काठमाडाैं । साेमबारदेखि फिलिपिन्समा सुरू भएकाे ‘स्टेट अप द म्याप एसिया २०२२’ प्रतिस्पर्धामा नेपाली टिमकाे प्रतिनिधित्व गर्दै विद्यार्थी समूह 'ओम्निकल' सहभागी भएकाे छ । ‘ओपन म्यापिङ हब’काे आयाेजनामा मंसिर ९ गतेसम्म हुने कार्यक्रममा ‘ओपन स्ट्रिट म्याप’का बारेमा डेभलपर टिमबीच प्रतिस्पर्धा हुने जनाइएकाे छ ।
गत जुन २० देखि २४ सम्म काठमाडौंको पार्क भिलेज रिसोर्टमा भएकाे 'ह्याकफेस्ट'मा सहभागी ४० समूहमध्येबाट विजयी हुँदै 'ओम्निकल' एसियाली स्पर्धाका लागि छनाेट भएकाे थियाे ।
सार्वजनिक यातायातलाई सहज बनाउने विषयवस्तुमा केन्द्रित परियोजनाको प्रस्तुति दिएर विजेता बनेकाे 'ओम्निकल'ले फिलिपिन्समा पनि यही विषय अगाडि सार्ने साे समूहका एक सदस्य डेभलपर निर्माण खड्काले बताए ।
यो टिममा खड्कासहित असिम भद्र, प्रकाश घिमिरे र पवन विष्ट छन् । त्यस्तै दुई विज्ञहरु जियोमेटिक्स इन्जिनियर गौरव पराजुली र रवि श्रेष्ठ पनि याे टिममा रहेका छन् ।
एसियाली कार्यक्रममा पनि उत्कृष्ट हुन सके यो टिम विश्वस्तरीय प्रतिस्पर्धामा सहभागी हुन पाउने छ ।