close

यस्ता छन् फेसबुकमा प्रोफाइल लक गर्नुका ४ फाइदा

टेकपाना टेकपाना

असार २५, २०८० १०:३५

यस्ता छन् फेसबुकमा प्रोफाइल लक गर्नुका ४ फाइदा

 

काठमाडौं । फेसबुकले नेपालमा पनि प्रोफाइल लक फिचर उपलब्ध गराएकाे छ । यो त्यस्तो सुविधा हो, जसलाई प्रयाेग गरेकाे अवस्थामा तपाईंले फेसबुकमा राखेका पोस्ट, स्टोरी, फोटो, रिल्स, भिडिओ वा अन्य कुनै अपडेट तपाईंसँग साथी भएका व्यक्तिले मात्र देख्न पाउँछन् । त्यस्तै तपाईंको फेसबुक प्रोफाइल वा कभर फोटो जुम गरेर हेर्न पाउने सुविधा पनि तपाईंसँग एड भएका अकाउन्टलाई मात्र हुन्छ ।

‘प्रोफाइल लक’ फिचरले तपाईंले अपलोड गरेका सबै पोस्ट बाह्य प्रोफाइलले नदेख्ने गरी हाइड गरेको हुन्छ । त्यस्तै प्रोफाइल लक गरेको अकाउन्टको प्रोफाइलको स्क्रिनशट पनि कसैले  लिन सक्दैन । त्यसैले यो फिचर प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्न महत्त्वपूर्ण हुने कम्पनीको विश्वास छ । समग्रमा यसका के के फाइदा छन् भन्ने विषयमा चर्चा गर्दैछाैंः

गोपनीयता सुरक्षित गर्छ

याे सुविधाले तपाईँको फेसबुक प्रोफाइल लक मात्रै नगरी व्यक्तिगत जानकारीमा अनावश्यक व्यक्तिलाई पहुँच दिनबाट राेक्छ । प्रोफाइल लक हुँदा केवल तपाईंसँग जाेडिएका साथीहरूले मात्र पूरा प्रोफाइल र पोस्टहरू हेर्न सक्छन् ।

अपरिचित र साथीको रूपमा स्वीकार (एसेप्ट) नगरेका व्यक्तिले तपाईंको प्रोफाइल फाेटाे, कभर फोटोजस्ता सीमित जानकारीमात्र देख्नेछन् । यो सुविधाले अनधिकृत व्यक्तिहरूलाई व्यक्तिगत विवरणहरू हेर्नबाट रोकेर तपाईंको गोपनीयता सुरक्षित गर्न मद्दत गर्दछ ।

पहिचान चोरी विरुद्ध सुरक्षा

फेसबुक प्रोफाइल लक गरेर तपाईंले आफ्नो पहिचान चोरीको जोखिम कम गर्न सक्नुहुन्छ । फेसबुकमा जाेडिएका  साथीहरूले मात्र तपाईंको प्रोफाइल हेर्न र तपाईंका पोष्टहरू पहुँच गर्नसक्ने हुनाले खराब नियत भएका व्यक्तिहरूलाई तपाईंको बारेमा व्यक्तिगत जानकारी सङ्कलन गर्न गाह्रो हुन्छ ।

पहिचान चोरीमा संलग्न हुने व्यक्तिहरूले प्राय सामाजिक सञ्जालका अकाउन्टहरूलाई निशाना बनाई व्यक्तिगत जानकारी सङ्कलन गर्छन् । फेसबुक प्रोफाइल लक गर्दा त्यस्ता व्यक्तिले तपाईंको जन्ममिति, सम्पर्क जानकारी, तपाईँ भएको ठाउँ, पोस्ट भएका सामग्री र अन्य विवरण पहुँच गर्न सक्दैनन् । 

नियमित रूपमा आफ्नो प्राइभेसी सेटिङहरू रिभ्यु र अपडेट गर्नुका साथै बलियो पासवर्ड प्रयोग गर्न ध्यान दिनुपर्छ । त्यस्तै शङ्कास्पद मेसेज वा फ्रेन्ड रिक्वेस्टहरूबाट सावधान रहँदा पहिचान चोरी हुनबाट जोगिन सकिन्छ ।

नचाहिने फ्रेन्ड रिक्वेस्ट कम गर्छ

प्रोफाइल लक गर्दा अनावश्यक व्यक्तिहरूले तपाईंलाई फ्रेन्ड रिक्वेस्ट पठाउन सक्दैनन् । यसले अज्ञात वा संदिग्ध अकाउन्टहरूबाट अनावश्यक रिक्वेस्टहरूको संख्या कम गर्न मद्दत गर्दछ ।

त्यस्ता फ्रेन्ड रिक्वेस्टहरू फिल्टर गरेर तपाईंले फेसबुकमा थप व्यवस्थित र सुरक्षित साथीहरूको सूची कायम राख्न सक्नुहुन्छ ।

अनावश्यक ट्यागिङ र पोष्टहरू रोक्छ

याे सुविधा प्रयाेग गरेपछि तपाईंको प्रोफाइलमा सीमित ट्यागिङ र पोस्टिङ क्षमताहरू हुनेछन् । यसको मतलब फेसबुकमा साथी नभएका व्यक्तिहरूले तपाईंको अनुमति बिना तस्विर वा पोस्टहरूमा तपाईंलाई ट्याग गर्न सक्दैनन् । 

प्रोफाइल लक फिचर उपलब्ध छ वा छैन हेर्न तलको प्रक्रिया अपनाउनुहोस्:

-सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् । 

-त्यसपछि माथि दायाँपट्टि भएको प्रोफाइलको आइकनमा गई आफ्नो नाममा ट्याप गर्नुहोस् । 

-अनि, एड टु स्टोरीको बक्सको छेउमा रहेको तीन ओटा थोप्लोमा ट्याप गर्नुहोस् । 

-र, त्यहाँ  ‘लक प्रोफाइल’ को अप्सन देखिएको छ भने तपाईंले आफ्नो प्रोफाइलमा सो फिचर उपलब्ध छ भन्ने बुझ्न सक्नुहुन्छ । 

-यदि उक्त फिचर इनेबल गर्न चाहनुहुन्छ भने लक प्रोफाइल अप्सनमा ट्याप गर्नुहोस् ।

-अनि तलपट्टि रहेको ‘लक योर प्रोफाइल’ अप्सनमा ट्याप गर्नुहोस् । 

-यति गर्नुभयो भने तपाईंको प्रोफाइल लक हुन्छ ।

पछिल्लो अध्यावधिक: असार २५, २०८० ११:०