close

यात्रीले बनायो बीच बाटोमा अलपत्र ईभी उद्दार गर्न सकिने मोबाइल चार्जिङ स्टेसन

टेकपाना टेकपाना

चैत २७, २०८० १९:०

यात्रीले बनायो बीच बाटोमा अलपत्र ईभी उद्दार गर्न सकिने मोबाइल चार्जिङ स्टेसन

काठमाडौं । यात्री इनर्जीले निर्माण गरेको मोबाइल ईभी चार्जिङ स्टेसनको औपचारिक उद्घाटन गरिएको छ । आज (मङ्गलबार) काठमाडौंमा आयोजित एक कार्यक्रमबिच मोबाइल चार्जिङ स्टेसन सार्वजनिक गरिएको हो । 

मोबाइल बैंक जसैगरी बिजुली गाडीका लागि काम गर्ने यो प्रविधि यात्री इनर्जीले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएड) को ऊर्जा नेपाल परियोजनाको सहयोगमा तयार पारेको हो । विशेष गरेर बाटोमा ब्याट्री सकिएर अलपत्र परेका गाडीलाई उद्दार गर्न यसको प्रयोग गर्ने गरिन्छ । 

तर यो स्टेसन व्यावसायिक प्रयोगमा भने नआउने यात्रीले जनाएको छ । अर्थात् अहिले नै बिजुली गाडी मालिकहरूले यसबाट फाइदा लिन भने सक्ने छैनन् । अहिले यात्रीले विकास गरेको यो स्टेसनको क्षमता ३० किलोवाट रहेको छ ।

“हामीले बिजुली गाडीका लागि यस्तो पनि सुविधा हुन्छ है भनेर जनचेतना फैलाउन मात्र यसलाई तयार पारेका हौं,” टेकपानासँगको कुराकानीमा यात्रीका ब्याट्री सिस्टम इन्जिनियर सुजन ताम्राकारले भने, “त्यसैले यसको व्यावसायिक प्रयोग भने तत्कालै हुने छैन । बरु हामी यसलाई देशका विभिन्न सहरमा प्रदर्शनका लागि लैजाने छौं, जहाँ मानिसहरूले यसको डेमो हेर्न सक्ने छन् ।”

नेपालमा बिजुली गाडी खरिद गर्नेको सङ्ख्या बढ्दै गएको सन्दर्भमा चार्जिङको नयाँ समाधान दिन मात्र यसो गरिएको उनको भनाई छ । तर यस प्रकारको समाधान चाहिने भएकाले व्यावसायिक प्रयोग गर्ने गरी आगामी दिनमा नयाँ स्टेसन बनाउने सम्भावना भएको ताम्राकारले सुनाए । त्यसका लागि नेपाल विद्युत् प्राधिकरण पनि सकारात्मक देखिएको उनको भनाई छ । 

 

पछिल्लो अध्यावधिक: चैत २७, २०८० १९:०