close

नेपाल आयो पहिलो हाइड्रोजन कार, तर सडकमा गुडाउन नम्बर प्लेट पाउने कानून छैन

टेकपाना टेकपाना

कात्तिक १९, २०८० १९:१५

नेपाल आयो पहिलो हाइड्रोजन कार, तर सडकमा गुडाउन नम्बर प्लेट पाउने कानून छैन

काठमाडौं । काठमाडौं विश्वविद्यालयले शनिवार नेपालकै पहिलो हाइड्रोजन फ्युल सेल कार नेपाल भित्र्याएको छ । ग्रिन हाइड्रोजनमा अध्ययन अनुसन्धान गरिरहेको विश्वविद्यालयले यसको व्यावसायिक उत्पादन र प्रयोगलाई बल पुर्‍याउन यो गाडी नेपाल ल्याएको हो । 

विश्वविद्यालयले दक्षिण कोरियाबाट हुन्डाईको नेक्सो फ्युल सेल हाइड्रोजन कार ल्याएको विश्वविद्यालयका एसोसियट प्राध्यापक डा बिराजसिंह थापाले जानकारी दिए । उनी  विश्वविद्यालय अन्तर्गतको नेपाल हाइड्रोजन इनिसियटिभ्सका परियोजना प्रमुख समेत हुन् । 

बिराजसिंह थापाका अनुसार नेपाल आयल निगमको सहयोगमा यो गाडी नेपाल भित्रिएको हो । कोरियामा ६० हजार १३५ (करिब ८० लाख रुपैयाँ) मूल्य पर्ने यो गाडीको पावर १६१ हर्स पावर अर्थात १२० किलोवाट क्षमताको रहेको छ । जसले ६११.५५१ किमि रेञ्ज दिने बताइएको छ । 

हाल नेपालमा उत्पादित जलविद्युत खेर गइरहेको उल्लेख गर्दै एसोसियट प्रोफेसर थापाले त्यसबाट ग्रिन हाइड्रोजन उत्पादन गर्न सकिने प्रचुर सम्भावना रहेको बताए । “कोरिया, जापान, अमेरिका जस्ता देशहरूमा हाइड्रोजनबाट यातायातका साधन व्यावसायिक रूपमा सञ्चालनमा आइसकेका छन्,” उनले भने, “नेपाललाई समेत त्यसका लागि अनुकूल कसरी बनाउन सकिन्छ भनेर अनुसन्धान गर्ने क्रममा यो गाडी आयात गरिएको हो ।”

हाल आयल निगमले डिजेल-पेट्रोल आयात तथा बिक्री गर्दै आइरहेको छ । आगामी दिनमा पेट्रोलियम पदार्थको साटो विद्युतीय र हाइड्रोजन इन्धन प्रयोग हुँदा निगमको औचित्य के होला भन्ने प्रश्न समेत रहेको छ । 

यस्तोमा निगम डिजेल-पेट्रोल आयात गर्ने संस्थानबाट हाइड्रोजन निर्यात गर्ने संस्थान बन्न सक्ने थापा बताउँछन् । “हामी आफ्नै प्रयासमा नमुनाको रूपमा हाइड्रोजनबाट चल्ने गाडी र रिफिलिङ स्टेसनको डिजाइन गरौं भनेर लागिरहेका छौं, जसलाई भविष्यमा व्यावसायिक स्टेसनको रूपमा विकास गर्न सकियोस्,” ” उनी भन्छन्, “तर त्यसमा ठूलो लागत लाग्ने देखियो ।”

आफैं कार डिजाइन गर्दा नयाँ खरिद गर्नु भन्दा निकै महँगो पर्ने देखिएपछि यो गाडी ल्याइएको हो । यद्यपि स्थानीय रूपमा हाइड्रोजनबाट चल्ने गाडी र रिफिल सेन्टरको डिजाइनको कार्य समेत निरन्तर जारी रहने विश्वविद्यालयले जनाएको छ । 

“अहिले विश्व बजारमा आइसकेको प्रविधि भित्र्याएर त्यसका लागि आवश्यक नीतिगत तथा कानूनी बाटो खोलौं भन्ने सोचाई हो,” एसोसियट प्राध्यापक थापा भन्छन्, “नेपालको सडकमा पहिलो पटक हाइड्रोजन कार कुद्यो, अब बस पनि कुदाउनु पर्छ भन्ने धारणा विकसित हुन सक्छ । अब रिफिलिङ स्टेसन काठमाडौं विश्वविद्यालयभित्र छ, त्यही प्रयोग गरे पनि भयो । हाइड्रोजन कारका लागि नेपालमा अलि ठूलो रिफिल स्टेसन बनाऔं भन्ने पनि हुन सक्छ ।”

तर यातायात व्यवस्था विभागले भने अहिलेसम्म हाइड्रोजनबाट चल्ने सवारी साधनका लागि नम्बर प्लेटको व्यवस्था भने गरेको छैन । हाइड्रोजनलाई इन्धनको रूपमा वर्गीकरण गर्न सकेको खण्डमा यी कुराहरू पनि अघि बढ्दै जाने अपेक्षाका साथ काठमाडौं विश्वविद्यालयले हाइड्रोजन कार र हाइड्रोजन रिफिलिङ स्टेसन प्रयोगात्मक रूपमा भित्र्याएको हो । 

“अब यो गाडी प्रयोगमा ल्याउँछौं,” थापाले भने, “प्रधानमन्त्रीले यस अघि नै हाइड्रोजन कार चढ्ने घोषणा गरिसक्नु भएको छ । सोही घोषणा अनुसार प्रधानमन्त्री स्वयम् यो कारमा चढेर हाइड्रोजन कार उद्घाटन होस् भन्ने अपेक्षा गरिरहेका छौं ।” 

प्रधानमन्त्रीलाई सहभागी गराउन सकिएको खण्डमा हाइड्रोजन कार व्यावसायिक रूपमा नेपाली सडकमा गुड्न के कस्ता व्यवधान छन् तिनलाई समाधान गरौं भन्ने नीतिगत परिवर्तनको सोचको अपेक्षा समेत छ । त्यसबाट हाइड्रोजन कारका लागि नम्बर प्लेट, व्यावसायिक रूपमा हाइड्रोजन उत्पादन गर्न दिने कानून, व्यवसायीहरूले हाइड्रोजन कार आयात गर्ने वातावरण, हाइड्रोजन रिफिल स्टेसन बनाउने आधार बन्न सक्ने थापाले बताए । 

“यही पृष्ठभूमि निर्माण गर्ने उद्देश्यका साथ काठमाडौं विश्वविद्यालयले यस किसिमको अग्रसरता देखाएको हो,” एसोसियट प्राध्यापक थापाले भने, “यो ऐतिहासिक दिन पनि हो । जुन नेपालमा पहिलो पटक हाइड्रोजन कार भित्रिएको दिनको रूपमा अङ्कित हुनेछ ।”

उनी नेपालको भविष्य हाइड्रोजनले निर्धारण गर्न सक्नेमा विश्वास गर्छन् । “खाडी मुलुकहरू पेट्रोलियम पदार्थकै कारण सम्पन्न भए । त्यस्तै गरी नेपालले हाइड्रोजनबाट लाभ लिन सक्ने पर्याप्त सम्भावना छ,” उनी भन्छन्, “हामीसँग आन्तरिक रूपमा हाइड्रोजन खपत गर्ने र भविष्यमा संसारलाई आवश्यक हाइड्रोजन निर्यात गर्न सक्ने सम्भावना छ ।” 

 

पछिल्लो अध्यावधिक: कात्तिक १९, २०८० १९:२२