काठमाडौं । चाडबाडको बेला छ तपाईं कतै नौलो ठाउँमा घुम्न निस्किनु भएको हुनसक्छ । अथवा कतै घुम्न जाने योजना बनाइरहनु भएको हुनसक्छ । दशैंको छुट्टिमा प्रायः ट्रेकिङ, हाइकिङ र आफ्नो पुरानो घर घुम्न जाने योजना धेरैको हुन्छ ।
त्यस्तोमा नयाँ ठाउँ घुम्न गइसकेपछि आफू कहाँ जान लागेको, कुन ठाउँमा पुगेपछि अर्को कुन ठाउँ आउँछ, समय कति लाग्छ, कस्तो बाटो छोटो पर्छ भन्ने सोधिरहन तपाईंको साथमा अरू कोही नहुन सक्छन् । तर, स्मार्टफोन भने तपाईंसँगै हुन्छ । त्यसैले नयाँ ठाउँमा एक्लै वा सामूहिक यात्रा गर्दा गर्दा गुगल म्याप्स वा म्याप्स धेरै उपयोगी हुन्छन् । हामीसँग सधैं डेटा नहुन सक्छ । त्यस्तै हामी पुगेको ठाउँमा फोनमा नेटवर्क नआउन सक्छ । त्यसैले अफलाइन म्याप प्रयोग गर्नु उपयुक्त हुन्छ ।
गुगलले म्याप्सका लागि अफलाइन डाउनलोड गर्ने सुविधा धेरै पहिले ल्याइसकेको थियो । एप्पलले भने आईओएस १७ सँगै अफलाइन म्याप्स डाउनलोड गर्ने सुविधा ल्याएको छ । यद्यपि अधिकांश आईओएस प्रयोगकर्ताले गुगल म्याप्स नै प्रयोग गरिरहेका हुन्छन् । आज हामी कसरी अफलाइन म्याप डाउनलोड गर्ने भन्ने विषयमा जानकारी दिंदैछौं ।
एन्ड्रोइडमा यसरी डाउनलोड गर्नुहोस् अफलाइन म्याप्स
-सबैभन्दा पहिले गुगल म्याप्स एप खोल्नुहोस् ।
- अनि माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् ।
- यति गरेपछि तल देखिएको अफलाइन म्याप्सको अप्सनमा जानुहोस् ।
-र, सेलेक्ट योरवोन म्याप (SELECTYOUROWNMAP) को अप्सनमा जानुहोस् । र, आफू जान लागेको वा डाउनलोड गर्न चाहेको ठाउँ छान्नुहोस् । भरसक जुमआउट गरेर म्याप अलि सानो बनाएर आफूले डाउनलोड गरेको ठाउँ छान्नुहोस् ।
- त्यसपछि अन्तिममा दायाँपट्टि रहेको डाउनलोडको अप्सनमा ट्याप गर्नुहोस् । यति गरेपछि म्याप डाउनलोडको प्रक्रिया सुरु हुन्छ । तलपट्टि कति प्रतिशत डाउनलोड भयो भन्ने देखिन्छ ।
डाउनलोड भइसकेपछि तपाईंले डेटा अन नगरेरै अफलाइन डाउनलोड गरेको ठाउँ छनोट गरी प्रयोग गर्न सक्नुहुन्छ ।
आईओएस डिभाइसमा कसरी डाउनलोड गर्ने अफलाइन म्याप ?
- सबैभन्दा पहिले गुगल म्याप एप खोल्नुहोस् ।
- अनि माथि सर्च बारमा आफूले अफलाइन डाउनलोड गर्न चाहेको ठाउँको नाम टाइप गर्नुहोस् ।
- ठाउँ आइसकेपछि डाइरेक्सन(Direction) लेखेको अप्सनलाई माथितिर स्वाइप गर्नुहोस् ।
- र, माथि दायाँपट्टि रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।
- यति गरेपछि डाउनलोड अफलाइन म्याप (DownloadofflineMaps) को अप्सन देखिन्छ । त्यसपछि आफूले डाउनलोड गर्न चाहेको लोकेसनलाई चतुर्भुज आकारको बक्समा पार्नुहोस् । र, तलपट्टि रहेको डाउनलोडको अप्सनमा ट्याप गर्नुहोस् ।
यसरी आईओएसमा पनि गुगल म्याप्सको अफलाइन म्याप डाउनलोड गर्न सक्नुहुन्छ ।