काठमाडौं । स्टार फुटबलर किश्चियानो रोनाल्डोले युट्युब च्यानल खोलेका छन् । बुधबार ३९ वर्षीय रोनाल्डोले ‘योर क्रिस्टियानो’ (UR Cristiano) नामको आधिकारिक युट्युब च्यानल सञ्चालनमा ल्याएका हुन् । उनले च्यानल खोलेको ९० मिनेटमै करिब १० लाख सब्सक्राइबर पुगेका थिए ।
यो समाचार तयार पार्दासम्म रोनाल्डोको युट्युब च्यानलमा १८ ओटा भिडिओ र ३७ लाख ५० हजार बढी सब्सक्राइबर पुगेका छन् ।
पोर्चुगलको राष्ट्रिय फुटबल टोली र साउदी अरेबियाको अल नासर फुटबल क्लबका कप्तान रहेका उनले युट्युब च्यानल नखोल्नु रहस्यको विषय भएको भन्दै चर्चा हुने गरेको थियो । विशेषगरी युट्युबमा ‘स्पोर्ट्स’ विधामा सबैभन्दा बढी हेरिएको भिडिओमा रोनाल्डोकै भिडिओ रहेको बताइन्छ ।
इन्टरनेटमा सबैभन्दा बढी खोजिने व्यक्ति भएकाले युट्युबले रोनाल्डोलाई पैसा दिन नसक्ने अफवाह समेत फैलिएको थियो । तर, रोनाल्डोले ढिलै भएपनि नयाँ परियोजनाका रूपमा युट्युब च्यानल सुरु गरेका छन् ।
“यो परियोजना सुरु गर्न पाउँदा म धेरै खुसी छु,” उनले भनेका छन्, “लामो समयदेखि यो परियोजना मेरो मष्तिष्कमा थियो । हामीले यसलाई वास्तविकतामा ल्याउने अवसर पाएका छौं ।”
रोनाल्डोका अनुसार आफ्नो युट्युब च्यानलमा उनी, उनको परिवार र उनले विभिन्न विषयमा राख्ने धारणाहरूबारे जान्न पाइनेछ । त्यसबाहेक विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तरङ्ग कुरा गरेर युट्युब च्यालनमार्फत साझा गर्ने उनको योजना छ ।
रोनाल्डो फेसबुक, इन्स्टाग्राम र एक्समा सबैभन्दा बढी फलोअर हुने खेलाडी हुन् । इन्स्टाग्राममा ६३ करोड ६० लाख बढी फलोअर र फेसबुकमा १७ करोड बढी फलोअरका साथ रोनाल्डो सबैभन्दा बढी फलोअर हुने व्यक्ति हुन् । सामाजिक सञ्जाल एक्समा उनी एलन मस्क, बाराक ओबामापछि ११ करोड २५ लाख बढी फलोअरका साथ धेरै फलोअर हुने अकाउन्टको शीर्ष तेस्रो स्थानमा छन् ।