close

आईफोन १५ मा के के होलान् फिचर ?

टेकपाना टेकपाना

कात्तिक १५, २०७९ २०:५३

आईफोन १५ मा के के होलान् फिचर ?

काठमाडौं । आईफोन १४ सिरिज सार्वजनिक भएको दुई महिना नपुग्दै आईफोनको नयाँ सिरिजका फिचर बाहिरिन थालेका छन् । सम्भवतः आईफोन १५ नाम हुनसक्ने नयाँ सिरिजमा टाइप-सी पोर्ट समावेश हुने चर्चा छ ।

त्यस्तै नयाँ सिरिजका सम्पूर्ण मोडेलमा आईफोन १४ मा लोकप्रिय मानिएको डाइनामिक आइल्याण्ड हुने अपेक्षा छ । आज हामीले बाहिरिएका विभिन्न जानकारीलाई आधार बनाउँदै नयाँ सिरिजमा आउनसक्ने सम्भावित फिचरबारे चर्चा गरेका छौँ । 

आईफोन १५ र १५ प्लसका फिचरहरू

स्क्रिन साइज

आईफोन १३ मिनिलाई विस्थापित गर्दै आईफोन १४ मा प्लस मोडेल परिचित गराइएको थियो, जसमा ५.४ इन्चको स्क्रिन साइज बढाएर ६.७ इन्च कायम गरियो ।

आईफोन १४ प्लसलाई नयाँ साइज तथा फिचरहरू दिइए पनि अपेक्षित व्यापार भने हुन सकेको छैन । यसलाई पूर्णता दिँदै कम्पनीले आईफोन १५ मा ६.१ इन्च डिस्प्ले र आईफोन १५ प्लसमा ६.७ इन्च डिस्प्ले उपलब्ध गराउने भएको छ ।

डिस्प्ले फिचरहरू

आईफोन १५ मा हुनसक्ने सबैभन्दा महत्त्वपूर्ण परिवर्तनमध्येको एक हो, सबै मोडेलमा डाइनामिक आइल्याण्ड । एप्पलले स्टान्डर्ड सिरिज र प्लस वा मिनी सिरिजमा खासै धेरै बदलाव ल्याउँदैन । नयाँ सिरिजका बेस मोडेमा भने आईफोन १४ प्रोको जस्तो नच हटेर डाइनामिक आइल्याण्ड समावेश हुनेछ ।

आईफोन १५ र आईफोन १५ प्लसले डाइनामिक आइल्याण्ड पाए पनि आईफोन १५ प्रो र प्रो म्याक्स जस्तो फिचर पाउन नसक्ने आशंका गरिएको छ ।

नयाँ सिरिजको बेस मोडेलमा प्रयोग हुने प्रोमोसन डिस्प्ले प्रविधिले गर्दा त्यसमा १ हर्जदेखि १२० हर्जसम्मको रिफ्रेश रेट हुनेछ । तर, आईफोन १५ को बेस मोडेलमा भने अलवेज-अन डिस्प्लेको विकल्प नरहने बताइएको छ ।

 यूएसबी-सी

आईफोनको नयाँ सिरिजमा आउने सबैभन्दा प्रमुख परिवर्तनमध्येको अर्को फिचर हो, टाइप-सी पोर्ट सपोर्ट । एप्पलले युरोपेली संघको नीति मान्दै नयाँ सिरिजमा टाइप-सी पोर्ट समावेश गर्ने घोषणा गरेको छ ।

यसको अर्थ अब आउने नयाँ सिरिज अर्थात आईफोन १५ र आईफोन १५ प्लसमा टाइप-सी पोर्ट समावेश हुनेछ ।

क्यामेरा

बाहिरिएका जानकारीमा बेस मोडेलमा हुनसक्ने क्यामेरा अपडेटका बारेमा स्पष्ट रूपमा उल्लेख गरिएको छैन । आईफोन १४ मा भने कम्पनीले आकर्षक फोटोका लागि फोटोनिक इन्जिन समावेश गरेकाे थियो । आईफोन १५ मा पनि क्यामेरा अपग्रेड हुनसक्ने विश्लेषकले जनाएका छन् ।

पर्फर्मेन्स

आईफोन १५ र आईफोन १५ प्लसमा ए१६ बायोनिक चिप प्रयोग हुने भएको छ । ए१६ बायोनिक चिप आईफोन १४ प्रो र प्रो म्याक्स मोडेलमा प्रयोग भएको चिप हो । कम्पनीले हरेक पटक पुरानो प्रो मोडेको प्रोसेसर नयाँ सिरिजको बेस मोडेलमा समावेश गर्ने गर्छ ।

उदाहरणका लागि आईफोन १४ को बेस मोडेलमा ए१५ बायोनिक चिप प्रयोग भएको थियो । तर, आईफोन १४ को प्रो र प्रो म्याक्स मोडेलमा भने ए१६ बायोनिक चिप समावेश छ । त्यस्तै आईफोन १४ को प्रो मोडेलमा प्रयोग भएको प्रोसेस आईफोन १५ को बेस मोडेलमा प्रयोग हुँदैछ ।

आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स

स्क्रिन साइज र डिस्प्ले फिचर

त्यसो भए आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्समा के कस्ता फिचरहरू होलान् त ?

