close

‘सिधा कुरा’मा प्रसारित ‘द डार्क फाइल’ श्रृङ्खलाका भिडिओ हटाउन सर्वोच्चको आदेश

टेकपाना टेकपाना

बैशाख १७, २०८१ १९:२२

‘सिधा कुरा’मा प्रसारित ‘द डार्क फाइल’ श्रृङ्खलाका भिडिओ हटाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सिधा कुरा डटकममा १४ वैशाखमा प्रकाशित ‘द डार्क फाइल’ शृङ्खलाका भिडिओ हटाउन तथा त्यसमा प्रयोग गरिएको अडिओको प्राविधिक जाँच गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको साेमवारकाे संयुक्त इजलासले ‘द डार्क फाइल’का भिडिओ सामग्री २४ घण्टाभित्र हटाउन आदेश दिएको हो । त्यस्तै भिडिओमा प्रयोग गरिएको अडिओको प्राविधिक जाँच गर्न प्रहरीलाई १५ दिनको समय दिइएको छ ।

“प्रत्यर्थीहरूले सम्पादन तथा सञ्चालन गरेको ‘सिधा कुरा’ नामक युट्युब च्यानलमा मिति २०८१।०१।१४ मा अपलोड गरी सम्प्रेषण गरिएको ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ शीर्षकको सामग्री तथा त्यसपछि श्रङ्खलाबद्ध रुपमा प्रसारण गरी अपलोड गरिएका सोही विषयसँग सम्बन्धित पछिल्लो श्रव्यदृश्य सामग्री यो आदेश प्राप्त भएको मितिले २४ घण्टाभित्र हटाउन र यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम प्रस्तुत निवेदनको अन्तिम निर्णय नभएसम्म उत्पादन, प्रसारण, पुनः प्रसारण लगायत सार्वजनिक गर्ने कुनै कार्य नगर्नू नगराउनू,” अदालतको आदेशमा भनिएको छ । 

‘सिधा कुरा डटकम’ले अनलाइन न्युज पोर्टलले स्टिङ अपरेसन सम्बन्धी मुद्दाको फैसला प्रभावित पार्न सर्वोच्च अदालतका न्यायाधीश र आमसञ्चार माध्यम सञ्चालकहरू नै संलग्न रहेको प्रमाण भन्दै ‘द डार्क फाइल’ कार्यक्रमको पहिलो शृङ्खलामा अडियो प्रयोग गरेको थियो । 

उक्त सामग्रीले अदालतको अवहेलना भएको भन्दै सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले पेश गरेको प्रतिवेदनमाथि सोमबार सुनुवाइ भएको थियो ।

“सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानूनको उल्लङ्घन गरेको देखिएमा कानून बमोजिम कारवाही समेत अगाडि बढाउनू,” सर्वोच्चको आदेशमा भनिएको छ, “प्रतिवेदनसहितको जानकारी १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत यस अदालतमा पेश गर्नु भनी प्रहरी महानिरीक्षकलाई लेखी पठाउने ।”

त्यस्तै अदालतले प्रत्यर्थीहरूलाई २० वैशाखमा बयानका लागि सर्वोच्चमा उपस्थित हुनु भनेको छ  ।

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८१ १९:२७