close

आईफोन १४ प्रो म्याक्सबाट खिचिएको नेपाली फिल्म एप्पल टिभी र अमेजन प्राइममा रिलिज हुँदै

टेकपाना टेकपाना

बैशाख १, २०८१ १५:१६

आईफोन १४ प्रो म्याक्सबाट खिचिएको नेपाली फिल्म एप्पल टिभी र अमेजन प्राइममा रिलिज हुँदै

काठमाडौं । आईफोन १४ प्रो म्याक्सबाट सम्पूर्ण छायाङ्कन गरिएको नेपाली फिल्म 'अ प्लेस अन्डर द सन' विश्व चर्चित ओटीटी प्लेटफर्मबाट रिलिज हुने भएको छ । चलचित्र निर्देशक जेसन लोप्चनका अनुसार 'क्राइम' विधामा आधारित उक्त फिल्म एप्पल टिभी, प्राइम भिडिओ र पिकक् स्ट्रिमिङ प्लेटफर्ममा रिलिज हुन लागेको हो । 

“एक महिना अघिदेखि तेस्रो पक्षसँगको सहयोगमा ती प्लेटफर्मसँग कुरा भइरहेको थियो । हामीले हालै मात्र फिल्म रिलिज गर्नेबारे सम्झौता गरेका हौं,” टेकपानासँग उनले भने, “नेपालमा फिल्म रिलिज गर्ने विकल्प नभएपछि खोज्दै जाँदा यस्तो अवसर जुरेको छ ।” 

निर्देशक लोप्चनका अनुसार फिल्म निर्माणको काम सकिएपछि नेपालमा रिलिज गर्ने प्रयास भएकाे थियाे । तर हलमा रिलिज गर्न बजेट नभएपछि उनीहरूले ओटीटीलाई विकल्प स्वरुप छानेका थिए । सोही क्रममा यो अवसर जुरेको उनले सुनाए ।  

अब क्रमश: टिजर, ट्रेलर, मार्केटिङ लगायतको काम हुने उनको भनाइ छ । आउँदो जुलाईमा रिलिज हुने यो फिल्म वन स्क्वाड फिल्म्सले निर्माण गरेको हो । नेपालमा भने हलमा लाग्ने सम्भावना कम भएकाले स्थानीय ओटीटी प्लेटफर्मसँग सहकार्य गर्न खोजिरहेको उनले सुनाए । 

फिल्मले तीन जना बाल्यकालमा मिल्ने युवाहरूको कथा भन्छ । फिल्ममा मीन घलान, मीरा गुरुङ, अंशु शर्मा, विप्लप गौली, प्रजन पौडेल, रिदेन श्रेष्ठ र प्रवेश एम्सीको अभिनय रहनेछ । यसैबी आजै फिल्मको पहिलाे लुक्स पनि सार्वजनिक गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८१ १४:२