close

इटालियन डिजाइनको बिजुली कार ‘दिपल एस जेरो सेभेन’ नेपाली बजारमा, मूल्य ७२ लाख

टेकपाना टेकपाना

चैत १९, २०८० १७:२७

इटालियन डिजाइनको बिजुली कार ‘दिपल एस जेरो सेभेन’ नेपाली बजारमा, मूल्य ७२ लाख

काठमाडौं । चिनियाँ सवारी निर्माता चाङ्गन अटो ग्रुपको विद्युतीय गाडी नेपाल भित्रिएको छ । नेपालका लागि चाङ्गनको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले आइतबार एक कार्यक्रम गर्दै 'दिपल एस जेरो सेभेन' मोडेलको गाडी सार्वजनिक गरेको हो ।

गाडीको लम्बाइ ४७५० एमएम, चौडाइ १९३० एमएम, उचाइ १६२५ एमएम र ह्विलबेस २९०० एमएम रहेको छ । २० इन्चको ह्विलबेस रहेको यसको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ ।

दिपल एस जेरो सेभेनमा ९९ किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिङ्क्राेनस मोटर दिइएको छ । उक्त मोटरले उच्चतम ३२० न्यूटन मिटर टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

ब्याट्रीको सन्दर्भमा यसमा ६६.८ किलोवाट आवर क्षमताको लिथियम ब्याट्री राखिएको छ । यसले ४८५ किलोमिटर एनईडीसी र ४१० डब्लूएलटीपी रेञ्ज दिने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार ३० देखि ८० प्रतिशत (५० प्रतिशत चार्ज) चार्ज ३५ मिनेटमै गर्न सकिन्छ । यसको टर्निङ रेडियस ५.७५ मिटर रहेको छ।

च्यासिसका सन्दर्भमा इलेक्ट्रिक पावर स्टेरिङ रहेको यो गाडीको अगाडिपट्टिको चक्कामा भेन्टिलेटेड डिस्क र पछाडिपट्टि डिस्क ब्रेकिङ सिस्टम राखिएको छ । त्यसैगरी गाडीमा भेहिकल टु लोड (भीटुएल) असिस्ट, स्मार्ट रिजेनेरेटिभ ब्रेकिङ सिस्टम जस्ता चार्जिङ सुविधा दिइएको छ ।

गाडीको बाहिरपट्टि एलईडी स्टार पेटल डे टाइम रनिङ लाइट राखिएको छ । यसमा हाइट मिलाउन सकिने अटो अन/अफ हेडलाइट पनि दिइएको छ ।

त्यस्तै यसमा इलेक्ट्रिल रुफसेड राखिएको छ । गाडीको ढोकाको सिसमा फ्रेम समावेश छैन । ढोकामा इलेक्ट्रिक हिडन डोर ह्यान्डल राखिएको छ ।

कम्पनीका अनुसार यसमा ४४५ लिटर बुटस्पेस र १२५ लिटर फ्रङ स्पेस दिइएको छ । पानोरोमिक सनरुफ रहेको यस गाडीमा १५.६ इन्चको टिल्ट फङ्सन सहितको इन्फोटेन्मेन्ट सिस्टम दिएको छ ।

क्याबिनमा सोनी १४ स्पिकर म्युजिक सिस्टम, एआर नेभिगेसन सहितको हेड-अप डिस्प्ले, वायरलेस एप्पल कार प्ले र एलईडी मल्टी कलर र डाइनामिक एम्बियन्ट लाइट पनि राखिएको छ ।

यसमा पानी पर्दा स्वतः सिसा बन्द हुने सिस्टम जडान गरिएको कम्पनीले उल्लेख गरेको छ । कुलिङ भेन्ट सिस्टम भएको यस गाडीमा स्मार्ट की, भ्वाइस कन्ट्रोल र ४० वाट वायरलेस चार्जरको सुविधा पनि दिइएको छ । 

यसमा भएका विभिन्न सिस्टमले गाडी कस्तो मोडमा छ (जस्तै; क्याम्पिङ मोड, म्यजिक लाइट शो मोड, कोल्ड मोड, प्राइभेसी मोड, कार वाश मोड, स्मोकिङ मोड, न्याप मोड र बेबी केयर मोड) पहिचान गरी त्यही अनुसारको वातावरण सिर्जना गर्नेछ । 

सुरक्षाका लागि यसमा छ ओटा एयरब्याग दिइएको छ । इन्टेलिजेन्ट ड्राइभर असिस्टेन्स सिस्टमका सन्दर्भमा यसमा इन्टिग्रेटेड एडप्टिभ क्रुज कन्ट्रोल उपलब्ध गराइएको छ ।

यसले गाडी ठोक्किन लागेमा वार्निङ दिने, आपतकालीन अवस्थामा स्वतः ब्रेक लगाउने, सही लेनमा गुडाउने, ट्राफिक जाममा सहयोग गर्ने, लेन परिवर्तन गर्ने बेला वार्निङ दिने कम्पनीले जनाएको छ ।

त्यस्तै यसमा ब्लाइन्ड स्पट डिटेक्सन, डोर ओपनिङ वार्निङ, ड्राइभर थाके नथाकेको नियमन गर्ने प्रणाली, अटो हाई बिम, सेफ डिस्टेन्स वार्निङको सुविधा रहेको छ । यसमा टायर प्रेसर मनिटरिङ सिस्टम पनि छ । 

कम्पनीका अनुसार यसमा एन्टी लक ब्रेकिङ सिस्टम र इलेक्ट्रोनिक ब्रेक डिस्ट्रिब्युसन, ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिल होल्ड र हिल डिसेन्ट कन्ट्रोल लगायतका सुविधा पनि दिइएको छ । सिट बेल्ट नलगाए गाडीले सिट बेल्ट लगाउन सम्झाउनेछ । 

यसमा ट्रान्सप्यारेन्ट च्यासिस सहितको ३६० डिग्री क्यामेरा पनि दिइएको छ । गाडी चलेको अवस्थामा त्यहाँ भएका सबै गतिविधि क्यामेराले रेकर्ड गर्नेछ । यसमा अगाडिपट्टि दुई ओटा र पछाडिपट्टि चार ओटा पार्किङ सेन्सर रहेका छन् ।

नेपाली बजारमा यसको मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: चैत २२, २०८० १९:५