close

मेस्सीसँगको यो भाइरल फोटो के साच्चिकै युरोकपमा तहल्का मच्चाइरहेका १६ वर्षीय यामलकै हो ?

टेकपाना टेकपाना

असार २६, २०८१ १८:२८

मेस्सीसँगको यो भाइरल फोटो के साच्चिकै युरोकपमा तहल्का मच्चाइरहेका १६ वर्षीय यामलकै हो ?

 

काठमाडौं । युरो कप २०२४ मा फ्रान्सलाई २-१ गोलले हराउँदै स्पेन फाइनलमा पुगेको छ । स्पेनलाई उपाधि नजिक पुर्‍याउन १६ वर्षीय लमिन यमालले महत्त्वपूर्ण एक गोल गरे । अहिले विश्वजगतमा उनको चर्चा छ । उनले युरो कपका सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । यमाललाई अहिले नयाँ स्टारको रूपमा हेर्न थालिएको छ ।

उनको थप चर्चा अर्को कारणले पनि भइरहेको छ । अनलाइनमा अहिले यामलको शिशुकालका फोटोहरू विश्वव्यापी रूपमा भाइरल भइरहेको छ । जसमा शिशु यमाललाई अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेस्सीले समातिरहेको र खेलाइरहेको देख्न सकिन्छ । 

कीर्तिमानी खेलाडी यामल, source: Getty Images

यी फोटोहरू सन् २००७ मा समाचार एजेन्सी एसोसिएटेड प्रेसका फोटोग्राफर जोआन मोनफोर्टले खिचेका थिए । त्यसबेला भित्तेपात्रोमा छाप्ने उद्देश्यका बार्सिलोना फुटबल क्लबको रङ्गशाला क्याम्प नूको ड्रेसिङ रूममा खिचिएको थियो ।

यसका लागि युनिसेफले स्पेनको मातारो भन्ने सहरमा एउटा चिठ्ठा प्रतियोगिता आयोजना गरेको थियो । जहाँ यामलको परिवार पनि बस्थ्यो । चिठ्ठा प्रतियोगितामा विजेता हुनेले बार्सिलोनाका खेलाडीसँग फोटो खिच्ने अवसर पाउँथे । यसरी संयोगवश खिचिएको मेस्सीसँगको यामलको फोटो अहिले भाइरल भइरहेको छ ।

कसरी भयो फोटो भाइरल ?

अर्कै उद्देश्यले सन् २००७ मा खिचेको उक्त फोटो सायद धेरैले बिर्सिसकेको हुनु पर्छ । तर यमालका बुबा मोनिर नसरौईले गत हप्ता आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत ‘दुई लेजेन्डको सुरुवात’ क्याप्सन लेख्दै उक्त फोटो पोस्ट गरे । त्यसबेला यमालको टिम स्पेनले जर्मनीसँग खेल्न लागेको थियो । 

त्यसबेलासम्म युरो कपमा स्पेनको तर्फबाट हरेक खेल खेलेका यामलले गोल गर्न सकेका थिएनन् । तर बुधबार फ्रान्सविरुद्ध गोल गर्न सफल भए । यससँगै युरो कपमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी (१६ वर्ष २६२ दिन) का रूपमा उनले कीर्तिमान समेत बनाए । 

शिशु यामलसँग मेस्सी, source: AP/Joan Monfort

यसपछि एसोसिएटेड प्रेसले सो समय खिचिएका अन्य फोटो पनि सार्वजनिक गर्यो । यससँगै विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले मेस्सी र उनको फोटोलाई लिएर समाचार बनाउन थाले ।

यो भाइरल फोटो खिच्दा मेस्सी २० वर्ष र यामल छ महिनाको मात्र थिए । अहिले फुटबल इतिहासमा मेस्सीका अनेकौं कीर्तिमान बनेका छन् । यामलले पनि सानै उमेरमा आफूलाई स्थापित गरेकाले उनले मेस्सी‍ जसरी सफलता हात पार्ने अड्कल भइरहेको छ । 

पछिल्लो अध्यावधिक: असार २६, २०८१ १८:२८