close

मुस्लिम प्रति लक्षित फेसबुक स्टाटसका कारण नेपालगञ्जमा दङ्गा, नियन्त्रण गर्न लगाइयो कर्फ्यु

टेकपाना टेकपाना

असोज १६, २०८० १५:५

मुस्लिम प्रति लक्षित फेसबुक स्टाटसका कारण नेपालगञ्जमा दङ्गा, नियन्त्रण गर्न लगाइयो कर्फ्यु

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसका कारण विवाद उत्पन्न भएपछि नेपालगञ्ज नगर क्षेत्रमा कर्फ्यु लागू भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलवार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेकाे हो ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यका अनुसार मोहम्मद डेको दिन एक जना व्यक्तिले सामाजिक संजालमा इस्लाम धर्मलाई लक्षित गरेर अभिव्यक्ति दिएको भन्दै आइतबार मुस्लिम समुदायले नेपालगञ्जमा टायर बालेर नाराबाजी गरेकाे थियाे ।

सामाजिक सञ्जालकाे याे पाेस्टबाट सुरु भएकाे विवादले उग्र रूप लिएपछि सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुता खल्बलिने अवस्था आएकाले  कर्फ्यु जारी गर्नुपरेकाे प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

उनका अनुसार सार्वजनिक सम्पत्ति तोडफोड, ढुङ्गामुढा प्रहार लगायतका गतिविधि भएको तथा सर्वसाधरणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एव शान्ति भङ्ग हुने स्थिति देखिएले कर्फ्यु लगाइएको हाे ।

मुस्लिमप्रति लक्षित फेसबुक स्टाटसकाे विराेधमा आइतवार मुस्लिम समुदायले विरोध र्‍याली निकालेको थियो । त्यसपछि मंगलबार विहान ओमकार परिवार हिन्दु समाजले सद्भाव र्‍याली निकालेको थियो । साेही समयमा हिन्दु धर्मावलम्बीहरूको नाममा एक समूहले निकालेकाे  र्‍यालीमा ‘गौहत्या बन्द गर, गौहत्या गर्नेलाई कारबाही गर’ लगायतका नारा लगाइएकाे थियाे ।

सो घटनासँगै स्थिति तनावपूर्ण हुने देखेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको प्रजिअ आचार्यले बताए । यसअन्तर्गत पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकामा जारी गरिएको उनले जानकारी दिए ।

"यति चार किल्ला सीमा क्षेत्रभित्र कसैले भेला हुन, सभा समारोह गर्न, जुलुस न्याली गर्न, हुल हुज्जत गर्न र हिँडडुल गर्न समेत नपाइने गरी मंगलवार दिउँसो १ बजेदेखि अनिश्चित कालसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यु आदेश जारी गरिएको छ," आचार्यले हस्ताक्षर गरेकाे सूचनामा लेखिएको छ ।

कर्फ्यु आदेशको उल्लङ्घन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारवाही गर्ने चेतावनी दिइएकाे छ ।

 

पछिल्लो अध्यावधिक: असोज १६, २०८० १५:४८