close

ललितपुर महानगरका सबै ठाउँमा स्मार्ट सडक बत्ती जडान गर्दैछौँः मेयर महर्जन

टेकपाना टेकपाना

पुस २८, २०७९ २०:४९

ललितपुर महानगरका सबै ठाउँमा स्मार्ट सडक बत्ती जडान गर्दैछौँः मेयर महर्जन

काठमाडाैं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महागरभित्रका सबै सडकमा आउँदो वर्षसम्ममा  स्मार्ट स्ट्रिट लाइट (स्मार्ट सडक बत्ती) जडान गरिसक्ने तयारी भइरहेकाे बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)काे हलमा बिहीबार आयोजित ‘इन्नाे टक’ कार्यक्रममा बाेल्दै महर्जनले स्मार्ट स्ट्रिट लाइट जडानकाे काम तीव्र पारिएकाे जानकारी दिए ।

महानगरमा स्मार्ट स्ट्रिट लाइट जडान गर्ने दाेस्राे चरणकाे काम ४० प्रतिशत सम्पन्न भएकाे उनले बताए । “महानगर बन्नुअघि अलग्गै रहेका पालिकाहरूमा अहिले जडान कार्य गरिरहेका छाैं, उनले थपे, “याे चरणकाे काम सम्पन्न भएपछि चक्रपथ छुने महानगरपालिकाकाे ७.९ किलाेमिटर क्षेत्रमा तेस्राे चरणकाे रुपमा काम सुरुवात गर्छाैं ।”

महानगरपालिकाले पहिलो चरणमा चार रुटमा स्मार्ट स्ट्रिट लाइट जडान गरेको थियाे । चालू आर्थिक वर्षमा २४०० बढी स्मार्ट स्ट्रिट लाइट जडान गर्ने र नयाँ आर्थिक वर्षमा महानभित्रका सबै ठाउँमा स्मार्ट बत्ती जडान गर्ने उनकाे भनाइ छ ।

त्यस्तै उनले महानगरले अब किन्ने सबै गाडी ईलेक्ट्रिक हुने कुरा पनि जनाए ।  “हामीले नगर प्रहरीहरुलाई समेत ईलेक्ट्रिक बाइक उपलब्ध गराएका छाैं,” उनले भने ।

महानगरपालिकाले जीपीएस सिस्टममा आधारित भएर सडक सञ्जालसँग जाेडिएका ६७ हजार घरधुरीहरुलाई नम्बर वितरण गरिसकेकाे उनले जानकारी दिए ।

“हामीले सडककाे पनि नाम राखेका छाैं । शाखा सडकहरुकाे नाम पनि छ,” उनले भने, “तपाईंले ललितपुरमा चिरिबाबुकाे घर नम्बर यति हो भनेर दिनुभयाे भने मेराे घरमा सहजै पुग्न सकिन्छ ।” तर सबैतिर यो प्रणालीकाे अभ्यास नहुँदा पूर्ण रुपमा लागू नभएकाे पनि उनले स्वीकारे ।

कार्यक्रममा नास्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठ, डेटा फर डेभलपमेन्ट परियोजनाकी निर्देशक सजना महर्जन लगायतका वक्ताले नवप्रवर्तनलाई प्रवर्द्धन गर्नुपर्ने र यसकाे सहयोगमा पालिकाभित्रका समस्या समाधान गर्नुपर्नेमा जाेड दिएका थिए ।

'इन्नाे टेक'काे आठाैं सिरिज अन्तर्गत ‘महानगरपालिका चुनौतीहरू व्यवस्थापन गर्न नवप्रवर्तन संस्कृतिकाे आवश्यकता’ विषयमा काठमाडाैं, ललितपुर र भरतपुरका महानगरपालिकाका मेयरहरुसँग कुरा गर्ने कार्यक्रम भएपनि ललितपुर महानगरपालिकाका मेयर महर्जनकाे मात्र उपस्थिति थियाे ।

पछिल्लो अध्यावधिक: पुस २८, २०७९ २०:५९