close

नोकियाका सीईओले गरे विश्वमै पहिलो पटक थ्रीडी कल

टेकपाना टेकपाना

जेठ २९, २०८१ १८:४२

नोकियाका सीईओले गरे विश्वमै पहिलो पटक थ्रीडी कल

 

काठमाडौं । नोकियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पेक्का लुन्डमार्कले सेलुलर नेटवर्कअन्तर्गत विश्वमा पहिलो पटक थ्रीडी कल गरेका छन् । सीईओ लुन्डमार्कले ‘थ्री जीपीपी इमर्सिभ अडिओ एन्ड भिडिओ सर्भिसेस (आईभीएएस) कोडेक’ नामक प्रविधि मार्फत थ्रीडी कल गरेका हुन् । 

उनको थ्रीडी कल फिनल्याण्डका डिजिटलाइजेसन तथा न्यू टेक्नोलोजीका एम्बेस्डर स्टेफन लिन्डस्ट्रोमसँग गत १० जुनमा भएको थियो । सो कुराकानी गर्न नोकियाको फाइभजी नेटवर्क र स्मार्टफोन प्रयोग गरिएको थियो । 

सामान्य कुराकानीभन्दा इमर्सिभ अडिओ र भिडिओ कल निकै गुणस्तरीय हुन्छ । किनकि यसबाट फोन कलमा बोले जस्तो सामान्य आवाज सुनिँदैन । प्रयोगकर्ताले यसमा जीवन्त आवाज सुन्न सक्छन् । यस प्रकारको कलमा प्रयोगकर्ताले आजकलका स्मार्टफोनमा उपलब्ध मोनोफोनिक भोइसभन्दा थ्रीडी स्पासियल अडिओ सुन्न सक्छन् । 

मोनोफोनिक भोइस भएकै कारण आजकलको फोन कुराकानीमा अडिओ फाँट्ने र विवरण कम आउँछ । जसले गर्दा गुणस्तरीय आवाज सुन्न पाइँदैन । तर थ्रीडी स्पासियल अडिओका कारण प्रयोगकर्ताले भेटेरै कुराकानी गरे सरहको आवाज सुन्न सक्छन् ।

भविष्यको कलको नमूना देखाउन सीईओ लुन्डमार्कले यस्तो प्रदर्शन गरेको बताएका छन् । लुन्डमार्क उनै व्यक्ति हुन्, जसले सन् १९९१ मा यसैगरी टुजी कलको नमूना देखाएका थिए । उनका अनुसार यो प्रविधि फोन कल गर्न मात्र नभएर कन्फ्रेन्स कलमा समेत उपयोगी हुन्छ ।

पछिल्लो समयका स्मार्टफोनमा डुअल माइक्रोफोन उपलब्ध छन् । यसकारण ती फोनमा यो प्रविधि लागु गर्न सकिने विश्वास नोकियाले लिएको छ । 

यो प्रविधि नोकियाले आगामी दिनहरूमा ल्याउने फाइभजी एड्भान्स स्ट्यान्डर्ड अन्तर्गत रहेको छ । किनकि यस प्रविधिबारे लाइसेन्स लिन नोकियाले प्रयास पनि गरिरहेको छ । यदि त्याे सम्भव भए केही वर्षभित्रै यो प्रविधि आम प्रयोगकर्ताले सहजै प्रयोग गर्न पाउने छन् ।

पछिल्लो अध्यावधिक: जेठ २९, २०८१ १८:४२