close

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउँदा एनसेललाई मात्रै साढे १ अर्ब घाटा

टेकपाना टेकपाना

चैत २७, २०८० २०:१३

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउँदा एनसेललाई मात्रै साढे १ अर्ब घाटा

काठमाडौं । नेपालमा टिकटक प्रतिबन्ध हुँदा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई साढे एक अर्ब रुपैयाँ घटेको बताइएको छ छ । मंगलबार प्रविधि पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै एनसेलका प्रमुख सूचना अधिकृत (सीआईओ) विशाल उपाध्यायले यस्तो बताएका हुन् ।

उनका अनुसार टिकटक प्रतिबन्धको असर स्वरूप एनसेलले एक वर्षमा मात्रै एक अर्ब ४४ करोड रुपैयाँ बाराबरको आम्दानी गुमाएको छ । विशेष गरेर एनसेलको मोबाइल डेटा तर्फको आम्दानीमा ठूलो धक्का लागेको बताइएको छ ।

गत २७ कात्तिककाे मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सद्‍भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै नेपालमा टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो, जुन अझै कायमै छ । खासगरी टिकटक एप प्रयोग गर्न ग्राहकले मोबाइल डेटा प्याकेज लिने गरेको र सो एपमाथि प्रतिबन्ध लाग्दा ती प्रयोगकर्ताले डेटा प्याक लिन छोडेको अथवा कम मात्रामा खपत गरेका कारण टेलिकम कम्पनीको आम्दानीमा असर परेको हो ।

टिकटक नेपालमा सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल एप हुनुका साथै यसले देशको कूल इन्टरनेट ब्यान्डविथ मध्ये ३० देखि ३५ प्रतिशत खपत गर्दै आएको थियो । एनसेलको वित्तीय विवरण अनुसार कम्पनीले २०२२ मा ३७ अर्ब ८८ करोड ३३ लाख ८० हजार रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२३ को तेस्रो त्रैमासिक अवधिमा एनसेलको कूल आम्दानीमध्ये ३५ प्रतिशत आम्दानी डेटातर्फ रहेको थियो । 

यस हिसाबले टिकटक प्रतिबन्ध नहुँदाको अवस्थामा २०२३ मा एनसेलको आम्दानी सो वर्षकै समान हुने अनुमान गर्दा त्यसको ३५ प्रतिशत अर्थात् १३ अर्ब २५ करोड ९१ लाख ८३ हजार रुपैयाँ डेटा बिक्रीबाट आउनेवाला थियो । तर टिकटक प्रतिबन्ध जारी रहँदाको अवस्थामा कम्पनीले साढे एक अर्ब रुपैयाँ गुमाएको हो । 

नेपाल टेलिकमले भने टिकटक प्रतिबन्धका कारण कम्पनीको व्यवसायमा परेको असर बारे यकिन तथ्याङ्क बाहिर ल्याएको छैन । अनुमानित रूपमा एनसेल र टेलिकम दुवै कम्पनीलाई टिकटक प्रतिबन्धको असर समान रूपमा परेको ठानिएको छ । 

 

पछिल्लो अध्यावधिक: चैत २७, २०८० २०:१५