close

अझै रोकिएन स्वास्तिमा खड्काको नाममा फैलाइएको स्क्याम लिङ्क

टेकपाना टेकपाना

फागुन १९, २०७९ १९:२७

अझै रोकिएन स्वास्तिमा खड्काको नाममा फैलाइएको स्क्याम लिङ्क

काठमाडौं । बिहीबार अनलाइन खबरको आधिकारिक फेसबुक पेजबाट नायिका स्वस्तिमा खड्काको नाम राखी फैलाइएकाे स्क्याम लिङ्क राेकिएकाे छैन । सोही लिङ्क अन्य पेजबाट पनि बुस्ट भइरहेको पाइएको छ । अनलाइन मिडियाले सञ्चालन गर्दै आएका पेजबाटै आपत्तिजनक शीर्षक सहितका स्क्याम लिङ्क फैलिएकाे छ ।

बुस्ट गरिएको यस्तो लिङ्क पेजको टाइमलाइमा देखिँदैन । त्यसैले यस्तो लिङ्क अन्य कुन-कुन पेजबाट बुस्ट भइरहेको छ भन्ने यकिन गर्न सकिने अवस्था छैन ।

बुस्ट भएका हरेकजसो पेजमा 'सुत्ने कोठामा क्यामेरा जडान गर्दा अभिनेत्री स्वस्तिमा खड्काको हट फुटेज बाहिरिएकी छिन्' भन्ने क्याप्सनसहित गुगल ड्राइभको लिङ्क राखिएको छ । यस्तो लिङ्कमा स्टिलर मालवेयर राखिएकाे साइबर सुरक्षा जानकारहरू बताउँछन् ।

“विशेषगरी त्यो लिङ्कमा रहेको फाइलमा स्टिलर मालवेयर राखेको देखियो,” एक सुरक्षा जानकारले टेकपानासँग भने, “फाइलमा क्लिक गर्ने प्रयोगकर्ताको मोबाइल तथा कम्प्युटरमा तत्कालै मालवेयर डाउनलोड भएर त्यसले सम्बन्धित ब्राउजरमा रहेको पासवर्ड, हिस्ट्री लगायतको सूचना तथा जानकारीमा पहुँच पाउने गरेको छ ।”

यो मालवेयरको नयाँ भेरियन्ट भएको जानकारी दिँदै उनले त्यसलाई एन्टिभाइरसले समेत फेला पार्न नसक्ने बताए ।

यस्ता मालवेयर तथा भाइरस युक्त लिङ्कबाट कसरी जोगिने ?

सामान्यतः सही सूचना तथा साइबर सुरक्षाको दृष्टिकोणबाट सामाजिक सञ्जालमा भेरिफाइड तथा आधिकारिक पेजहरूबाट पोस्ट भएका जानकारी तथा लिङ्क मात्र खोल्न भनिएको हुन्छ ।

नेपाल टेलिकम, एनसेल, राष्ट्रिय वाणिज्य बैंक लगायतको नाम र लोगो दुरुपयोग गरी फेक पेज बनाएर यस्ता दुर्भावनापूर्ण सामग्री राखिएका पोस्ट बुस्ट गर्ने प्रवृत्ति दोहोरिने गरेको थियो । तर यो पछिल्लो दृष्टान्तले आधिकारिक तथा भेरिफाइड सामाजिक सञ्जाल अकाउन्ट समेत सुरक्षित नरहेको पुष्टि गरेको छ । अब यस्तोमा जोगिने कसरी ?

सामाजिक सञ्जाल अकाउन्टमा रहेको ब्लु टिकमात्र नभएर थप अतिरिक्त सावधानीसमेत अपनाउनुपर्ने हुन्छ । कुनै पनि लिङ्क क्लिक गर्नुअघि केहीबेर रोकिएर मात्रै अगाडि बढ्नुपर्ने साइबर सुरक्षा विज्ञहरूले सल्लाह दिने गरेका छन् ।

तपाईँले अनलाइन खबरकै प्रकरणलाई नै हेर्नुभयो भने 'सुत्ने कोठामा क्यामेरा जडान गर्दा अभिनेत्री स्वस्तिमा खड्काको हट फुटेज बाहिरिएको' र 'भिडिओ हेर्न' भन्दै लिङ्क राखिएको छ ।

पहिलो कुरा त अनलाइन खबर जस्तो मूलधारको सञ्चारमाध्यमले यस्ता शनशनीपूर्ण र अश्लीलता फैलाउने तथा चरित्र हत्या गर्ने सामग्री राख्दैन भन्ने तर्क निस्किन्छ । अर्को कुरा लेखिएको पोस्टमा कयौँ भाषागत त्रुटि देख्न सकिन्छ ।

जस्तो कि लेखिएको विषयवस्तुलाई बिर्सिदिने हो भने पनि  'हट फुटेज बाहिरिएकी छिन्' नभएर शुद्धाशुद्धिको हिसाबले मात्रै हेर्दा 'हट फुटेज बाहिरिएको छ' हुनु पर्थ्यो होला, 'भिडियो हेर्नुहोस् कमेन्टमा' लेख्नुको साटो सोझै 'भिडियो हेर्नुहोस्' अथवा 'भिडिओको लागि लिङ्कमा हेर्नुहोस्' लेखिएको हुन्थ्यो होला । 

जब कि पेशागत ढङ्गबाट सञ्चालित सञ्चार माध्यमहरूमा यतिसम्म व्याकरणीय त्रुटि हुँदैनन् भन्ने सामान्य अनुमान लगाउन सकिन्छ । यो पोस्टमा क्लिक गर्दा विचार पुर्‍याउने सबैभन्दा महत्त्वपूर्ण चेतावनी भनेको लिङ्क नै हो ।

अनलाइन खबरले सामाजिक सञ्जालहरूमा पोस्ट गर्ने समाचारहरूमा तलपट्टि अनलाइनखबर  डटकम.... (onlinekhabar.com/....) लेखिएको हुन्छ । तर यो पोस्टमा गुगल ड्राइभको लिङ्क राखिएको छ भने अन्तिममा डाउनलोड बटन समेत राखिएको छ । यति मात्रै कुरामा विचार गर्ने हो भने तपाईँ यस किसिमका थुप्रै फिशिङ तथा मालवेर आक्रमणबाट जोगिन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: फागुन १९, २०७९ १९:२७