close

सीजीको नाममा गैरकानूनी बेटिङ साइट सक्रिय, प्रचारमा सुष्मा कार्कीदेखि चल्तीका टिकटकरसम्म

हिक्मत आचार्य हिक्मत आचार्य

जेठ ३०, २०८० १७:१६

सीजीको नाममा गैरकानूनी बेटिङ साइट सक्रिय, प्रचारमा सुष्मा कार्कीदेखि चल्तीका टिकटकरसम्म

काठमाडौं । चौधरी ग्रुपको नाम जोड्दै नेपालमा गैरकानूनी अनलाइन बेटिङ साइटको प्रचार एवं काराेबार भइरहेको पाइएको छ । 'सीजीबुक डट लाइभ' (cgbook.live) नाम भएको उक्त बेटिङ साइटबारे सामाजिक सञ्जालमा विज्ञापन भइरहेकाे छ ।

नेपालकाे मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को (२) को उपदफा (१) को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

तर चाैधरी ग्रुप अन्तर्गतकाे कम्पनी भएकाे भन्दै सामाजिक सञ्जालमा सीजीबेट (सीजीबुक डट लाइभ)काे विज्ञापन गरी साेझा मानिसहरूलाई बेटिङ कार्यमा संलग्न गराउने कार्य भएकाे पाइएकाे छ । भिडिओ बनाएर यसरी विज्ञापन गर्नेमा टिकटकर/माेडेल उषा उप्रेती, सामरिका ढकालदेखि चलचित्र अभिनेत्रीहरू सुरविना कार्की, सुष्मा कार्कीसम्म छन् । उनीहरूले भिडिओमा तीन करोड बढी सक्रिय प्रयोगकर्ता भएको प्लेटफर्म भन्दै प्रचार गरेकाे देखिन्छ ।

विज्ञापनमा उनीहरू भन्छन्, “हेल्लो फ्रेन्ड्स कस्तो हुनुहुन्छ तपाईंहरू ? तपाईं घर बसेर बोर त हुनु भएको छैन ?,” प्रचार गर्दै टिकटकरहरू भन्छन्, “इफ बोर हुनुभएको छ भने म तपाईंहरूलाई ल्याएर आएको छु एसियाकै मस्ट ट्रस्टेबल लिगल लाइसेन्स गेमिङ एक्सचेन्च ‘सीजी बेट बुक’ । लाइभ गेममा तपाईंहरू क्रिकेट फुटबल टेनिस, क्यासिनो खेल्न सक्नु हुनेछ त्यही पनि घर बसी बसी । सो, छिट्टो जानुस् तल दिइएको लिङ्कमा क्लिक गरेर आईडी प्राप्त गर्नुहोस् । या हाम्रो तल दिइएको ह्वाट्सअप नम्बरमा पनि आईडी प्राप्त गर्न सक्नुहुनेछ । सो गाइज एकदमै छिटो जानुस्, आफ्नो आईडी बनाउनुस्, र एकदमै धेरै पैसा जित्नुहोस् । बेस्ट अफ लक !”

सीजीबुक लाइभबाट जितेको रकम १० मिनेटमा आउने दाबी गर्दै प्रयोगकर्तालाई आकर्षित गर्न अन्य गेमहरूको नाम पनि लिइन्छ । कानूनले नै बन्देज लगाएकाे कार्यलाई उक्त प्लेटफर्मका सञ्चालकले कानूनसङ्गत भएकाे दाबी गर्दै फसाउने गरेका छन् । उनीहरूले नेपाल सरकारलाई कर बुझाएर वैधानिक तवरले याे प्लेटफर्म सञ्चालन गरेकाे जिकिर गरे ।

आफूलाई सीजी बेट (सीजीबुक लाइभ) को प्रतिनिधि बताउने एक व्यक्तिले टेकपानासँग भने, “सीजी बेट बुक चाहिँ नेपालमा लिगल छ सर । किनभने यो चौधरी ग्रुपको हो ।”

टेकपानाले कम्पनीकाे कागजात माग्दा उनले सार्वजनिक गर्न नमिल्ने बताए । ‘गैरकानूनी भएको भए सेलिब्रेटीले किन प्रचार गर्थे र ?’ भन्दै उनले हामीसँगै उल्टै प्रतिप्रश्न गरे ।

याे बेटिङ तथा क्यासिनाे एपमा प्रयोगकर्तालाई चन्द्र तामाङको प्रभु बैंकमा रहेको अकाउन्ट नम्बर ०१५०१३३१९२६०००१९ मा रकम पठाएर स्क्रिनशट पठाउन अनुरोध गरिन्छ । त्यस्तै ९८६३६०४५२८ को खल्ती अकाउन्टमा समेत रकम पठाएर खेल्न अनुराेध गरिन्छ ।

यता चौधरी ग्रुपले बेटिङ साइटको सम्बन्धमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । सीजीका कर्पोरेट कम्युनिकेसन हेड मधुसुदन पौडेलले कम्पनीको नाम दुरुपयोग गरी प्रतिबन्धित कार्य भएको पाइएकाले प्रहरीलाई यसबारे जानकारी गराउने बताए ।

त्यस्तै नेपाल प्रहरीलाई पनि टेकपानाले यस घटनाबारे अवगत गराएकाे छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले नेपालमा जुनसकै प्रकारकाे जुवा खेल प्रतिबन्धित भएकाले तत्कालै सम्बन्धित निकायलाई यसमाथि अनुसन्धान गर्ने जानकारी दिए । “गैरकानूनी काम भए हामीले थाहा पाउने बित्तिकै अनुसन्धान थाल्छाैं,” उनले भने, “आवश्यक विवरण उपलब्ध हुनासाथ बेटिङ कार्यमा संलग्न गिराेहलाई कारबाहीको दायरामा ल्याइन्छ ।”

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८० १५:५०