अवतारमा खुट्टा हुनेछन्, जसलाई उनले सबैभन्दा बढी आग्रह गरिएको फिचरका रूपमा परिभाषित गरेका छन् । यस पहिले मेटाभर्सको अवतारमा खुट्टा समावेश गरिएको थिएन । किनभने त्यस समयमा भर्चुअल रियालिटीमा सटिक तरिकाले शरीरका विभिन्न भाग जस्तै; खुट्टा सटिक तरिकाले मिलाउन नसकिने उनकाे भनाइ छ ।

"वास्तवमा भन्नुपर्दा अवतारमा खुट्टा समावेश गर्ने काम गाह्रो हो । यही कारण अन्य भर्चुअल रियालिटी सिस्टममा यी कुरा समावेश गरिएको हुँदैन," उनले भने ।

जुकरबर्गले केही महिनाअघि इन्स्टाग्राममा पोस्ट गरेको अवतारको धेरै मजाकको सामना गर्नुपरेको थियो । आइफिल टावर अघि उभिएको मार्क जुकरबर्गको अवतारलाई लिएर थुप्रै प्रयोगकर्ताले सन् १९९० को दशकमा प्रयोग हुने भिडिओ गेमको ग्राफिक्स जस्तो भएको भन्दै आलोचना गरेका थिए । 

विभिन्न आलोचनापछि जुकरबर्गले उक्त तस्वीर आधारभूत तस्वीर रहेको प्रतिक्रिया दिएका थिए । कार्यक्रममा जुकरबर्गले नयाँ अवतार जुमसँगको सहकार्यमा एप्पल तथा एन्ड्रोइड डिभाइसमा उपलब्ध हुने घोषणा गरेका छन् ।

उक्त कार्यक्रममा मेटाले १४९९ डलर (करिब एक लाख ९७ हजार ८२० रुपैयाँ) पर्ने क्वेस्ट प्रो भर्चुअल रियालिटी हेडसेट पनि सार्वजनिक गरेको छ । त्यस्तै मेटाले विभिन्न कम्पनीहरू जस्तै; माइक्रोसफ्ट, एनबीसी युनिभर्सलसँग सहकार्य गर्ने घोषणा गरेको छ ।

माइक्रोसफ्टसँग मेटाको सहकार्यले प्रयोगकर्ताले मेटाभर्समा वर्ड तथा एक्सलजस्ता टुलहरू प्रयोग गर्नसक्ने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २७, २०७९ १३:५