एप्पलले हरेक पटक आईफोनको प्रो मोडेलका लागि नयाँ फिचर उपलब्ध गराउने गर्छ । आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्सका लागि कम्पनीले आईफोन १४ को प्रो मोडेल जस्तै डिस्प्ले उपलब्ध गराउनेछ ।

यसको स्क्रिन साइज र डिस्प्ले प्रविधिमा केही परिवर्तन गरेपनि कम्पनीले अन्य फिचरहरू भने समान रहनेछन् ।

आईफोन १५ को प्रो मोडेलमा भने एप्पलले क्लिकी भोल्युम र पावर बटन विस्थापित गरेर स्वलिड स्टेट बटन समावेश गर्नेछ, जसको अर्थ अहिले जस्तो बटन थिचिरहन पर्दैन । टच गर्नासाथ उक्त भोल्युम तथा पावर बटनले काम गर्नेछ ।

यूएसबी-सी

यूएसबी-सी पोर्ट अब आउने आईफोनका हरेक मोडेलमा उपलब्ध हुने अपेक्षा गरिएको छ । आईफोनको नयाँ सिरिजमा प्रयोग हुने टाइप-सी पोर्टको डेटा ट्रान्सफर स्पिड वा चार्जिङ स्पीड कति रहने भन्ने कुराको विवरण आउन बाँकी नै छ ।

क्यामेरा

बाहिरिएका विभिन्न रिपोर्टलाई आधार मान्ने हो भने आईफोन १५ को प्रो मोडेलमा ८पी (एट प्लास्टिक लेन्सेस) हुने बताइएको छ । ८ पीले विशेषतः लेन्समा प्रयोग भएका तत्वलाई जनाउने गर्छ । क्यामेरा लेन्समा भएका कमीकमजोरी हटाउनका लागि निर्माताले हरेक समय नयाँ नयाँ इलिमेन्ट थप गर्ने गर्छन् ।

आईफोन १५ मा भने पहिलो पटक नयाँ पेरिस्कोप लेन्स प्रयोग हुने अपेक्षा गरिएको छ । पेरिस्कोप लेन्स प्रिज्ममा निर्भर हुने गर्छ जसले बाहिरको प्रकाशलाई मल्टिपल इन्टर्नल लेन्समा ९० डिग्रीको कोणमा रिफ्लेक्ट गर्छ । आईफोन १४ प्रोमा मोडेलमा भएको टेलिफोटो लेन्सले थ्रीएक्स अप्टिकल जुम र १५ एक्स डिजिटल जुम उपलब्ध गराउँछ ।

पर्फर्मेन्स

आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्समा एप्पलको पावरफुल एप्पल सिलिकन चिप प्रयोग हुनेछ । अघिल्लो वर्ष एप्पललाई थ्री एनएम प्रोसेस प्रयोग गर्ने पहिलो कम्पनी हुनसक्ने बताइएको थियो ।

यसअन्तर्गत कम्पनीले नयाँ स्मार्टफोनमा थ्री एनएम प्रोसेसका चिप प्रयोग हुने अपेक्षा गरिएको थियो । आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा बायोनिक ए१६ चिप प्रयोग भएको छ, जसको प्रोसेसिङ फोर एनएम भको बताइएको छ ।

आईफोन १५ को प्रो र प्रो म्याक्स मोडेलमा भने ए१७ बायोनिक चिप प्रयोग हुने अपेक्षा गरिएको छ । यो प्रोसेसर थ्री एनएम प्रोसेसरमा आधारित छ । जति प्रोसेसर साइज घट्दै जान्छ, पर्फर्मेन्स त्यति नै बढ्दै जान्छ ।

नयाँ डिभाइसको नामको रणनीति

एप्पल त्यस्तो कम्पनी हो, जसले हरेक नयाँ उत्पादनमा एउटा नयाँ नाम समावेश गरेको हुन्छ । कम्पनीले आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्सलाई फरक बनाउने अपेक्षा गरिएको छ । आईफोन १५ प्रो म्याक्सलाई कम्पनीले आईफोन १५ अल्ट्रा नाम दिने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०७९ ८:३२