close

अब इन्टरनेट नभए पनि क्यूआर भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

माघ २०, २०७९ १८:४१

अब इन्टरनेट नभए पनि क्यूआर भुक्तानी गर्न सकिने

काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक फोनपेले अफलाइनमा आधारित क्यूआर भुक्तानी सेवा सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै कम्पनीले 'फाेनपे अफलाइन पेमेन्ट' सेवा ल्याएकाे हाे ।

यसअन्तर्गत अफलाइनबाटै क्यूआर भुक्तानी गर्न सकिने गरी 'फोनपे ट्याग' तथा 'कस्टमर प्रेजेन्टेड' सेवा सार्वजनिक गरिएको छ ।

मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोडभन्दा बढी भएपनि क्यूआरमार्फत हुने भुक्तानी थोरै रहेको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले अफलाइन भुक्तानी सेवा ल्याएको जनाएको छ ।

यो सेवामार्फत इन्टरनेट नभएको अवस्थामा पनि क्यूआरमार्फत डिजिटल भुक्तानी हुने कम्पनीको भनाइ छ । यसका लागि कम्पनीले टोकनाइजेसन प्रविधिमा आधारित अफलाइन भुक्तानी सेवा ल्याएको छ ।

'फोनपे ट्याग' (फोनपे ट्याप एन्ड गो) सेवा अन्तर्गत एनएफसी (नियर-फिल्ड कम्युनिकेसन) डिभाइस प्रयोगकर्ता (एन्ड्राेइड)ले क्यूआरमार्फत भुक्तानी गर्नसक्ने छन् ।

एनएफसी डिभाइस नभएका प्रयोगकर्ताको हकमा कम्पनीले 'कस्टमर प्रेजेन्टेड क्यूआर' सेवा ल्याएकाे छ, जुन प्रक्रियामा मर्चेन्टले सेवाग्राही (एन्ड्रोइड र आईओएस दुवै प्रयाेगकर्ता)को क्यूआर स्क्यान गरी भुक्तानी लिनसक्ने छन् । पोस मसिन लिन नसक्ने साना तथा मझौला व्यापारीका लागि यो सेवा उपयोगी हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: माघ २०, २०७९ १९:४०