close

एलन मस्कको ट्वीटर अकाउन्ट नै लक ?

टेकपाना टेकपाना

माघ १८, २०७९ २२:२२

एलन मस्कको ट्वीटर अकाउन्ट नै लक ?

काठमाडौँ । ट्वीटरका मालिक एलन मस्कले आफ्नो ट्वीटर ह्याण्डल लक गरेका छन् । अकाउन्ट लक गर्दा त्यसले ट्वीट इन्गेजमेन्टमा असर पार्छ वा पार्दैन भन्ने जाँच गर्न मस्कले अकाउन्ट अस्थायी रूपमा लक गरेका हुन् ।

यसको अर्थ अकाउन्ट लक गर्नुअघि फलो गरेका व्यक्तिले मात्र उनका ट्वीट हेर्न सक्नेछन् । नयाँ फलोअरले भने अकाउन्ट अनलक भइसकेपछि मात्र मस्कले गरेका ट्वीट हेर्न सक्नेछन् ।

 

एक ट्वीटर प्रयोगकर्ताले अकाउन्ट लक (प्राइभेट) गर्दा त्यसले ट्वीटको रिच बढाउने दाबी गरेपछि त्यसको परीक्षण गर्न मस्कले आफ्नो अकाउन्ट नै लक गरेका हुन् ।

इयान माइल्स चिओङ नामका ती ट्वीटर प्रयोगकर्ताले यसरी अकाउन्ट लक गर्दा रिच पाँच गुणाले बढेको दाबी गर्दै स्क्रिनशट ट्वीट गरेका थिए ।

मस्कले उक्त ट्वीटको रिप्लाई दिँदै उक्त समस्या अत्यन्तै चिन्ताजनक रहेको उल्लेख गरेका थिए । मस्कका अनुसार उनी सो अकाउन्ट बिहीबार अनलक गर्नेछन् ।

"मेरो पब्लिक ट्वीटहरू भन्दा मेरो निजी ट्वीटहरू धेरै देखिन्छन् कि देखिँदैनन् भन्ने परीक्षण गर्न मैले मेरो अकाउन्टलाई प्राइभेट बनाएको छु," मस्कले ट्वीट गर्दै लेखेका थिए ।

४४ अर्ब डलरमा ट्वीटरको स्वामित्व आफूले लिएपछि मस्कले उक्त प्लेटफर्ममा विभिन्न नयाँ नयाँ फिचरहरू परीक्षण गरिरहेका छन् । हालै मात्र उनले सःशुल्क रूपटमा कम्पनी, संस्था तथा व्यक्तिहरूलाई फरक-फरक रङका भेरिफाइड मार्क, ट्वीटमा भ्युज अप्सन जस्ता फिचरहरू थप गरेका छन् ।

पछिल्लो अध्यावधिक: माघ १८, २०७९ २२:२२