close

अवैध जुवा एप ‘फिफिया’ मार्फत ११ लाख ठगी गर्ने युवती पक्राउ

टेकपाना टेकपाना

असोज ४, २०८० १७:४८

अवैध जुवा एप ‘फिफिया’ मार्फत ११ लाख ठगी गर्ने युवती पक्राउ

काठमाडौं । फिफिया एपमार्फत अनलाइन जुवा खेलाउने बहानामा ११ लाख रुपैयाँ बढी ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले भोजपुर घर भई हाल काठमाडौं टोखा बस्दै आएकी २८ वर्षीय दादिला शेर्पा (राई) लाई पक्राउ गरेको हो ।

कार्यालयका अनुसार आरोपित शेर्पा मानिसहरूलाई फेसबुक, ह्वाट्सएप, भाइबर जस्ता सामाजिक सञ्जालबाट साथी बनाउँथिन् । त्यसपछि उनीहरूको जिमेल आईडी लिएर अनलाइन जुवा प्लेटफर्म फिफियाको अकाउन्ट बनाइदिन्थिन् । त्यसपछि सो एपको यूआरएल पठाएर एप इन्स्टल गर्न लगाउँथिन् ।

यति भएपछि ती व्यक्तिको बैंक खाता लगायतको बायोडेटा विवरण अपडेट गर्न लगाई उनीहरूलाई सोहि एपबाट हुने आर्थिक कारोबार नेपालमा कानुन बमोजिम छ भन्ने विश्वास दिलाउँथे । यसरी नेपालमा अवैध अनलाइन जुवाको प्लेटफर्म फिफियामा बैंकबाट रकम जम्मा गर्न लगाउँथिन् ।

प्रहरीका अनुसार उनी पीडितलाई रकम डिपोजिट गरेको ९० मिनेटभित्र लगानी गरेको रकममा १.४८ प्रतिशतका दरले फाइदा हुन्छ भन्ने जस्ता झुट्ठा आश्वासन दिई प्रलोभन देखाउँथिन् ।

यसरी विभिन्न तीन जना पीडितबाट ११ लाख २७ हजार रुपैयाँ ठगी गरेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले जानकारी दिए । पक्राउ परेकी शेर्पा (राई) लाई प्रचलित कानुन बमोजिम ठगी तथा सट्टेबाजी सम्बन्धी कसूर आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज ४, २०८० १९:३