close

गुणस्तर परीक्षणका लागि आज १५० ओटा ड्राइभिङ लाइसेन्स प्रिन्ट गरिँदै

टेकपाना टेकपाना

माघ ९, २०८० १३:५९

गुणस्तर परीक्षणका लागि आज १५० ओटा ड्राइभिङ लाइसेन्स प्रिन्ट गरिँदै

काठमाडौं । झन्डै आठ महिनादेखि रोकिएको सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) छपाइको पहिलो चरणको परीक्षण छपाइ सुरु भएको छ । यातायात व्यवस्था विभागले कार्डकाे गुणस्तर परीक्षण गर्न मङ्गलवार १५० ओटा लाइसेन्स छाप्न लागेको हो ।

पुस २६ गते जर्मनीबाट ६ लाख कार्ड आएपछि लाइसेन्स छपाइकाे परीक्षण सुरु भएको विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए । 

“ल्याब परीक्षणका लागि प्रिन्ट गरेको १०० ओटा कार्ड र प्रिन्ट नगरेकाे ५० ओटा कार्ड पठाउन लागेका छौं,” महानिर्देशक रिजालले भने, “ल्याबले कार्डको गुणस्तर र अन्य कुराहरू जाँच गर्छ ।”

परीक्षण सफल भएपछि नयाँ लाइसेन्स छपाइको काम औपचारिक रूपमा सुरु हुने रिजालले बताए । ल्याबबाट कार्ड स्वीकृत भएपछि दैनिक सातदेखि १० हजार कार्ड छाप्ने तयारी भइरहेको रिजालले सुनाए ।

कार्ड छाप्न सरकार र जर्मनी कम्पनी मुहेल्बर आईडी सेवा जीएमबीएचसँग गत फागुनमा सम्झौता भएको थियो । सम्झौता अनुसार उक्त कम्पनीले पहिलो र दोस्रो चरणमा गरी छ/छ लाख कार्ड नेपाल पठाउने छ ।

कार्ड छपाइका लागि विगतको सञ्चित माग हालसम्म करिब १४ लाख २० हजार रहेको छ ।

पछिल्लो अध्यावधिक: माघ ९, २०८० १४:४२