close

वनएक्स बेट प्रचार गरेर कलाकार/युट्युबरले लिन्थे ४० लाखसम्म कमिसन

टेकपाना टेकपाना

असार १, २०८० १०:०

वनएक्स बेट प्रचार गरेर कलाकार/युट्युबरले लिन्थे ४० लाखसम्म कमिसन

काठमाडौं । नेपालमा प्रतिबन्धित अनलाइन जुवा वनएक्स बेटको प्रचार गरेर कलाकार तथा युट्युबरले ४० लाखसम्म कमिसन लिने गरेको पाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेकाे प्रारम्भिक अनुसन्धानमा पक्राउ गरेका कलाकार र युट्युबरले १० देखि ४० लाखसम्म रुपैयाँ बुझेर वनएक्स बेटको प्रचार गरेको स्वीकारेका हुन् ।

कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीका अनुसार पक्राउ परेका आठै जनाले वनएक्स बेट प्रचारका लागि रकम लिएको र साे रकम वनएक्स बेट कम्पनीबाट सिधै उनीहरूले बुझ्ने गरेकाे स्वीकारेका छन् । यसका लागि उनीहरूले युट्युब लगायतका माध्यममा प्राेमाे काेड प्रयाेग गरी वनएक्स बेटमा छुट पाउन सकिने भन्दै विज्ञापन गर्थे । 

नेपालमा प्रतिबन्धित वनएक्स बेटकाे प्रचारमा संलग्न कलाकार/युट्युबरहरू मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) पवन खतिवडा (म्याकुरी) एलिस राई, जलन घर्तिमगर (जलन), गणेश देवकोटा (गणेश जीडी), सरोज घिमिरे (ढेडु बुढो) र ‍बेगम नेपाली (भटभटे माइला) बिहीबार पक्राउ परेका थिए ।

उनीहरूलाई सट्टेबाजी गर्न वा गराउन नहुने कसूरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । ​बेटिङ कारोबारमा थप संलग्नताबारे काठमाडौं जिल्ला परिसरको टोलीले अनुसन्धान गर्ने केसीले बताए ।

वनएक्स बेटमार्फत ६४ कराेडको सट्टेबाजी गराउने पाँच एजेन्टहरूलाई बुधबार सार्वजनिक गरेपछि यसको प्रचारमा संलग्न व्यक्तिहरूलाई पनि प्रहरीले कारबाहीको दायरामा ल्याउन थालेको छ । सट्टेबाजीमा सक्रिय हुनेबाहेक प्रचार गर्नेहरूको पनि यसमा उत्तिकै भूमिका रहेको भन्दै पक्राउ गर्नुपर्ने अवस्था आएको एसएसपी केसीले सुनाए ।

योसँगै सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट विभिन्न बेटिङ प्लेटफर्मको प्रचार गर्नेहरू प्रहरीको निगरानीमा परेका छन् । पछिल्लो समय युट्युब, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा अनलाइन बेटिङको प्रचार तथा खेल खेलाउने कार्य भइरहेको देख्न सकिन्छ ।

यसअन्तर्गत वनएक्स बेट, उल्फ ७७७, सीजी बुक लाइभ ९सीजी बेट०, फिफिया, बेट ३६५, मेल बेट जस्ता प्लेटफर्म सक्रिय छन् ।

मंगलबारमात्रै टेकपानाले चौधरी ग्रुपको नाम दुरूपयोग गरेर सीजीबेट नामको बेटिङ प्लेटफर्मको प्रचार भइरहेको भन्दै समाचार सम्प्रेषण गरेको थियो । सो बेटिङ प्लेटफर्मको नायिका सुष्मा कार्की, सुरविना कार्कीदेखि टिकटकररमोडेल उषा उप्रेती, सामरिका ढकाल लगायतले प्रचार गरेको भिडिओ देख्न सकिन्छ । उनीहरुले करिब एक मिनेट भिडिओका लागि ५० हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ ।

अहिले टिकटकमा यस्ता प्लेटफर्मको नाटकीय प्रचार गर्ने शैली बढेको देखिन्छ । जसमा फलोअर धेरै भएका टिकटकरलाई मोटो रकम दिएर नेपालमा अवैध सट्टेबाजीको प्रचार गर्ने काम भइरहेको छ । 

प्रहरीले बेटिङमा प्रचारमा लागेका ती व्यक्तिहरूलाई निगरानीमा राखेर आन्तरिक अनुसन्धान गरिरहेको र चाँडै पक्राउ गर्ने तयारी गरेकाे अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को ९२० को उपदफा ९१० को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपियाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ ।

यो पनि पढ्नुहोस्ः

वनएक्स ब्याट र वनएक्स बेटको ‘कनेक्सन’ बारे अनुसन्धान गर्दै प्रहरी

पछिल्लो अध्यावधिक: असार १, २०८० १०:५१