close

मेटाले ल्यायो नयाँ चस्मा, फोटो खिच्नेदेखि फेसबुक र इन्स्टाग्राममा लाइभ स्ट्रिम गर्ने सुविधा

टेकपाना टेकपाना

असोज १२, २०८० १४:२६

मेटाले ल्यायो नयाँ चस्मा, फोटो खिच्नेदेखि फेसबुक र इन्स्टाग्राममा लाइभ स्ट्रिम गर्ने सुविधा

काठमाडौं । मेटाले एआईमा आधारित रे-बन मेटा स्मार्ट ग्लास (चस्मा) सार्वजनिक गरेको छ । बुधवार आयोजित मेटा कनेक्ट इभेन्टमा कम्पनीले लाइभ स्ट्रिमिङ सेवा सहितको चस्मा सार्वजनिक गरेको हो ।

यसअघि मेटाले बजारमा ल्याएको चस्मामा लाइभ स्ट्रिमिङ सुविधा थिएन । नयाँ स्मार्ट ग्लासाई स्तरीय र अत्याधुनिक बनाउन कम्पनीले उक्त फिचर समावेश गरेको छ । यसले गर्दा चस्मा लगाउँदा प्रयोगकर्ताले जुन दृश्य देखेका छन्, त्यसलाई सोझै फेसबुक र इन्स्टाग्राममा प्रत्यक्ष प्रसारण गर्न सकिनेछ ।

यसको सहायताले प्रयोगकर्ताले फोटो तथा भिडिओ पनि खिच्न सक्नेछन् । चस्मामा भएको १२ मेगापिक्सेलको क्यामेराले आकर्षक फोटो खिच्ने कम्पनीको भनाइ छ । एक मिनेटसम्मको भिडिओ खिच्ने सुविधा भएको यो स्मार्ट चस्मालाई उक्त फोटो वा भिडिओ जसलाई पठाउन भनियो, उसैलाई एआईमार्फत् पठाइदिने छ ।

मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले मेटा कनेक्ट इभेन्टमा यो चस्माले भर्चुअल र वास्तविक संसारलाई एक आपसमा जोड्ने बताएका छन् । उनले यो चस्मालाई पहिलेको तुलनामा थप स्तरीय बनाएको उल्लेख गरे ।

विशेषगरी अडियोलाई स्तरीय बनाउन आवाज ५० प्रतिशत लाउड तथा बेस दुई गुणाले बढाइएको छ । मेटा एआईमा आधारित उक्त चस्मा क्वाल्कम स्न्यापड्रागन एआर वन जेन वन चिपसेटद्वारा सञ्चालित छ । यो चिपसेट विशेषगरी फोटो तथा भिडिओलाई छिटो स्तरीय बनाउन प्रयोग गरिएको कम्पनीको भनाइ छ ।

एक पटकको फूल चार्जमा प्रयोगकर्ताले ​चार्जिङ केस प्रयोग गर्दै ३६ घण्टासम्म चस्मा लगाउन सक्छन् । वाटर रेसिस्टेन्टका लागि यसले आईपीएक्स फोर रेटिङ पाएको छ ।

त्यस्तै यसमा भएको टचप्याडको सहयाताले प्रयोगकर्ताले डिभाइसलाई आफ्नो आवश्यकता अनुसारको कमान्ड दिन सकिने छ । प्रयोगकर्ताले यो स्मार्ट ग्लास अक्टोबर १७ देखि खरिद गर्न सक्नेछन् ।

साधारण रे-बन मेटा ग्लासको सुरुवाती मूल्य अमेरिकी २९९ डलर (करिब साढे ३९ हजार रुपैयाँ) रहेको छ । त्यसमा पनि पोलराइज्ड लेन्ससहितकाे ग्लासका लागि ३२९ अमेरिकी डलर (करिब साढे ४३ हजार रुपैयाँ) मूल्य ताेकिएकाे छ । 

स्मार्ट ग्लास उद्योगका लागि मेटाले रे-बनसँग सन् २०२१ देखि सहकार्य गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज १२, २०८० १४:५१