close

आईफोनमा एप्पलको एआई इन्टरनेट बिना नै चल्ने !

टेकपाना टेकपाना

बैशाख १०, २०८१ १८:४४

आईफोनमा एप्पलको एआई इन्टरनेट बिना नै चल्ने !

काठमाडौं । आईफोनमा उपलब्ध हुने एआई टुल इन्टरनेट बिना नै चलाउन सकिने सम्भावना बढ्दै गएको छ । आईओएस १८ मा उपलब्ध हुने एआई टुललाई बिना इन्टरनेट चलाउन सकिने सम्भावना बढ्दै गएको हो ।

यदि एप्पलले यस्तो गर्न सके क्लाउड सर्भिसमा फोन कनेक्ट नगरेर नै आईफोनमा एआई सम्बन्धीका काम गर्न सकिने छ । ब्लुमवर्गका पत्रकार मार्क गुर्म्यानका अनुसार डिभाइसबाट सबै काम गर्न सक्ने बनाउन हाल एप्पलले काम गरिरहेको छ । 

गत डिसेम्बरमा एप्पलका अनुसन्धानकर्मीहरूले डिभाइसको त्यति धेरै मेमोरी प्रयोग नगरिकन आईफोनमा एआई टुल चलाउन सकिने नयाँ तरिका पत्ता लगाएको बताएका थिए । त्यस्तै एप्पलले आफ्नै लार्ज ल्याङ्वेज मोडल (एलएलएम) पनि विकास गरिरहेको बताइन्छ । जसलाई 'एज्याक्स' (Ajax) नाम दिइएको छ । एप्पलको यस एलएलएमले अहिले चलेका विभिन्न एलएलएमलाई टक्कर दिने अनुमान गरिएको छ ।

साथै विभिन्न एआई कम्पनीलाई अधिग्रहण गर्ने काम पनि एप्पलले गरिरहेको छ । सोहीकारण अब आउने आईओएसको नयाँ भर्सन तथा एप्पलको नयाँ मोडलमा इन्टरनेट बिना नै एआईको काम गर्न सकिने सम्भावना रहेको बताइन्छ । 

हालसम्म एप्पलले एआई सम्बन्धीका कुनै पनि उत्पादन सार्वजनिक गरेको छैन । आउँदो जुनमा हुने एप्पलको डेभलपर कन्फ्रेन्समा एआईबारे एप्पलले विशेष जानकारी घोषणा गर्ने सम्भावना छ । 

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८१ १८:४६