close

मानव मस्तिष्कमा पहिलो पटक गरिएको चिप प्रत्यारोपणमा धक्का

टेकपाना टेकपाना

बैशाख २८, २०८१ ११:४६

मानव मस्तिष्कमा पहिलो पटक गरिएको चिप प्रत्यारोपणमा धक्का

काठमाडौं । एलन मस्कको स्टार्टअप कम्पनी न्युरालिङ्कलाई मानवमा गरिएको पहिलो परीक्षणका क्रममा अनपेक्षित किसिमको धक्का लागेको छ । कम्पनीले बुधबार बाहिर ल्याएको जानकारी अनुसार प्रत्यारोपण गरिएको उपकरण बिरामीको खोपडीबाट अलग्गिन थालेको र यसले सङ्कलन गर्न सक्ने डेटा समेत घट्दै गएको हो ।

बीसीआई नामले चिनिने न्युरालिङ्कको ब्रेन-कम्प्युटर इन्टरफेस गत जनवरीमा २९ वर्षीय बिरामी नोल्यान्ड अर्बाघको दिमागमा प्रत्यारोपण गरिएको थियो । यो चिप प्यारालाइसिस भएका बिरामीको दिमाग प्रयोग गरी बाह्य प्रविधिले सघाउने उद्देश्यका साथ डिजाइन गरिएको थियो । आठ वर्षअघि डाइभिङ गर्ने क्रममा काँधभन्दा तलको भाग प्यारालाइज्ड भएका अर्बाघ छ वर्ष लामो ट्रायलको रूपमा न्युरालिङ्कको उपकरणको सुरक्षा परीक्षण गर्ने कार्यमा सहभागी छन् ।

न्युरालिङ्कको भनाईमा कम्पनीको ब्रेन-कम्प्युटर इन्टरफेसले दिमागमा रहेका तन्त्रिकाको गतिविधि र चालको डेटा सङ्कलन गर्न इलेक्ट्रोड र थ्रेड प्रयोग गर्छ । न्युरालिङ्कको चिपमा रहेका ६४ थ्रेडअन्तर्गत एक हजार २४ इलेक्ट्रोड रहेका छन् । जुन थ्रेड (त्यान्द्रा) रौंभन्दा पनि पातला रहेको बताइएको छ ।

गत महिना मात्रै न्युरालिङ्कले बीसीआई प्रविधिले कसरी काम गर्छ भन्ने कुरा देखाउन अर्बाघको नौ मिनेट लामो भिडिओ प्रत्यक्ष प्रसारण गरेको थियो । जसमा उनी भिडिओ गेम खेलिरहेका देखिन्थे । त्यसमा उनले सामान्य ढङ्गले सोचेकै भरमा आफूले चाहेको ठाउँमा क्रसर लैजान सकेको कुराको समेत बयान गरेका थिए ।

त्यो आश्चर्य चकित पार्ने भिडिओ आएको केही सातापछि कम्पनीले आफ्नो ब्लगमा भनेको छ, "अर्बाघको दिमागबाट केही सङ्ख्यामा थ्रेडहरू निकालिएका छन्, जसले गर्दा प्रभावकारी इलेक्ट्रोडको मात्रालाई घटाइदिएको छ ।" परिणाम स्वरूप न्युरालिङ्कले आफ्नो इलेक्ट्रोड र थ्रेडको सिस्टमले कत्तिको प्रभावकारी भूमिका निभाइरहेको छ भन्ने कुरा मापन गर्न असक्षम बनेको छ । यद्यपि बिरामीको दिमागबाट कति ओटा थ्रेड झिकिएको हो भन्ने कुरा स्पष्ट छैन ।

"यो परिवर्तनको प्रतिक्रियामा हामीले रेकर्डिङ एल्गोरिदमलाई परिमार्जन गरी तन्त्रिकाको सङ्केतका लागि थप संवेदनशील बनाएका छौं, क्रसरको चालका लागि ती सिग्नललाई अनुवाद गर्ने विधिमा सुधार गरिएको छ र युजर इन्टरफेसमा पनि सुधार ल्याइएको छ, " न्युरालिङ्कले अगाडि भनेको । यो सुधारको कार्यले अर्बाघका लागि क्रसर कन्ट्रोल गर्ने बिट प्रति सेकेन्ड (बीपीएस) को सत्यापन सुधार ल्याइ क्षमतामा बढोत्तरी आउने अपेक्षा कम्पनीले गरेको छ । कम्पनीका अनुसार गति र सत्यताको मापन गर्ने मापदण्ड नै बीपीएस हो ।

"यी सुधारका कार्यले बीपीएसमा तीव्र र नियमित किसिमको सुधार ल्याइरहेका छन्, जसले अहिले नोल्यान्डको प्रारम्भिक पर्दर्शनलाई पनि जितेको छ," न्युरालिङ्कले भनेको छ । तर वालस्ट्रिट जर्नलले भने अर्बाघको दिमागबाट प्रत्यारोपण गरिएको चिप हटाउने सम्भावनाका बीच कम्पनीले स्पष्टीकरण दिएको उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८१ ११:४६