close

विद्युतीय सवारी चलाउँदा तपाईँलाई किन हुन्छ चार्ज सकिने डर ?

टेकपाना टेकपाना

जेठ ३, २०८० १५:३१

विद्युतीय सवारी चलाउँदा तपाईँलाई किन हुन्छ चार्ज सकिने डर ?

काठमाडौं । विद्युतीय सवारीमा चार्ज सबैभन्दा महत्त्वपूर्ण कुरा हो । इन्धनयुक्त सवारीका लागि विभिन्न स्थानहरूमा पेट्रोल पम्पको व्यवस्था छ । तर, इन्धनयुक्त सवारी जस्तो जहाँकहीँ इन्धन चार्ज गर्ने सुविधा विद्युतीय सवारीलाई हुँदैन ।

त्यस्तै केही गरी अनकन्टार बाटोमा इन्धनयुक्त सवारीको इन्धन सकियो भने अन्य सवारीबाट निकालेर इन्धन भर्न मिल्छ । तर, ब्याट्री नै परिवर्तन गर्ने सुविधा विद्युतीय सवारीमा नहुन सक्छ । ​यस्तोमा गन्तव्य वा चार्जिङ स्टेसनसम्म नपुग्दै चार्ज सकिन्छ कि भन्ने डर हुनु स्वाभाविक नै हो । यसैलाई 'रेन्ज एन्जाइटी' भनिन्छ ।

यस्तो चिन्ता इन्धनयुक्त सवारीमा पनि हुन्छ । तर, तुलनात्मक रूपमा 'रेन्ज एन्जाइटी' विद्युतीय सवारीमा बढी हुन्छ । विश्लेषकहरूले रेन्ज एन्जाइटीलाई मनोवैज्ञानिक अवरोधका रूपमा पनि परिभाषित गरेका छन् ।

के हुन् रेन्ज एन्जाइटीका नकारात्मक असरहरू ?

आफ्नो विद्युतीय सवारीको ब्याट्री गन्तव्यमा पुग्नुअगावै सकिन्छ भन्ने मनस्थिति छ भने त्यसले तपाईंलाई धेरै कुरामा प्रभाव पार्छ ।

सवारी धनीलाई रेन्ज एन्जाइटीले प्रभाव पार्ने सम्भावित असरको चर्चा तल गरिएको छ:

१) लामो दूरीमा यात्रा गर्न डर

रेन्ज एन्जाइटीले विद्युतीय सवारी धनीलाई लामो यात्रा गर्न हिच्किचाउने बनाउँछ । सीमित चार्जिङ पूर्वाधार हुँदा उनीहरू लामो यात्रा गर्न डराउँछन् । यसले गर्दा सवारी धनीलाई आफ्नो साधनप्रति वितृष्णा जाग्छ ।

त्यस्तै लामो यात्रा गर्नेहरूलाई रेन्ज एन्जाइटीले विद्युतीय सवारी खरिद गर्न नै निरुत्साहित बनाउँछ ।

२) यात्रा योजनामा सीमित हुन्छ

रेन्ज एन्जाइटीले सवारी धनीलाई लामो यात्रा गर्न निरुत्साहित गर्छ । जसले गर्दा उनीहरू यात्रा गर्ने योजना बारम्बार बनाइरहन्छन् । योजना बनाउँदा उनीहरू त्यस्तो ठाउँ रोज्छन् जहाँ चार्जिङ स्टेसनको सुविधा होस् ।

उनीहरूले खोजे जस्तो सबै ठाउँमा चार्जिङ स्टेसनको सुविधा हुँदैन । त्यसैले उनीहरूका लागि सबै विकल्पहरू उपयुक्त हुँदैनन् । जसले गर्दा उनीहरूले आफूलाई रहर लागेको ठाउँ पनि त्याग्नु पर्ने अवस्था आउन सक्छ ।

३) ब्याट्री बिग्रिने सम्भावना

रेन्ज एन्जाइटी कम गर्नका लागि सवारी धनी ब्याट्रीलाई बारम्बार चार्ज गरिरहन्छन् । यसले गर्दा ब्याट्रीको कार्यक्षमता ह्रास हुँदै गइरहेको हुन्छ । यसलाई 'रेन्ज प्याडिङ' भनेर पनि बुझिन्छ ।

चार्ज नसकिए पनि बारम्बार ब्याट्री चार्ज गर्दा उनीहरूले ब्याट्रीलाई सही ढङ्गले सदुपयोग गर्न सक्दैनन् । यसले गर्दा गाडीको रेन्ज घट्नुका साथै ब्याट्रीको कार्यक्षमता कमजाेर हुने समस्या निम्तिन्छ ।

४) विद्युतीय सवारीप्रति नकारात्मक धारणा

रेन्ज एन्जाइटीले गर्दा विद्युतीय सवारी खरिद गर्ने सम्भावित खरिदकर्ताको धारणा नै परिवर्तन गरिदिन्छ । विद्युतीय सवारीप्रति नकारात्मक वा भनौं गलत धारणा हुँदा खरिद गर्न खोज्नेहरू पछाडि हट्छन् ।

