close

अडियो फाइलमा भएका फरक-फरक आवाज छुट्याउन मिल्ने एआई टुल ल्याउँदै एडोबी

टेकपाना टेकपाना

कात्तिक ३०, २०८० १५:३

अडियो फाइलमा भएका फरक-फरक आवाज छुट्याउन मिल्ने एआई टुल ल्याउँदै एडोबी

काठमाडौं । अडियो फाइलमा हुने आवाजका विभिन्न तहहरूलाई छुट्ट्याउन एडोबीले नयाँ टुल ल्याउने भएको छ । द भर्जका अनुसार कम्पनीले यसका लागि एआई प्रयोग गरेर प्रोजेक्ट साउन्ड लिफ्ट नामक परियोजनामा काम गरिरहेको छ ।

अहिले विकासको चरणमा रहेको यस टुलले ताली बजाएको, हाँसेको, भाषण दिएको, भिडको, टाइपिङ गरेको लगायत थुप्रै आवाजहरू पहिचान गरेर तिनको मात्र छुट्टै फाइल बनाउन सक्छ । अर्थात् भिडमा भाषण दिएको अडियो फाइलबाट यस टुलले भाषण दिने मान्छेको आवाज र भिडको आवाज छुट्याएर फरक-फरक फाइल बनाउन सक्छ । जसलाई पछि प्रयोगकर्ताले आवश्यकता अनुसार सम्पादन गर्न सक्छन् ।

यो टुललाई एडोबीले आफ्नो 'स्‍निक' प्रिभ्यु प्रोग्राम अन्तर्गत विकास गरिरहेको द भर्जले उल्लेख गरेको छ । यसको अन्तिम उत्पादन कहिले तयार हुन्छ र प्रयोगकर्ताहरूले कहिलेदेखि प्रयोग गर्न पाउँछन् भन्ने कुरा अन्यौल नै छ ।

विशेषगरी यस्ता टुलहरू अडियो रेस्टोरेसन (काम नलाग्‍ने अडियो फाइललाई मर्मत गर्ने) का लागि उपयोगी हुने देखिन्छ ।

पछिल्लो समय चर्चामा रहेको बिटल्स ब्यान्डको 'नाउ एन्ड देन' गीत यही प्रविधिमा आधारित भएर तयार पारिएको थियो । बिटल्सले गायक जोन लेननको आवाज र पियानोको आवाज अलग्याउन यस प्रकारको प्रविधि प्रयोग गरेर तीन दशक पुरानो अधुरो गीत पूरा गरेको थियो । 

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८० १५:३५