close

अब नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सलाई समेत ट्राफिक प्रहरीले मान्यता दिने

टेकपाना टेकपाना

कात्तिक १३, २०८० १४:४७

अब नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सलाई समेत ट्राफिक प्रहरीले मान्यता दिने

काठमाडौं । अब नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सलाई समेत ट्राफिक प्रहरीले मान्यता दिने भएकाे छ । ​सोमवार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै नागरिक एपले याे सेवा देशैभर लागू भएकाे जानकारी दिएकाे हाे । 

याेसँगै ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमति पत्र मान्य हुने भएकाे हाे ।

"नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ," नागरिक एपकाे पोस्टमा लेखिएको छ ।  

सरकारले सम्पूर्ण सरकारी सेवालाई एकै ठाउँमा समेट्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको नागरिक एपबाट देखाएको डिजिटल लाइसेन्स किन मान्य हुँदैन भन्ने विषयमा बारम्बार प्रश्न उठिरहेको थियो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३१ बमोजिम यातायात निरीक्षक वा नेपाल प्रहरीले जाँचबुझको सिलसिलामा कुनै सवारी चालकको सवारी चालक अनुमतिपत्र सवारी दर्ता किताब सवारी इजाजतपत्र हेर्न खोजेमा देखाउनुपर्ने व्यवस्था रहेकाले भाैतिक लाइसेन्स नै देखाउनुपर्ने ट्राफिक प्रहरीकाे तर्क थियाे । 

अब भने नागरिक एप र ट्राफिक प्रहरीबीच समन्वय भएसँगै सवारी चालकले माेबाइलबाटै लाइसेन्स देखाउन सक्नेछन् ।

नागरिक एपमा लाइसेन्स कसरी लिङ्क गर्ने ? 

तपाईंले पक्कै पनि नागरिक एपमा आफ्नो सम्पूर्ण विवरण राखेर अकाउन्ट बनाइसक्नु भएको हुनसक्छ । यदि छैन भनेर नागरिक एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गरेर एप डाउनलोड गर्नुहोस् ।

त्यसपछि त्यहाँ मागिए अनुसारको विवरण दिएर अकाउन्ट भेरिफाइ गर्नुहोस् । त्यसपछि तलका प्रक्रिया अपनाएर ड्राइभिङ लाइसेन्स लिङ्क गर्न सकिन्छ । 

  • सबैभन्दा पहिले नागरिक एपको होमपेजमा जानुहोस् । 

  • अनि, पपुलर सर्भिसेस (Popular Services) वा नेपालीमा ‘लोकप्रिय सेवाहरू’ लेखिएको अप्सनमा रहेको ‘सवारी चालक अनुमति पत्र’ को अप्सनमा ट्याप गर्नुहोस् ।

  • यति आफ्नो सवारी चालक अनुमति पत्र नम्बर राखेर ‘पेस गर्नुहोस्’ लेखिएको बटनमा ट्याप गर्नुहोस् । 

  • र, तपाईंले दिएको नम्बर म्याच भएको खण्डमा लाइसेन्स लिङ्क हुन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८० १५:११