काठमाडौं । नेपाली बजारमा चिनियाँ विद्युतीय गाडी निर्माता जिकरको प्रिमियम लक्जरी एसयूभी ‘जिकर एक्स’ (Zeekr X) सार्वजनिक भएको छ । राजधानीमा मङ्गलबारदेखि सुरु भएको ‘नाडा अटो शो २०२४’ मा कम्पनीले यो गाडी सार्वजनिक गरेको हो ।
नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनिर मोटो कर्पले अल ह्विल ड्राइभ र स्ट्यान्डर्ड रिअर ह्विल ड्राइभ गरी दुई भेरियन्टमा यो गाडी ल्याएको छ ।
दुुवै भेरियन्टको मूल्य यसअघि नै सार्वजनिक भएको थियो । कम्पनीले फ्ल्यागशिप अल ह्विल ड्राइभको मूल्य एक करोड ५४ लाख ९९ हजार रुपैयाँ र स्ट्यान्डर्ड रिअर ह्विल ड्राइभको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ ।
नाडा अटो शोको अवसरमा भने कम्पनीले दुवै भेरियन्टमा पाँच लाख रुपैयाँ छुट अफर ल्याएको छ । अब ग्राहकले अल ह्विल ड्राइभ एक करोड ४९ लाख ९९ हजार रुपैयाँ र रिअर ह्विल ड्राइभ ७९ लाख ९९ हजार रुपैयाँमै किन्न सक्नेछन् ।
३.८ सेकेन्डमै शून्यदेखि १०० किलोमिटरको स्पिड पकड्ने अल ह्विल ड्राइभलाई १८० किलोमिटर प्रति घण्टाको स्पिडमा कुदाउन सकिने बताइएको छ । ५४३ न्युटनमिटर टर्क दिने गाडीमा ३१५ किलोवाट क्षमताको मोटर सिस्टम रहेको छ ।
त्यस्तै रिअर ह्विल ड्राइभ भेरियन्टको गाडीमा २०० किलोवाट आवर क्षमताको ब्याट्री रहने छ । यसमा अल ह्विल ड्राइभमा २० इन्चको एलोए ह्विल्स रहेको छ भने रिअर ह्विल ड्राइभमा १९ इन्चको ह्विल राखिएको छ ।
दुवै भेरियन्टमा ६९ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री राखिएको छ । यस ब्याट्रीलाई स्ट्यान्डर्ड एसी चार्जरको सहायताले चार घण्टामा शून्यदेखि १०० प्रतिशतसम्म चार्ज गर्न सकिने छ भने ४४५ किलोमिटर डब्लूएलटीपी रेन्ज पाउन सकिने कम्पनीले जनाएको छ ।