close

अब गुगलको होमपेजमै एआई टुल, च्याट जीपीटीकै शैलीमा उत्तर दिने

टेकपाना टेकपाना

माघ १८, २०७९ १८:११

अब गुगलको होमपेजमै एआई टुल, च्याट जीपीटीकै शैलीमा उत्तर दिने

काठमाडौँ । पछिल्लो समय गुगलले एआईमा आधारित च्याटबटमा काम गरिरहेको समाचार लगातार बाहिरिएको छ । समाचार माध्यम सीएनबीसीका अनुसार गुगल अहिले 'एपरेन्टिस बार्ड' (Apprentice Bard) नामक एआई टुलको परीक्षणमा व्यस्त छ । यसले च्याटजीपीटीकै शैलीमा प्रश्नको उत्तर दिने बताइएकाे छ ।

'एपरेन्टिस बार्ड' गुगलको 'लाम्दा' (LaMDA) प्रविधिमा तयार हुन लागेको टुल हो, जो आफैँमा च्याटजीपीटीको जस्तै एआई ल्याङ्ग्वेजमा आधारित छ ।

च्याटजीपीटीले पछिल्लो समयमा भएका घटनाको विवरणबारे जानकारी दिँदैन भने गुगलको बार्ड एआईले हालसालैका विवरण पनि उपलब्ध गराउने चर्चा छ ।

यसका लागि गुगलले आफ्नो होमपेजको वैकल्पिक भर्सन पनि तयार पार्दैछ । यसअन्तर्गत गुगल हाेमपेजमा अहिले भएको 'I'm feeling lucky' बटनलाई विस्थापित हुनेछ भने त्यसकाे ठाउँमा 'Apprentic Bard' टुलकाे अप्सन रहनेछ । त्यसमा क्लिक गरेकाे खण्डमा च्याटजीपीटीकाे जस्तै इन्टरफेस खुल्नेछ ।

उदाहरणका लागि च्याटजीपीटीको होमपेजमा जस्तो उदाहरण (examples), क्षमता (capabilites) र सीमितता (limitations) उल्लेख गरिएको हुन्छ । गुगलको एआई टुलमा पनि त्यस्तै विवरण उल्लेख हुने बताइएकाे छ । यस अनुसार साे पेजकाे अन्तिममा च्याटबक्स र च्याटबक्समा सेन्ड (send) आइकन हुनेछ ।

च्याटजीपीटीले गुगललाई नै विस्थापित गर्नसक्ने अनुमान हुन थालेपछि गुगल आफ्नै टुल विकासमा जुटेकाे हो । तर याे टुलले च्याटजीपीटीभन्दा कति भिन्न जवाफ दिन्छ वा के-कस्ता विषय समेटिन्छन् भन्ने कुरा अहिलेसम्म खुलेकाे छैन ।

पछिल्लो अध्यावधिक: माघ १८, २०७९ १८:११