close

एनसेलले सुरु गर्‍यो ई-सिम, निःशुल्क लिन सकिने

टेकपाना टेकपाना

मंसिर ९, २०७९ १७:२३

एनसेलले सुरु गर्‍यो ई-सिम, निःशुल्क लिन सकिने

काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले ई-सिम वितरण गर्न थालेको छ । शुक्रबारदेखि याे सेवाकाे थालनी भएकाे जानकारी दिँदै कम्पनीले ई-सिमको प्रयोगमार्फत फाइदा लिन ग्राहकलाई अनुरोध गरेको छ ।

ई-सिम अर्थात् इम्बेडेड सिम हाल प्रयोग भइरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो । यो सिम ई-सिम सपोर्ट गर्ने मोबाइल वा उपकरणभित्र सानो चिपमा हुन्छ र यसबाटै दूरसञ्चार सेवा लिन सकिन्छ । यो भौतिक रुपमा प्रयोग हुने सिमभन्दा सुरक्षित मानिन्छ र केही गरी आफ्नो मोबाइल हराएमा वा चोरी भएमा पनि ई-सिम सो मोबाइलबाट झिक्न वा हटाउन मिल्दैन ।

एनसेलका ग्राहकले एसएमएसमार्फत अनुरोध पठाई सजिलै आफ्नो हाल प्रयोग भइरहेको सिम ई-सिममा अपग्रेड गर्नसक्ने कम्पनीले जनाएकाे छ । यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, ईमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनुपर्छ ।

ई-सिम लिनुअघि ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्छन् । यो एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै शुल्क लाग्नेछैन । ग्राहकले आफूलाई पायक पर्ने नजिकैको एनसेल सेन्टरबाट पनि आफ्नो सिम ई-सिममा अपग्रेड गर्न सक्छन् ।

नयाँ ग्राहकले पनि कुनै पनि एनसेल सेन्टरबाट आफूले चाहेको 'स्टार्टर प्याक'का साथ आवश्यक प्रक्रिया पूरा गरी ई-सिम लिनसक्छन् । ई-सिम सुविधा लिनका लागि, ग्राहकका साथमा ई-सिम सपोर्ट गर्ने मोबाइल हुन आवश्यक हुन्छ ।

ग्राहकले आफ्नो मोबाइल ई-सिम चल्ने/नचल्ने थाहा पाउन *#०६# डायल गर्नुपर्छ । यदि इम्बेडेड आइडेन्टिटी डकुमेन्ट (ईआईडी) सहितको विवरण ग्राहकको डिस्प्लेमा आएमा त्यस्तो मोबाइलमा ई-सिम चल्छ ।

उपभोक्ता र व्यवसाय दुवैमाझ कनेक्टेड डिभाइसहरुको प्रयोग बढ्ने क्रममा रहेकाले ई-सिमले सूचना तथा सञ्चार प्रविधिको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।

आईफोनका पछिल्ला मोडलहरु जस्तै; आईफोन एक्सएस सिरिज, आईफोन ११ सिरिज, आईफोन १२ सिरिज, आईफोन १३ सिरिज र आईफोन १४ सिरिजमा ई-सिमको सुविधा रहेको छ । त्यसैगरी सामसङको ग्यालेक्सी ए२१ सिरिज, ग्यालेक्सी ए२२ सिरिज, ग्यालेक्सी जेड फ्लिप सिरिज र गुगलको पिक्सल ४ सिरिज, पिक्सल ५ सिरिज र पिक्सल ६ सिरिजमा पनि ई-सिमको चल्ने सुविधा छ ।

ब्रान्ड र मोबाइलका मोडलहरुका आधारमा विभिन्न मोबाइलमा एकभन्दा बढी ई-सिम नम्बर दर्ता गर्न सकिने सुविधा पनि रहेको हुन्छ । यद्यपि एक पटकमा एक मात्र नम्बर सक्रिय रहन्छ ।

ई-सिमले सूचना तथा सञ्चार प्रविधि तथा इन्टरनेट अफ थिङ्गस्मा पनि ठूलो महत्व राख्दछ । विकसित देशहरुमा यस्ताे सिम कार, घरायसी सामानहरु र औद्योगिक क्षेत्रका मसिनहरुमा पनि प्रयोग हुने गरेको छ । 

पछिल्लो अध्यावधिक: मंसिर ९, २०७९ १८:२४