close

च्याटजीपीटीसँग प्रतिस्पर्धाका लागि गुगलले सार्वजनिक गर्‍यो एआई च्याट 'बार्ड'

टेकपाना टेकपाना

माघ २४, २०७९ १२:४४

च्याटजीपीटीसँग प्रतिस्पर्धाका लागि गुगलले सार्वजनिक गर्‍यो एआई च्याट 'बार्ड'

काठमाडौँ । गुगलले सोमबार एआईमा आधारित च्याटबट सार्वजनिक गरेको छ । पछिल्लो समय विश्व बजारमा ओपनएआईको च्याटजीपीटीले निकै चर्चा बटुली रहेकाे छ । यस्तोमा गुगलले च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्ने योजनाका साथ 'बार्ड' नाम दिएर नयाँ च्याट बट सार्बजनिक गरेको हो ।​

गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाइले ब्लगमार्फत बार्ड सार्वजनिक भएको जानकारी दिएका छन् । 'बार्ड' सोमबार सार्वजनिक भए पनि सर्वसाधारणका लागि आगामी हप्ता उपलब्ध हुने बताइएको छ ।

नोभेम्बर ३१, मा सार्वजनिक भएको ओपन एआईको च्याटबट च्याटजीपीटीले छोटो समयमै चर्चा पाएको छ । सार्वजनिक भएको एक हप्तामै च्याटजीपीटीमा १० लाख सक्रिय प्रयोगकर्ता पुगेका थिए । एआईमा आधारित च्याटजीपीटीको लोकप्रियता बढेसँगै गुगललाई सर्च इन्जिन विस्थापित हुने डर थियो । यही जोखिमलाई मध्यनजर गर्दै गुगलले च्याटजीपीटी जस्तै लार्ज ल्याङ्ग्वेज मोडेलमा तयार पारेको बार्ड ल्याएको विश्लेषकहरूको भनाइ छ ।​

बार्डलाई इन्टेलिजेन्ट, क्रियटिभ बनाइएको सुन्दर पिचाइको भनाइ छ । ब्लगमा उनी लेख्छन्, "यसले वेबबाट जानकारी प्राप्त गरी ताजा, उच्च गुणस्तरका प्रतिक्रियाहरू प्रदान गर्छ ।"

माइक्रोसफ्टले च्याटजीपीटीकै कारण ओपन एआईमा १० अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ । यसका साथै माइक्रोसफ्टले आफ्नो सर्च इन्जिन 'बिङ'मा समेत च्याटजीपीटी इन्ट्रिगेट गर्ने तयारी गरिरहेकाे उल्लेख छ । हाल गुगल, बिङ जस्ता सर्च इन्जिनले कुनै पनि प्रश्न वा जिज्ञासाका लागि लिङ्क उपलब्ध गराउँछ । प्रयोगकर्ता त्यही लिङ्कमा गएर आफ्नो आवश्यकता अनुसारका जानकारी लिन सक्छन् । तर, च्याटजीपीटीमा भने प्रश्न राखेकै भरमा भरपर्दो उत्तर पाउन सकिन्छ । यो टुल बिङमा इन्ट्रिगेट भएपछि उक्त सर्च इन्जिनका प्रयोगकर्ता बढ्ने निश्चित छ ।​

च्याटजीपीटीका कारण गुगलको यो परियोजना चर्चामा आएको भए पनि यसको विस्तारका लागि गुगल लामो समयदेखि गृहकार्य गरिरहेको थियो । दुई वर्षअघि गुगलले सार्वजनिक गरेको डायलग एप्लिकेसन जसलाई लाम्दा (LaMDA) मा समेत बार्ड समावेश गरिने कम्पनीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: माघ २४, २०७९ १२:४५