close

अश्लील पोस्टमा ट्याग गरी फेसबुक अकाउन्ट ह्याक गर्दै ह्याकर, जोगिन के गर्ने ?

टेकपाना टेकपाना

असार १०, २०८० १९:२५

अश्लील पोस्टमा ट्याग गरी फेसबुक अकाउन्ट ह्याक गर्दै ह्याकर, जोगिन के गर्ने ?

काठमाडौं । पछिल्लो समय फेसबुक अकाउन्ट ह्याक गरी अश्लील सामग्रीका रुपमा मालवेयर फैलाउने क्रम बढेको छ ।

यस्तोमा सबैभन्दा पहिले ह्याकर फेसबुक प्रयोगकर्तालाई फिशिङ लिङ्क पठाउँछन् । त्यस्ता लिङ्कमा क्लिक गरिसकेपछि उनीहरू (लिङ्क क्लिक गर्ने) को अकाउन्ट ह्याकरको कब्जामा पर्छ । अनि उक्त अकाउन्टबाट पनि अश्लील देखिने पोस्टका लिङ्क शेयर गरिन्छ ।

यस्तो पोस्टमा बाहिर अश्लील क्याप्सन वा फोटो राखिएको हुन्छ । तर, भित्र मालवेयर रहेको हुन्छ । ह्याकरले अन्य व्यक्तिको अकाउन्ट कब्जा गरिसकेपछि त्यस्ता सामग्रीमा बढीभन्दा बढी साथी ट्याग गरेर पोस्ट गर्छ । 

यसरी शेयर गरिएको पोस्टमा ट्याग भएका व्यक्तिहरूसँग साथी भएका सबैले उक्त सामग्री देख्छन् । यदि आफ्नो साथीलाई ट्याग गरिएको यस्तो पोस्टमा भित्र के छ भनी लिङ्क खोल्दा उनीहरूको अकाउन्ट पनि ह्याकरको कब्जामा जान्छ । 

हामीले ह्याकरले फैलाउने एक लिङ्क (तल तस्वीरमा देखाइएको) को परीक्षण गरेको थियौं । उक्त लिंकमा क्लिक गरेपछि अकाउन्टको एक्सेस गुम्यो । त्यसपछि तत्कालै ‘पासवर्ड फर्गेट’ अप्सन प्रयोग गरी पासवर्ड परिवर्तन गरेर उक्त अकाउन्ट फिर्ता ल्याइएको थियो ।

यसरी लिंकमा क्लिक गर्ने बित्तिकै गुमेको अकाउन्ट प्रारम्भिक चरणमा भने फिर्ता ल्याउन सकिने देखियो । तत्काल पासवर्ड रिकभर गर्न नसकेको खण्डमा भने अकाउन्टको एक्सेस सधैंका लागि गुम्न सक्ने जोखिम छ ।

परीक्षण गरिएको सो लिंकमा अत्यधिक रिपोर्ट भएपछि भने हाललाई उक्त लिङ्क डाउन भएको छ । तर, पनि ह्यारकले अन्य थुप्रै यस्ता लिङ्क बनाएर मालवेयर फैलाइरहेका छन् । 

यस्तो घटनाबाट कसरी जोगिने?

सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईंले आफ्नै साथीले पठाएको लिङ्क भए पनि उक्त लिङ्कमा विश्वस्त नभएसम्म क्लिक गर्नु हुँदैन । यदि तपाईंलाई मेसेन्जरमा लिङ्क आएको छ भने फोन गरेर लिङ्कबारे बुझ्नुहोस् ।

अहिलेको यो घटना हेर्ने हो भने फेसबुक ट्याग प्रमुख चुनौतीको रूपमा देखिएको छ । यदि तपाईंले फेसबुक ट्याग स्वतः एसेप्ट हुने फिचर अन गर्नु भएको छ भने तपाईंलाई आफू यस्ता पोस्टमा ट्याग भएको थाहा नहुन सक्छ ।

त्यसैले पोस्ट ट्याग हुनुभन्दा पहिला आफूलाई जानकारी हुने गरी सेटिङ मिलाउनुहोस् । त्यसका लागि तलको प्रक्रिया अपनाउन सक्नुहुन्छ । 

- सबैभन्दा पहिला फेसबुक एप खोल्नुहोस् । 

- त्यसपछि माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा जानुहोस् । 

- अनि, त्यसको तल रहेको सेटिङको आइकनमा क्लिक गर्नुहोस् । 

- यति गरेपछि प्रोफाइल एन्ड ट्यागिङ (Profile and Taging) अप्सनमा जानुहोस् । 

- यदि आफ्नो टाइमलाइनमा कसैले ट्याग नगरोस् भन्ने चाहनुहुन्छ भने हु क्यान पोस्ट अन योर प्रोफाइल (Who can post on your profile ?) को अप्सनमा गएर अन्ली मी (Only me) अप्सन छान्नुहोस् । 

