close

च्याटजीपीटीको नाममा फेसबुकमा स्पाम लिङ्क, भुलेर पनि क्लिक नगर्नुहोला

टेकपाना टेकपाना

फागुन ५, २०७९ १३:१

च्याटजीपीटीको नाममा फेसबुकमा स्पाम लिङ्क, भुलेर पनि क्लिक नगर्नुहोला

काठमाडौं । ओपनएआईले तयार पारेको च्याटजीपीटी टुल अहिले बजार भाइरल छ । मानिसकै शैलीमा टेक्स्टमार्फत कुराकानी गर्न सक्ने यस प्रविधिको प्रयोग नगर्ने विरलै होलान् ।

विभिन्न चर्चासँगै ठगी तथा स्क्यामका घटना पनि बढ्दै गइरहेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा च्याटजीपीटीको एप डाउनलोड गर्न भन्दै विभिन्न लिङ्कको प्रचार गरेको पाइएको छ । दुरुस्त च्याटजीपीटीको शैलीले काम गर्ने दाबी गरिएका त्यस्ता लिङ्क ठगी गर्नलाई फैलाइएका हुन् ।

यसो त सामाजिक सञ्जालमा नक्कली अकाउन्ट वा प्रोफाइल बन्नु नौलो कुरा होइन । च्याटजीपीटीको नाममा पनि विभिन्न सामाजिक सञ्जालका अकाउन्ट तयार भएका छन् । जहाँबाट पोस्ट बुस्ट गर्दै एप डाउनलोड गर्न वा लिङ्क क्लिक गर्न भनिएको हुन्छ ।

यस्ता लिङ्कमा क्लिक गर्दा स्क्याममा पर्ने जोखिम बढी हुन्छ । तपाईँका संवेदनशील डेटा, बैंक विवरण जस्ता जानकारी हात पार्न त्यस्ता लिङ्क फैलाइएको हुनसक्ने जानकारहरू बताउँछन् । ओपन एआई एप नभई वेबसाइटमा उपलब्ध छ । अर्थात् इन्टरनेटमा कहीँ पनि च्याटजीपीटीको आधिकारिक एप छैन ।

विभिन्न कम्पनीहरूले आफूले तयार पारेको एप च्याटजीपीटीकै भएको दाबी गरेका छन् । तर, कम्पनीले ओपनएआईकै सबडोमेनबाट यस टुलको सेवा उपलब्ध गराउँदै आएको छ । इन्टरनेटमा भेटिने च्याटजीपीटीको नामका एप सबै नक्कली हुन् ।

केहीले उक्त टुलको सोर्सकोड कपी गरेर दुरुस्तै च्याटजीपीटी शैलीको पेज तयार पारे पनि त्यस्ता एपबाट धेरै जोखिमको सामना गर्नुपर्ने हुनसक्छ । तसर्थ सामाजिक सञ्जालमा देखिएका वा स्पोन्सर्ड लिङ्कमा एप डाउनलोड गर्नु भन्दै आएका लिङ्क क्लिक नगर्न जानकारको सुझाव छ ।

 त्यसो भए कसरी च्याटजीपीटी प्रयोग गर्न सकिन्छ त ?

च्याटजीपीटी प्रयोग गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

-   सबैभन्दा पहिले यहाँ क्लिक गरेर च्याटजीपीटीको आधिकारिक साइटमा जानुहोस् ।

-   यस टुलमा अकाउन्ट बनाउनु भएको छैन भने 'साइन-अप'को बटनमा क्लिक गर्नुहोस् । यदि अकाउन्ट बनाइसक्नु भएको छ भने 'लग-इन'को बटनमा क्लिक गर्नुहोस् ।

-   यदि अकाउन्ट बनाइसक्नु भएको छ भने जिमेल वा माइक्रोसफ्ट कुन अकाउन्टबाट खोल्नु भएको हो त्यो छान्नुहोस् ।

-   तर, यदि अकाउन्ट बनाउनु भएको छैन भने तलको प्रक्रिया अपनाउनुहोस् ।

-  त्यसपछि साइनअपको अप्सनमा क्लिक गर्नुहोस् ।

-  त्यसपछि गुगल अकाउन्ट वा माइक्रोसफ्ट अकाउन्टमध्ये एक छान्नुहोस् । हामी यहाँ गुगल अकाउन्टबाट साइनअप गर्न लागिरहेका छौं । 

 

- अनि आफूले लगइन गर्न चाहेको अकाउन्ट छान्नुहोस् । आफ्नो नाम र थर राखेर  ‘कन्टिन्यु’ अप्सनमा क्लिक गर्नुहोस् ।

-  यति गरेपछि आफ्नो फोन नम्बर राखेर सेन्ड कोडमा क्लिक गर्नुपर्ने हुन्छ ।

-  फोनको एसएमएसमा आएको कोडलाई त्यहाँ रहेको इन्टर कोडको बक्समा टाइप गर्नुहोस् ।

-  यति गर्नुभयो भने तपाईँको अकाउन्ट तयार हुन्छ ।

-  अकाउन्ट तयार भएपछि नेक्स्ट, नेक्स्टको अप्सनमा क्लिक गरेर अन्त्यमा डनमा क्लिक गर्नुहोस् ।

-  यति गर्नुभयो भने अन्तिममा च्याट बक्स जस्तो अप्सन देखिन्छ । त्यसमा आफ्ना प्रश्न राखेर सेन्डको अप्सनमा क्लिक गरेर प्रश्न सोध्न सक्नुहुन्छ ।

 

पछिल्लो अध्यावधिक: फागुन ५, २०७९ १३:५३