close

गुगलले सुझाव दिएको पासवर्ड प्रयोग गर्नु कत्तिको जोखिम ?

टेकपाना टेकपाना

साउन ३०, २०८० १६:४९

गुगलले सुझाव दिएको पासवर्ड प्रयोग गर्नु कत्तिको जोखिम ?

काठमाडौं । विभिन्न अनलाइन अकाउन्टका लागि प्रयोग हुने पासवर्ड जटिल र सजिलै अनुमान गर्न नसकिने किसिमको राख्नुपर्छ । तर, हामी हाम्रो सहजता र सहजै सम्झिनका लागि सामान्य पासवर्ड राख्छौं । यसले गर्दा अकाउन्ट ह्याक हुने जोखिम उच्च हुन्छ ।

प्रयोगकर्तालाई पासवर्ड राख्न गाह्रो नहोस् भन्ने मनसायले गुगलले विभिन्न अनलाइन अकाउन्ट बनाउँदा जटिल पासवर्ड सुझाव दिन्छ । यस्ता पासवर्डहरू सम्झिरहन झन्झट गर्नु पर्दैन । किनभने यी पासवर्ड प्रयोगकर्ताको डिभाइसमा हुने गुगलको पासवर्ड मेनेजरमा सुरक्षित हुन्छन् । त्यसबाहेक पनि गुगल पासवर्डका अन्य थुप्रै विशेषता छन् ।

गुगलले सुझाव दिएका यस्ता पासवर्ड प्रयोग गर्नु कत्तिको जायज हो त ? यस्ता पासवर्ड प्रयोग गर्दा हाम्रो अकाउन्ट ह्याक हुन्छ कि हुँदैन ? आज हामी यसै विषयमा चर्चा गर्दैछौं । 

सबैभन्दा पहिले बुझौं, गुगलले कसरी कडा पासवर्ड सुझाव दिन्छ ? तपाईंले क्रोम ब्राउजरमा कुनै पनि वेबसाइटका लागि अनलाइन अकाउन्ट बनाउँदै हुनुहुन्छ र पासवर्डको बक्समा ट्याप गर्नुभयो भने त्यहाँ ‘सजेस्टेड स्ट्रोङ पासवर्ड’ (Suggested Strong Password) भन्ने अप्सन देखिन्छ ।

यदि सो अप्सनमा ट्याप गर्नुभयो भने गुगलले विभिन्न अक्षर र अङ्कको संयोजनबाट तयार पारेको कडा पासवर्ड देखिन्छ । पासवर्ड राखेर अकाउन्ट बनाइसकेपछि उक्त पासवर्ड गुगल अकाउन्टमा सेभ हुन्छ ।

गुगलका अनुसार पासवर्ड मेनेजरले सुझाव दिने पासवर्ड हरेक पटक युनिक हुन्छ । यसले फरक-फरक अकाउन्टका लागि फरक-फरक पासवर्ड सुझाव दिन्छ । यदि केही गरी तपाईंको एउटा अकाउन्टको पासवर्ड कसैलाई थाहा भयो भने पनि अरू अकाउन्ट सुरक्षित नै हुन्छन् ।

त्यसबाहेक पनि तपाईंले जुन गुगल अकाउन्टको पासवर्ड मेनेजर प्रयोग गर्नुभएको छ, त्यो अकाउन्ट जुनसुकै डिभाइसमा राखेर पनि पासवर्ड मेनेजर प्रयोग गर्न सक्नुहुन्छ । पासवर्ड मेनेजरमा रहेका पासवर्डलाई गुगलको इन-बिल्ट सेक्युरिटी सिस्टमले सुरक्षित गर्ने कम्पनीको दाबी छ ।

त्यस्तै तपाईंले अर्को पटक सोही अकाउन्ट लगइन गर्नुपर्‍याे भने गुगलले सोही पासवर्ड स्वतः बक्समा राखिदिन्छ । त्यस्तै तपाईंले विभिन्न अकाउन्टका लागि राखेको पासवर्ड कसैले इन्टरनेटमा राखेको छ भने गुगलले उक्त पासवर्ड असुरक्षित भएको भन्दै नोटिफिकेसन पठाउँछ ।

यदि तपाईंलाई आफ्नो पासवर्ड मेनेजरमा रहेका पासवर्ड असुरक्षित भन्ने शंका लागेमा यहाँ क्लिक गरी जाँच गर्न सक्नुहुन्छ । त्यसपछि तपाईं आफूले राखेको पासवर्ड परिवर्तन गर्न सक्नुहुन्छ ।

यदि गुगलले सुझाव दिएको पासवर्ड असुरक्षित भएको शंका लागेमा तपाईंले त्यही कुनै अङ्क वा अक्षर यताउति राख्ने वा आफूलाई लागेका अक्षर वा अङ्क भरिदिन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: साउन ३०, २०८० १६:४९