- त्यस्तै आफूलाई ट्याग गरेको पोस्ट कसलाई हेर्न दिने भन्ने विकल्प (अर्थात् who can see posts that you’re tagged in your profile?) मा गई आफूलाई उपयुक्त लाग्ने अप्सन छान्नुहोस् । यस्तोमा तपाईंले फ्रेन्डको अप्सन छान्न सक्नुहुन्छ । 

- यति गरेपछि रिभ्युविङ (Reviewing) को सेक्सनमा गइ अन्तिममा रहेको Review posts that you’re tagged in before the post appears in your profile को अप्सनलाई अन गर्नुहोस् । 

यति गर्नुभयो भने तपाईंलाई कसले ट्याग गर्‍यो भन्ने नोटिफिकेसन आउँछ । यदि तपाईंलाई उक्त पोस्ट आफ्नो फेसबुक प्रोफाइलमा देखाउने इच्छा छ भने ‘एड टु प्रोफाइल’ को बटनमा ट्याप गर्ने अभ्यास होस् । तर ट्याग रिक्वेस्ट हटाउन चाहनुहुन्छ भने ‘हाइड’को बटनमा दबाउन सक्नु हुन्छ । यदि हटाउने पनि होइन प्रोफाइलमा देखिन दिन पनि चाहनु हुन्न भने उक्त पोस्टलाई यत्तिकै छोड्न सक्नुहुन्छ । 

ट्याग भइसकेको अवस्थामा के गर्ने ?

मान्नुहोस्, तपाईंको फेसबुक अकाउन्टमा ट्याग गर्दा रिभ्यु हुने फिचर अन छैन र केही गरी उक्त पोस्ट तपाईंको प्रोफाइलमा देखियो । यस्तो अवस्थामा पनि तपाईंले आफूलाई ट्याग भएको उक्त पोस्टबाट अलग्याउन सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउन सक्नु हुन्छ । 

-सबैभन्दा पहिला आफ्नो प्रोफाइलमा जानुहोस् । 

-प्रोफाइलमा गइसकेपछि आफू ट्याग भएको पोस्ट खोल्नुहोस् । 

- अनि, दायाँपट्टि रहेको तीन ओटा डट भएको बटनमा ट्याप गर्नुहोस् । 

- अन्तिमभन्दा माथि रहेको रिमुभ ट्याग (Remove tag) को अप्सनमा ट्याप गर्नुहोस् । 

यसरी तपाईं आफू ट्याग भएको पोस्टबाट हट्न सक्नुहुन्छ । 

अकाउन्ट सुरक्षित राख्ने कुरामा ध्यान दिनुहोस्  

तपाईंले प्रयोग गरिरहेको फेसबुक अकाउन्ट तपाईंकै कारण कुनै पनि बेला अरूको कब्जामा जान सक्छ । तपाईंले इनबक्समा आउने मालवेयर लिङ्कमा क्लिक गर्नुभयो अथवा अरुलाई ट्याग गरिएका कुनै लिंकमा क्लिक गर्नु भयो भने तपाईँको अकाउन्टमा ह्याकरले पहुँच पाउँछ ।

कहिलेकाही तपाईंले थाहा नपाएरै यस्तो भएको हुनसक्छ । त्यस्तो अवस्थामा ह्याकरले तपाईँको अकाउन्ट दुरुपयोग गर्ने उपयुक्त समय खोजिरहेको हुन्छ ।

ह्याकरले दुरुपयोग गर्नु अगाडि नै आफ्नो अकाउन्ट रिकभर गर्नु उत्तम हुन्छ । तर सधैं यसरी रिकभर गर्ने अवस्था हुँदैन । त्यसैले पहिले नै आफ्नो अकाउन्टको सुरक्षित राख्ने उपाय अपनाउनु बुद्धिमानी हुन्छ ।  

यसको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्नो फेसबुकको पासवर्ड बारम्बार परिवर्तन गर्ने बानी बसाल्नु होस् । बेला बेलामा आफ्नो अकाउन्टमा रिकभरी ईमेल वा फोन नम्बर कसको छ भन्ने कुरा पनि चेक गर्नुहोस् ।

कहिलेकाहीं तपाईंको अकाउन्ट अन्य कसैले आफ्नो पहुँचमा लिएर त्यसमा अर्कै फोन नम्बर र ईमेल राखेको हुनसक्छ । 

यसरी माथि उल्लेख गरिएका सुरक्षाका तरिका अपनाउनु भयो भने तपाईं सामाजिक सञ्जाल फेसबुकमा सुरक्षित रहन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असार १२, २०८० १७:५९