close

एलन मस्कले ल्याए च्याटजीपीटी जस्तै एआई टुल

टेकपाना टेकपाना

कात्तिक १८, २०८० १८:४१

एलन मस्कले ल्याए च्याटजीपीटी जस्तै एआई टुल

काठमाडौं । एलन मस्कको 'एक्सएआई' (xAI) नामक नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीले आफ्नो पहिलो उत्पादन सार्वजनिक गरेको छ । निश्चित समूहलाई उपलब्ध गराउने गरी मस्कको कम्पनीले शनिवार ग्रोक (Grok) नामक नयाँ एआई टुल ल्याएको हो ।  

च्याटजीपीटी जस्तै काम गर्नसक्ने बताइएकाे यो नयाँ एआई टुलबारे मस्कले केही कुरा एक्समा शेयर गरेका छन् । उनका अनुसार अहिले सार्वजनिक ‘ग्रोक’ च्याटबट बेटा भर्सन हो । 

याे च्याटबट हास्यचेत (humor) सहितको प्रतिक्रिया दिनसक्ने गरी बनाइएको छ । ‘गोर्क’ले सामाजिक सञ्जाल एक्सबाट वास्तविक समयमा सूचना लिनसक्ने र यसले अन्य एआई मोडेलहरूभन्दा गोर्कलाई राम्रो बनाउने मस्कले बताएका छन् । त्यस्तै उनले केही कुरामा अन्य एआईको तुलनामा यस टुल अब्बल रहेको समेत दाबी गरेका छन् ।

हरेक आधारभूत कुराको वास्तविकता बुझाउने उद्देश्य राखेर मस्कले गत मार्चमा एक्सएआई स्थापना गरेका थिए । बजारमा स्थापित ओपनएआई, गुगल, एन्थ्रोपिक जस्ता कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न उनले तिनै कम्पनीहरूमा काम गरिसकेका इन्जिनियरहरूलाई लिएका थिए । त्यसका साथै मस्कले चिप उत्पादनमा अगाडि रहेको एनभिदियाबाट एक्सएआईका मोडेलहरू विकास गर्न शक्तिशाली जीपीयू प्रोसेसरहरू लिएको बताइन्छ । 

एक्सएआईका सह-संस्थापक ग्रेग याङका अनुसार 'म्याथम्याटिक्स अफ डिप लर्निङ' को खोजी गर्नु र न्यूरल नेटवर्कका लागि 'थ्यौरी अफ एभ्रिथिङ' तयार पार्नु कम्पनीको लक्ष्य छ । त्यसबाट एआईलाई अर्को तहमा लान सकिने याङको भनाइ छ ।

कम्पनीको वेबसाइटमा भने ब्रह्माण्डको प्रकृतिबारे बुझाउनु उद्देश्य रहेको उल्लेख छ । तर मस्कले यो नयाँ टुलको प्रयोगकर्ताबारे भने केही बताएका छैनन् । 

यद्यपि एक्सको प्रिमियम प्लस लिने सब्सक्राइबरहरूलाई गोर्क सिस्टमको बेटा भर्सन उपलब्ध गराउने उनले जनाएका छन् । हाल एक्सको प्रिमियम प्लस लिन मासिक १६ डलर (करिब दुई हजार १३५ रुपैयाँ) तिर्नुपर्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८० १२:१७