चार्ज सकिएर अलपत्र पर्ने चिन्ताले मानिसहरूलाई चार्ज गर्ने पूर्वाधार विस्तार र गुणस्तरीय ब्याट्री प्रविधिको व्यवस्था गरिनुपर्छ भन्ने लाग्छ । त्यस्तो सुविधा नभएको अवस्थामा उनीहरूको रोजाइमा विद्युतीय सवारी पर्दैन ।

यस्तै सम्भावित समस्यालाई मध्यनजर गर्दै सवारी निर्माण कम्पनीले सवारीको ब्याट्री प्रविधिलाई बढी ध्यानमा राखेका हुन्छन् । रेन्ज एन्जाइटी कम गर्नका लागि सरकार, सवारी निर्माण, वितरण गर्ने कम्पनी तथा सवारी धनीले गर्नुपर्ने कामहरू तल उल्लेख गरिएको छ ।

१) ब्याट्री प्रविधिमा सुधार

अत्याधुनिक प्रविधिबाट तयार पारिएका ब्याट्री विभिन्न कुरामा अगाडि हुन्छन् । विशेषगरी चार्जिङ घनत्व बढी हुनु, तीव्र गतिमा चार्ज हुने क्षमता हुनुले विद्युतीय सवारीको रेन्जलाई बढवा दिन्छ ।

यस्तो हुँदा सवारी धनीलाई बीच बाटोमा चार्ज सकिएर अलपत्र पर्ने डर कम हुन्छ । उनीहरूले प्रयोग गर्ने सवारीप्रति उनीहरू विश्वस्त हुन्छन् ।

२) चार्जिङ पूर्वाधारको विस्तार

सार्वजनिक एवम् निजी चार्जिङ स्टेसन विस्तार हुनुले रेन्ज एन्जाइटीलाई कम गर्छ । सहज र सरल ढङ्गले विभिन्न स्थानमा फास्ट चार्ज हुने चार्जिङ स्टेसन हुनुले सवारी धनीको डरलाई घटाउँछ ।

यसका लागि सरकार, निर्माता कम्पनी तथा विभिन्न संस्थाहरूले चार्जिङ स्टेसन विस्तारका लागि लगानी गर्नु आवश्यक हुन्छ ।

 ३) भरपर्दो रेन्ज र नेभिगेसन सिस्टम

पछिल्लो समय विद्युतीय सवारी निर्माता कम्पनीले रेन्ज एस्टिमेसन एल्गोरिदम र नेभिगेसन सिस्टमलाई परिष्कृत बनाउँदै लगिरहेका छन् । जसले गर्दा प्रयोगकर्ताले नेभिगेसन र रेन्ज सम्बन्धी सटीक डेटाहरू पाउन सक्छन् ।

यस्तो हुँदा आफू पुग्नुपर्ने दूरी कति टाढा छ र गाडीमा चार्ज कति बाँकी छ भन्ने कुरा मूल्याङ्कन गरी यात्रा गर्न सहज हुन्छ ।

यदि नेभिगेसन र रेन्ज सिस्टम बिग्रिएको छ वा खराब भएको छ भने सवारी धनी सिस्टममा देखिएको दूरी र ब्याट्रीलाई विश्वास गर्दैनन् । त्यसैले उनीहरू ब्याट्री सकिने डर गुम्साएर यात्रा गरिरहेका हुन्छन् ।

यदि नेभिगेसन तथा रेन्ज सिस्टम बिग्रिएको छ भने त्यसलाई तुरुन्तै मर्मत गरियो भने रेन्ज एन्जाइटी कम हुन्छ ।

४) शिक्षा तथा जनचेतना

पछिल्लो समय बजारमा अत्याधुनिक प्रविधिद्वारा निर्मित विद्युतीय सवारी भित्रिरहेका छन् । यस्ता सवारी निर्माता कम्पनीले उपभोक्ताका समस्यालाई मध्यनजर गर्दै विभिन्न सुविधा उपलब्ध गराएका हुन्छन् ।

त्यसैले केही मानिसहरूले परम्परागत ब्याट्रीबाट चल्ने सवारीसँग नयाँ विद्युतीय सवारीलाई तुलना गरिरहेका हुन्छन् ।

यस्तो हुँदा नयाँ तथा अत्याधुनिक प्रविधिबाट निर्मित विद्युतीय सवारीमा पनि उनीहरूको गलत धारणा हुन्छ । त्यसैले नयाँ सवारी साधनमा प्रयोग हुने प्रविधि, त्यसको गुणस्तर तथा क्षमताबारे मानिसहरू शिक्षित हुन आवश्यक छ ।

यसका लागि लामो समयसम्म विद्युतीय सवारी चलाउनेहरूको कथा तथा विचारहरू बाहिर ल्याउन आवश्यक हुन्छ । त्यस्तै सवारी चाप बढी हुने सम्भावित रुटमा चार्जिङ स्टेसन विकास गर्नुले पनि विद्युतीय सवारी खरिद गर्नेलाई प्रेरित गर्छ ।

पछिल्लो अध्यावधिक: जेठ ३, २०८० १६:२०