close

ट्वीटर किनेसँगै एलन मस्क बने सर्वाधिक फलोअर भएका तेस्रो व्यक्ति, अब पहिलो र दोस्रोमा कोको छन् बाँकी ?

टेकपाना टेकपाना

कात्तिक १३, २०७९ १८:११

ट्वीटर किनेसँगै एलन मस्क बने सर्वाधिक फलोअर भएका तेस्रो व्यक्ति, अब पहिलो र दोस्रोमा कोको छन् बाँकी ?

काठमाडौं । ट्वीटर खरिदको विषयले चर्चा पाएपछि एलन मस्कका फलोअर पनि बढेका छन् । लामो समयसम्मको विवादमा रहेको ट्वीटर खरिद सम्झौताले बिहीबार पूर्णता पाएको थियो ।

४४ अर्ब डलरमा ट्वीटर खरिद गर्ने सम्झौतासँगै ट्वीटर एलन मस्कको निजी कम्पनी बनेको छ । गत असारमा १० करोड फलोअर पार गरेका मस्कले छोटो समयमै ११ करोडको आँकडा पार गरेका हुन् ।

यससँगै एलन मस्क सर्वाधिक फलोअर हुनेहरूमध्ये तेस्रो स्थानमा उक्लिएका छन् । १० करोडमाथि फलोअर हुने छ ओटा ट्वीटर अकाउन्टमध्ये १३ करोड ३४ लाख फलोअरका साथ बाराक ओबामा शीर्ष स्थानमा छन् ।

उनी अमेरिकाका ४४ औँ राष्ट्रपति हुन् । त्यस्तै ११ करोड ३८ लाख फलोअरका साथ क्यानडाका पप गायक जस्टिन बिबर दोस्रो स्थानमा छन् । तर जस्टिन बिबरका फलोअर पछिल्लो समय घटिरहेका छन् ।

तेस्रो स्थानमा ११ करोड २० लाख फलोअरका साथ ट्वीटरका नयाँ मालिक तथा टेस्ला र स्पेस एक्सका कार्यकारी अधिकृत एलन मस्क रहेका छन् ।

यसैगरी १० करोड ८० लाख फलोअर रहेका अमेरिकाकी गायिका क्याट्टी पेर्री चौथौ स्थानमा रहेकी छन् ।

भने पाचौँ स्थानमा बार्बाडोसकी गायिका रिहन्ना छन् । उनको ट्वीटर अकाउन्टलाई १० करोड ६८ लाख प्रयोगकर्ताले फलो गरेका छन् ।

छैटौँ स्थानमा स्थानमा रहेका छन्, चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो । उनको ट्वीटर अकाउन्टमा १० करोड ४२ लाख फलोअर छन् ।

पछिल्लो समय १० करोडभन्दा बढी  फलोअर भएका सेलिब्रेटी मध्ये बाराक ओबामा, एलन मस्क र रोनाल्डोका मात्र फलोअर बढेको पाइन्छ । १० करोड माथि फलोअर हुने अन्य सेलिब्रेटीका फलोअर भने घटिरहेका छन् ।

विश्लेषकहरूले अबको केही दिनमा मस्कले जस्टिन बिबरलाई पनि पछि पार्ने आँकलन गरेका छन् । त्यस्तै इन्टरनेटमा केही प्रयोगकर्ताले एलन मस्कका आधाभन्दा बढी फलोअर नक्कली भएको समेत दाबी गरेका छन् ।

मस्क सबैभन्दा बढी सक्रिय हुने माध्यम नै ट्वीटर भएकाले र पछिल्लो समय उनको चर्चा दिनानुदिन बढ्नुले फलोअर बढेको केही प्रयोगकर्ताको बुझाई छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०७९ १८:१२